काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न अदालतमा दायर गरेका दुई रिट एकैदिन खारेज भएका छन्। यससँगै उनलाई हिरासतमै राखेर बैंकहरूले ऋण असुली प्रक्रिया अघि बढाउन पाउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको कम्पनीमा लगानी गरेको आरोप लगाउँदै स्क्रिनसट सार्वजनिक गरेपछि प्रहरीले प्रसाईंलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानका लागि पक्राउ गरेको थियो।
उनका छोरा निराजन प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिट दायर गरे पनि सर्वोच्च अदालतले खारेज गर्दै निर्देशनात्मक आदेश दिएको छ। उच्च अदालत विराटनगरले पनि ऋण असुली प्रक्रिया रोक्न माग गर्दै दायर गरिएको प्रसाईंको अर्को रिट खारेज गरिदिएको छ।
चार बैंकसँग २ अर्ब ४८ करोड रुपैयाँ ऋण सम्झौता गरेका प्रसाईंले बैंकहरूले सम्झौताअनुसार कर्जा निकासा नगरेको दाबी गरेका थिए। तर, अदालतको आदेशले ऋण असुली प्रक्रिया अघि बढाउन बैंकहरूलाई बाटो खोलिदिएको छ।