नेताको सुरक्षमा मापदण्ड विपरित खटाइएका ४९८ सुरक्षाकर्मी फिर्ता, मुख्यसचिव र गृहसचिवलाई भने आजीवन सुरक्षा दिइने

काठमाडौं । नेताको सुरक्षमा मापदण्ड विपरित खटाइएका ४९८ सुरक्षाकर्मी फिर्ता भएका छन् । गृह मन्त्रालयले उपलब्ध गराएको एक तथ्यांक अनुसार ३६६ नेपाल प्रहरी र १३२ जना सशस्त्र प्रहरी बलबाट नेताको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता भएका हुन् ।

गत २३ असोजमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार हालसम्म ४९८ जना फिर्ता भएको विवरण प्रहरीबाट आएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

अति विशिष्ट र विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०८१ विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता भएका हुन् । पूर्वप्रधानमन्त्रीहरू केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा खटिएका संख्या कटौती गरिएको छ । पूर्वप्रधानमन्त्रीले १६ जनासम्म सुरक्षाकर्मी पाउने कार्यविधिमा उल्लेख छ । तर, त्योभन्दा धेरै खटाइएकाहरू फिर्ता गरिएको हो ।

नेपालको हकमा भने भ्रष्टाचार मुद्दाको प्रतिवादी भएकाले पूर्वप्रधानमन्त्रीको हैसियतमा सुरक्षामा खटिएकालाई फिर्ता गरेर दुईजना मात्र राखिएको छ । ‘उहाँ भ्रष्टाचार मुद्दाका प्रतिवादी भएकाले पूर्वप्रधानमन्त्रीले पाउने सुविधा कटौती गरिएको हो,’ गृहका एक अधिकारीले भने, ‘सुरक्षा थ्रेटका आधारमा भने दुईजना खटाइएको छ ।’

सुरक्षाकर्मी कटौतीमा पूर्वप्रधानमन्त्रीहरूले असन्तुष्टि जनाएका छन् । नेताहरूमाथि सुरक्षा थ्रेट रहेको अवस्थामा सुरक्षाकर्मी कटौती गरिएको उनीहरूको आरोप छ । गृह मन्त्रालयका अधिकारी भने सुरक्षा विश्लेषण गरी आवश्यक परेमा सुरक्षाकर्मी थपिने बताउँछन् ।
सरकारले मुख्यसचिव र गृहसचिवलाई आजीवन सुरक्षा दिने गरी सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरेको छ । गत वर्ष गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कार्यविधि संशोधन गरेको थियो । जसमा मुख्यसचिव र गृहसचिवलाई आजीवन सुरक्षा दिने उल्लेख छ । उच्चपदस्थ कर्मचारीको स्वार्थमा यस्तो प्रावधान राखिएको हो । त्यहीअनुसार कतिपयले सुविधा पनि लिइसकेका छन् । जुन अनावश्यक भएको भन्दै हाल संशोधनका लागि छलफल सुरु भएको छ ।

अवकाशप्राप्त मुख्यसचिव र गृहसचिवलाई सुरक्षाको दृष्टिकोणले भन्दा पनि सुविधाको दृष्टिकोणले यस्तो प्रावधान राखिएको स्रोत बताउँछ । यसबाट ठुलो संख्यामा सुरक्षाकर्मीहरू सुरक्षाका नाममा पूर्वगृहसचिव र पूर्वमुख्यसचिवको घरमा खटिनुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

ताजा न्यूज