काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा मध्यराति घरबाटै नियन्त्रणमा लिइएको घटना र त्यससँग जोडिएका भित्री तारहरूले सुरक्षा निकायभित्र ठूलो भुइँचालो ल्याइदिएको छ। नाताले पूर्वप्रधानन्यायाधीश राणाका आफन्त समेत रहेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल र राणाबीचको सम्बन्ध एवम् बिचौलियामार्फत भएको सूचना आदानप्रदान नै दाहालको निलम्बनको मुख्य कारण बनेको छ। राणालाई प्रहरीले मध्यराति नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएकै रात एआईजी दाहाल राति ३ बजे नै त्यहाँ पुग्नु र त्यसलगत्तै बिचौलिया इनाम सापकोटासँग उनी निरन्तर सम्पर्कमा रहनुले उनीहरूबीचको शङ्कास्पद कनेक्सन उजागर गरेको हो।
प्रहरीले राणाको फोन तथा सम्पर्क विवरणमाथि अनुसन्धान गर्दा झापाका बिचौलिया इनाम सापकोटासम्म सुराक पुगेको थियो। विशेष ब्युरोले सापकोटालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा एआईजी दाहालले उनलाई सुरक्षा निकायका अति संवेदनशील र गोप्य सूचनाहरू सम्प्रेषण गरेको प्रमाण फेला परेको हो। प्रहरी बयानका क्रममा सापकोटाले ‘चोलेन्द्रले मलाई प्रयोग गरे’ भनी स्वीकार गरेपछि पूर्वप्रधानन्यायाधीश राणा, बिचौलिया सापकोटा र एआईजी दाहालबीच गम्भीर सूचना आदानप्रदान भइरहेको पुष्टि भएको थियो। उता, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिचौलिया इनाम सापकोटा र फरार रहेका गोपाल गुरुङमाथि सङ्गठित अपराधको कसुरमा भित्री अनुसन्धान अघि बढाएको छ। तर, तत्काल अदालतबाट म्याद थप गरी हिरासतमा राख्न सहज होस् भनेर सापकोटालाई हाल काठमाडौँ प्रहरी परिसरमार्फत ‘अभद्र व्यवहार’ को मुद्दा चलाइएको छ।
सशस्त्र प्रहरीमा एआईजीको चारवर्षे पदावधिअनुसार दाहाल यही असोज २७ गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए। आईजीपी पौडेलले उनको पदावधि एक वर्ष थपका लागि गृह मन्त्रालयमा सिफारिस समेत पठाइसकेका थिए। तर, म्याद थपिनुको सट्टा राज्यको सुराकी गरेको गम्भीर अभियोगमा उनी सोमबार निलम्बनमा परेका हुन्। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीतको कार्य गरेको भन्दै सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि सिफारिस प्राप्त भएकाले उनलाई निलम्बन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको उल्लेख छ।
एआईजी दाहाल सूचना चुहावटको आरोपमा निलम्बन गरिएलगत्तै गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना अनधिकृत व्यक्तिलाई पुर्याउनेहरूविरुद्ध कडा चेतावनी दिएका छन्। मन्त्रालय मातहतका निकायबाट हुने सूचना चुहावटलाई आफूले लामो समयदेखि सूक्ष्म रूपमा नियालिरहेको उल्लेख गर्दै उनले देशमाथि बेइमानी गर्ने जोसुकैलाई कानुनको कठघरामा उभ्याइने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति लामो समयदेखि नियालिरहेको भन्दै पदले सूचनामा पहुँच दिए पनि दुरुपयोग गर्ने अधिकार नदिने स्पष्ट पारेका छन्।

