सञ्चारकर्मीदेखि कानून मन्त्रीसम्म, सोबिता गौतमको सिंहदरबार यात्रा

नेपालको राजनीतिमा छोटो समयमै प्रभावशाली पहिचान बनाएकी सोबिता गौतम हाल टिम बालेन्द्र शाहको सरकारमा कानून मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य समेत रहेकी गौतमको राजनीतिक यात्रा निकै रोचक र चुनौतीपूर्ण रहेको छ। उनले चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै ५९ हजार २७७ भारी मतका साथ विजय हासिल गरेकी हुन्, जहाँ उनले भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहाललाई पराजित गर्दै आफ्नो बलियो उपस्थिति प्रमाणित गरिन्।

राजनीतिक मैदानमा होमिनुअघि गौतम सञ्चार क्षेत्रमा सक्रिय थिइन्। उनले नेपाल टेलिभिजनमा ‘स्वास्थ्य सरोकार’ जस्ता जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर आम नागरिकका मुद्दालाई उठान गर्थिन्। पेशाले कानूनकी विद्यार्थी सोबिताले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेसनल कलेजबाट बिए एलएलबी सम्मको अध्ययन पुरा गरेकी छन्। उनको यो कानूनी ज्ञान र सञ्चारको अनुभवले उनलाई संसदीय प्रक्रियामा स्थापित हुन ठूलो मद्दत पुर्यायो।

संसदीय कार्यकालका दौरान उनले कानून, न्याय र मानवअधिकार समितिको सदस्य भएर महत्वपूर्ण भूमिका निर्वाह गरिन्। अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रतिनिधित्व गर्दै उनी इन्टर पार्लियामेन्टरी युनियनको स्वास्थ्य समिति सदस्यमा निर्वाचित भई समावेशी नीति निर्माणमा सक्रिय रहिन्। आफ्नो तीन वर्षे कार्यकालमा उनले भूमि, अर्थ, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रका कानूनहरूमा सुधार ल्याउन थुप्रै संशोधन प्रस्तावहरू दर्ता गराएर एक सचेत जनप्रतिनिधिको छवि बनाएकी थिइन्। यसअघि काठमाडौं-२ बाट चुनाव लड्दा पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गरेर चर्चामा आएकी सोबिता अहिले देशको कानून निर्माणको बागडोर सम्हाल्ने महत्वपूर्ण तहमा पुगेकी छन्।

सम्बन्धित समाचार

ताजा न्यूज