काठमाडौं । शासकीय सुधार आयोगको केपी ओली र शेरबहादुर देउवाका विश्वासपात्र नियुक्त भएका छन् । शासकीय सुधार आयोगले गठनको दुई महिना पछि दुइ सदस्य नियुक्त भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको आयोगमा प्रमुख राजनीतिक दलका प्रतिनिधिसहित विज्ञ, निजी क्षेत्रका व्यक्ति र पदेन सदस्यहरू समावेश छन्।
राजनीतिक दलको तर्फबाट कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) सदस्यमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्ले गत ८ वैशाखमा आयोग गठन गर्ने निर्णय गरेको थियो भने आयोगले १३ असारमा पूर्णता पाएको हो।
आयोगमा विज्ञ सदस्यका रूपमा पूर्वसचिव राजन खनाल, यामकुमारी खतिवडा र पूर्वबैंकर वर्षा श्रेष्ठ रहेका छन्। निजी क्षेत्रबाट त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे आयोगमा सदस्य नियुक्त भएका छन्।
साथै आयोगमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, कानुनमन्त्री अजयकुमार चौरसिया, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी र मुख्यसचिव एकनारायण अर्याल पदेन सदस्य छन्। प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्की आयोगको सदस्य–सचिव तोकिएका छन्।
आयोगको पहिलो बैठक ४ असारमा बसेको थियो। प्रधानमन्त्रीको विदेश भ्रमण सकिएपछि अर्को बैठक बस्ने तयारी भइरहेको छ।
सार्वजनिक सेवा प्रवाहलाई सहज, मितव्ययी, पहुँचयोग्य र नागरिकमैत्री बनाउने उद्देश्यले गठन गरिएको आयोगले १६ वटा क्षेत्र पहिचान गरी ती विषयमा सुधारका कार्ययोजना अघि बढाउने भएको छ। निर्णय प्रक्रिया छिटोछरितो बनाउने, कार्यसम्पादनमा देखिने ढिलासुस्ती हटाउने, तहगत तथा निकायगत समन्वय मजबुत बनाउनेजस्ता विषयमा आयोगले सुधार प्रस्ताव ल्याउने तयारी गरेको छ।