काठमाडौं । जेनजी आन्दोलनपछि युएईले भिसामा गरेको कडाइले ४ हजार युवा नेपालमै रोकिएका छन् । युवा रोकिएपछि वेरोजगारी समस्या भयावह बन्ने चिन्ता बढेको छ ।
जेनजी आन्दोलन लगत्तै युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गर्यो । ३० भदौदेखि भिजिट भिसा बन्द गरेको यूएईले पछि त्यसमा कडाइ गर्दै खुला गरेको थियो । तर, वर्किङ भिसामा गरिएको कडाइ भने यथावत छ ।
यसले गर्दा वैदेशिक रोजगारीमा यूएई जान खोज्ने नेपाली समस्यामा परेका छन् । उनीहरूले यूएईको विकल्पमा अन्य देशतर्फ जान थालेका छन् ।
यूएईको भिसा दिन कडाइपछि यूएईको श्रम मन्त्रालयले जारी गर्ने अनुमतिपत्र अर्थात् ‘मोल’ पाएका ४ हजारभन्दा बढी नेपाली समस्यामा परेका छन् । जेनजी आन्दोलनपछि मोल आएका उनीहरूले भिसा पाउन सकेका छैनन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव तथा निलकमल ह्युमन रिसोर्स प्रालिका अध्यक्ष मेघनाथ भुर्तेलका अनुसार मोल आएका ४ हजारभन्दा बढी नेपालीले भिसा पाउन नसकेका हुन् ।
‘मोल आएका ४ हजारभन्दा बढी श्रमिक समस्यामा छन्, यूएईका कम्पनीले सेलेक्सन गरेर सबै प्रक्रिया पूरा गरेर मोल आएर बसेका छन्, उनीहरूलाई भिसा दिइएको छैन्,’ भुर्तेलले भने, ‘त्यो मोल लिँदासम्म एउटा नेपाली नागरिकले काठमाडौं आएर इन्टरभ्यु फेस गरेर मेडिकल गरेर घर फर्किंदासम्म २५ देखि ३० हजार रुपैयाँ खर्च गरिसकेका हुन्छन् ।’
निम्न आयस्रोत भएका तथा ऋण निकालेर विदेश जान खोजेका युवाहरूको त्यत्रो पैसा खर्च भइसकेको छ । सामान्य लेबर काममा जान्छु भनेर प्रक्रिया पूरा गरेका युवाको त्यत्रो पैसा खर्च भइसके पनि भिसा नआएपछि उनीहरू समस्यामा परिरहेको उनको भनाइ छ ।
मेडिकल गरेर, मेडिकल पास भएर, इन्टरभ्यु फेस गरेर, इन्टरभ्यु पास भएर, डकुमेन्ट फाइनल गरेर सबै प्रक्रिया पूरा गरेर मोल आएकाहरूको हालत बिजोग रहेको उनको भनाइ छ ।
मोल आएपछि भिसाका लागि पैसा तिर्नुपर्ने हुन्छ । तर, त्यो नै आइसकेकाहरूले भिसा रोकिएपछि पैसा तिर्न र जान नपाएको उनको भनाइ छ ।
जेनजी आन्दोलनका कारण आफ्नो देशमा सुरक्षा खतरा हुने भन्दै यूएईले नेपालीलाई भिसा दिन कडाइ गरेको हो । यसअघि गत वर्ष बंगलादेशमा भएको हिंसापछि समेत त्यहाँका नागरिकलाई भिसामा कडाइ गरेको थियो । जुन अहिलेसम्म यथावत छ ।
यूएई बस्ने नेपालीहरू समेत भिसा समस्या लिएर दैनिक दूतावासको सम्पर्कमा पुग्ने गरेका छन् ।
यूएईस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार भिसाको समस्या लिएर दूतावासमा दैनिक फोन तथा ह्वाट्सएप मार्फत म्यासेज गर्नेहरूको संख्या बढिरहेको छ ।
‘धेरैजसोले भिजिट भिसाको समस्या लिएर फोन गर्छन्, भिजिट भिसामा गएर काम गरिरहेकाहरूको भिसा अवधि सकिन लागेकाले कहिले खुल्छ, के हुन्छ भनेर फोन गर्छन्,’ दूतावासका ती अधिकारीले भने ।
त्यस्तै एउटा कम्पनीमा काम गरिरहेका, तर कम्पनी चेन्ज गर्न खोज्दा भिसा समस्या भयो भनेर समेत फोन गर्ने गरेको उनले बताए ।
त्यस्तै यूएईमा काम गरिरहेका, तर नेपालबाट परिवार ल्याउन खोज्दा समेत समस्या भइरहेको भनेर फोन आउने गरेको उनको भनाइ छ ।
भिजिट भिसामार्फत यूएई गएकाहरूले आफ्नो भिसा वर्किङमा परिणत गर्ने सुविधा छ । तर, अहिले भिजिट भिसामा निकै कडाइ गरेसँगै उनीहरूलाई थप मर्का परेको छ

