काठमाडौं । सरकारले भारतीय ठूला दरका नोटमाथि लगाइएको प्रतिबन्ध हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल ओसारपसार गर्न पाउने व्यवस्था स्वीकृत गरेको हो।
सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सन् २०१६ नोभेम्बर ९ पछि भारतमा निष्कासित भई चलनचल्तीमा रहेका नोटमात्र नेपालमा भित्र्याउन र बाहिर लैजान पाइनेछ। “नेपाली वा भारतीय नागरिकले तोकिएको सीमाभित्र भारतीय रुपैयाँ ओसारपसार गर्न सक्ने व्यवस्था गरिएको छ,” मन्त्री खरेलले जानकारी दिए।
यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोट नेपाल–भारत ओसारपसार गर्न पाउने प्रावधान लागू गरिसकेको थियो। भारतले औपचारिक रूपमा व्यवस्था खुला गरेपछि नेपाल सरकारले पनि त्यसअनुसार प्रतिबन्ध फुकुवा गरेको हो।
भारतले सन् २०१६ मा ५ सय र १ हजार दरका नोटमाथि नोटबन्दी गरेपछि नेपालमा पनि १ सय रुपैयाँभन्दा माथिका भारतीय नोटको प्रयोगमा रोक लगाइएको थियो। भारतले नेपालमा रहेका ठूला दरका नोट सटही नगरेपछि ती नोटहरू लामो समयदेखि अड्किएका थिए।
त्यस समयमा बैंकिङ प्रणालीमै करिब ५ करोड भारतीय रुपैयाँ बराबरका ठूला दरका नोट सटही हुन बाँकी रहेको बताइन्छ। खुला सीमा, पर्यटन र व्यापारमा भारतसँगको निर्भरतालाई ध्यानमा राख्दै दुवै देशले ओसारपसार सहज बनाउने निर्णयलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको जनाएको छ।

