काठमाडौँ । रामबहादुर बमजनलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत जनकपुरको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन पेस भएको छ। महान्यायाधिवक्ता कार्यालयले सोमबार सर्वोच्चमा पुनरावेदन दर्ता गरेको सर्वोच्च अदालतले जनाएको छ ।
जनकपुर उच्च अदालतका न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले चैत ६ गते बमजनलाई बाल यौन दुरुपयोग मुद्दामा सफाइ दिएको थियो। तर सो फैसलालाई त्रुटिपूर्ण ठहर गर्दै जिल्ला अदालत सर्लाहीको फैसला कायम गर्नुपर्ने मागसहित सर्वोच्चमा पुनरावेदन गरिएको हो।
सर्लाही जिल्ला अदालतले गत असार १७ गते बमजनलाई १० वर्ष कैद सजायसहित पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो। तर उच्च अदालतले ‘हदम्याद नाघेको’ भन्दै अभियोगपत्र नै खारेज गरेर बमजनलाई सफाइ दिएको थियो।
महान्यायाधिवक्ता कार्यालयका अनुसार बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७४ मा स्पष्ट व्यवस्था रहेकाले उच्च अदालतले कानुनलाई बेवास्ता गरेको छ। उक्त प्रावधानअनुसार बालबालिकामाथि हुने अपराधमा १८ वर्ष पूरा भएपछि थप एक वर्षभित्र मुद्दा दर्ता गर्न सकिन्छ। सर्वोच्च अदालतको पूर्व नजिर (निर्णय नं.७४३२) समेतलाई आधार बनाउँदै पुनरावेदन गरिएको हो।
यो घटनामा गंगामाया नामक किशोरीमाथि २०७३ साउन २० गते बमजनले आश्रममै बलात्कार गरेको अभियोग छ। दुई वर्षपछि उनले पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक गरेकी थिइन्। त्यसपछि विभिन्न उजुरी दर्ता हुँदै बमजनविरुद्ध मुद्दा अघि बढेको हो।
बमजनलाई प्रहरीले गत वर्ष पुस २४ गते बुढानीलकण्ठस्थित उनको निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनको घरबाट करोडौँ रुपैयाँ नगद र विभिन्न देशका मुद्रासहित लाखौँ बराबरको सम्पत्ति बरामद गरेको थियो। अहिले उनी पुर्पक्षका लागि थुनामा छन्।

