ललितपुर । अधिवक्ता सुजित के.सी.को गिरफ्तारीप्रति नेपाल बार एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका सदस्यको गिरफ्तारीका सम्बन्धमा नेपाल बार एसोसिएसनले आधिकारिक धारणा नराखेको भन्दै सामाजिक सञ्जालमा आवाज उठ्न थालेपछि उच्च अदालत बार एसोसिएसन पाटनले जारी गरेको विज्ञप्ति सामाजिक सञ्जालबाट शेयर गर्दै नेपाल बार एसोसिएसनले यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
अधिवक्ता के.सी.को गिरफ्तारीको ५ दिन पछाडी मात्रै नेपाल बार एशोसिएसनले यससम्बन्धमा आफनो धारणा सार्वजनिक गरेको हो ।
लोकतन्त्र, विधिको शासन, मानव अधिकारको संरक्षण तथा कानूनी व्यावसायिक स्वतन्त्रताप्रति प्रतिबद्ध अधिवक्ता के.सी.लाई गिरफ्तार गरिएको भन्दै उच्च अदालत बार एसोसिएसन पाटनले विज्ञप्ति निकालेर विरोध गरेको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, अधिवक्ता के.सी.लाई २०८२ साल जेठ २ गते काठमाडौँमा पक्राउ गरी विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राखिएको छ। बारले यस प्रक्रियालाई कानुनी र संस्थागत मान्यता विनाको कार्य भनी विरोध जनाएको छ।
बारले निष्पक्ष अनुसन्धान, कानुनी प्रक्रिया र स्वतन्त्र न्याय प्रणालीको पालनाका लागि सम्बद्ध निकायलाई आह्वान समेत गरेको छ।

