राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको रिटमा सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा तोकिएको सुनुवाइ स्थगित भएको छ।

लामिछानेविरुद्ध राहदानी ऐन उल्लङ्घनको आरोपमा मुद्दा चलाउनुपर्ने मागसहित युवराज पौडेल (सफल) ले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको भए पनि सुनुवाइ अघि बढ्न सकेन। उक्त रिट दुई वर्षअघि दायर गरिएको हो।

रिट निवेदक पौडेलले महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नु कानुनविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतको शरण लिएका हुन्। उनका अनुसार २०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो, जसअघि प्रहरी र सरकारी वकिल कार्यालयले पनि उस्तै निष्कर्ष निकालेका थिए।

पौडेलको जिकिरमा अमेरिकी नागरिकता कायम रहँदासमेत आफूलाई नेपाली नागरिक भनेर राहदानीका लागि आवेदन दिई नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य भएको उल्लेख छ। यस्तो अवस्थामा पनि मुद्दा नचलाउने निर्णय गर्नु पूर्वाग्रही र कानुनको मर्मविपरीत भएको उनको दाबी छ।

त्यसैगरी, राहदानी प्राप्त गर्दा आपराधिक मनसाय नरहेको निष्कर्ष महान्यायाधिवक्ताले आफ्नो अधिकार क्षेत्र नाघेर गरेको पौडेलको आरोप छ।

अब उक्त रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले अर्को मिति तोक्नेछ।

सम्बन्धित समाचार

ताजा न्यूज