जे कुराले युवाशक्ति संसदभित्रको व्यहोरा देखेर वाक्क थिए, अहिले त्यसकै निरन्तरता देखिन्छ। मेरो मानसपटलमा अहिले सम्म सभामुखमाथि कुर्सी प्रहार गरेको घटना बारम्बार आइरहन्छ। उसबेला ‘जेन जी’ को समयमा संसद भनेको मारपिट गर्ने थलो रहेछ भन्ने लाग्थ्यो। खाली एकअर्कामाथि गाली गर्ने, हातपात गर्ने, संसद बिथोल्ने, बकम्फुसे कुरा गर्ने अनि संसदमा कोही नहुने। खाली-खाली। उहिले संवैधानिक कानून पढाउँदा गुरुले सांसदप्रति गरेको व्यङ्ग्यको याद आयो। संसद चलिरहेको बेला एकजना सांसदले आफ्नो मन्तव्य राख्दै गर्दा “सभामुख महोदय, यो संसदमा आधा सांसदहरू जोकर छन्” भनेछन्। सभामुखले तुरुन्त रोकेर “सांसदज्यू, तपाईंको कुरा शोभनीय भएन, आफ्नो कुरालाई सच्याउनुहोस्” भनेर आदेश दिएछन्। सांसदले सच्याउँदै भनेछन्, “सभामुख महोदय, यस संसदभित्र आधा सदस्य सज्जन छन्।” त्यस्तै प्रसङ्गमा उनले अर्को किस्सा सुनाए। युरोपतिरको एउटा संसद भवन अगाडि एकजना बालकले साइकल पार्क गरेछन्। नजिकैको सुरक्षाकर्मीले उनलाई साइकल पार्क गर्न नमिल्ने बताएपछि ती बालकले सोधेछन्, “किन?” जवाफमा, “यो एरिया संसदको हो, यहाँ सांसदहरू, मन्त्री अनि ठूला सरकारी मानिसहरू हिँड्छन्।” जवाफमा बालकले “मैले साइकलमा चाबी लगाएको छु” भनेर दिएको जवाफले कम अर्थ राख्दैन। त्यसैले संसदको गरिमा सांसदले नै राख्ने हो।
तर, उहिलेदेखि अहिले सम्म संसद विधायकहरूको छलफल भन्दा पनि रेस्लिङको घेरा जस्तो देखिनु र केही सांसदहरूले आफ्नो बोल्ने समयमा राखेका कुराहरू सुनेर मेरो घरका दुई ‘जेन जी’ हाँसेर हामीलाई गिज्याउँछन्। घरभित्रै जवाफ दिन सकिँदैन। उनीहरूका लागि संसदभित्रको सांसदको क्रियाकलाप यति जोकर लाग्छ कि सम्झाउन सकिँदैन, न प्रतिरक्षा गर्न।
संसद एउटा मर्यादाको स्थान हो। संसदमा कसरी प्रस्तुत हुने भन्ने कुरा कानूनी मात्र नभई आचरणको कुरा हो। कोही लेखेको बोल्न सक्दैनन्, कोही के बोल्ने बुझ्न सक्दैनन्, कोही जबर्जस्त देखिन बोल्छन्, कोही बोल्नलाई बोल्छन्, कोही निदाउँछन्, कोही नबोली बस्छन्, कोही बोल्न के हो र कहिले हो हेक्का पाउँदैनन्, कोही बोल्नै डराउँछन्। संसदप्रति व्यङ्ग्य गर्नेहरूले संसदमा सांसदहरू दिनभरि भाषण गर्न सक्छन् तर अन्तिममा कुरो केही हुन्न भनेको सुनिन्छ। केहीले “जीवनमा जब धेरै उल्झन आउँछ, सम्झिनू कि तपाईंको जीवन संसदजस्तै हो” पनि भनेको सुनियो। धेरै कुरा गर्ने तर काम नगर्ने ठाउँ संसद हो भनियो। केवल संसदको मर्यादा र महत्व बुझेका ५-१० जना सांसदले संसदीय मूल्य-मान्यता राख्न सक्दैनन्। संसदभित्र हुने ठट्टा अदालतमा हुने ठट्टाभन्दा कम हुँदैनन्। संसदलाई जीवन्त राख्न र विषयको महत्व र सान्दर्भिकता व्यक्त गर्न ठट्टा पनि धेरै आवश्यक कुरा हो। अमेरिकाका राष्ट्रपतिले संसदको बारेमा बोल्दा एकपटक “मैले मेरो सांसदहरूलाई संसदमा जति बोल्न सकिन्छ, बोल्नु भनेको थिएँ। त्यो किन भने उनीहरू बोल्न व्यस्त भए भने सोच्न सक्दैनन् अनि मलाई काम गर्न सजिलो हुन्छ” भनेका थिए।
सांसदहरूलाई हेक्का छैन होला, तपाईंहरूको प्रत्येक गतिविधि क्यामेरामा लाइभ कैद भएको घरमा बसेर हेरिन्छ अनि हेर्न पाइन्छ। कसले के गर्यो, कसलाई हेर्यो, नाक कोट्यायो कि टाउको, निदायो, के बोल्यो, आँखा कसलाई तर्यो, कसलाई हेरेको हेर्यै गर्यो, कसले कुर्सी उठायो, को काँधमा चढ्यो, को कुट्न गयो, कसले माइक खोस्यो, कसले झुठ बोल्यो, कसले मोबाइल चलायो, कसले भिडियो खिच्यो, कसले के लगायो, सबै हामी बाहिरबाटै प्रत्यक्ष हेरिरहेका हुन्छौं। अलि फरक व्यहोरा देखियो भने एकैछिनमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छ। त्यसपछि पछुताउने मात्र हो।
संसदभित्र आफ्नो कुरा राख्ने, विरोध गर्ने आफ्नै मर्यादा हुन्छ। हुन त भारतको संसदमा पनि कम वितण्डा भएको देखिँदैन। भारतको संसदमा माइक, कुर्सी फिक्स जडान भएको सुनिएको छ, किनकि सांसदहरूले माइक, कुर्सी नै उचालेर फाल्ने काम गरे।
बेलायतको संसद भवन गज्जब हिसाबले बनाइएको छ। रुलिङ पार्टीका सांसद र प्रतिपक्षहरू आमनेसामने बस्ने गर्छन्। संसदमा रातो लाइन कोरिएको हुन्छ, त्यो कसैलाई पनि नाघेर जाने अनुमति हुन्न। एउटाले बोलिरहँदा अर्कोले बाधा-अवरोध गर्दैनन्। सुरक्षा दिने दल तैनाथ गरिएका हुन्छन् ताकि कसैले अभद्र व्यवहार गर्यो भने अनुशासन कायम गर्छन्, उस्तै परे बाहिर निकालिदिन्छन्। सांसदहरूको संसदभित्रको व्यवहार र बोलीले धेरैजसो उन्मुक्ति पाउने र अदालतमा समेत प्रश्न नउठ्ने भएपनि उनीहरूले देखाएको मर्यादाले संसारभरि संसदीय प्रणालीप्रति विश्वास जागेको हो।
सन् २०१२ मा लेबर पार्टीका सांसद एरिक जोयसले मद्यपान गरी सांसदलाई हातपात गरेको कारण संसदमा क्षमा मात्र मागेनन्, उनलाई प्रहरीले पक्रियो अनि पार्टीले निष्कासन समेत गर्यो। सोह्रौँ शताब्दीमा त संसदमा एक अर्को पार्टीका सदस्यले तरबार उठाएको समेत पढियो। आजसम्म आइपुग्दा जोकोहीले बेलायतको संसदभित्रको छलफल हेरे हुन्छ—कति सभ्य र सौम्य हुन्छ। सांसदहरू हेर्दा नै सांसदजस्ता देखिने, कानून निर्माता, नीति निर्माता अनि राष्ट्र हाक्न हरकोही तयार र सक्षम देखिने। हेर्दैमा। संसदमा रूलिङ पार्टीले नसुनेपछि पिसाब फेरिदिने, सभामुखमाथि अण्डा प्रहार गर्ने जस्ता कार्यहरू पनि बाहिरका संसदमा देखिए, जसलाई निन्दनीय कार्य मानियो।
हाम्रो संसदमा नि धेरै अमर्यादित व्यवहारहरू देखिन्छन्, चाहे त्यो सत्तामा बसेको सांसदले होस् या प्रतिपक्ष। तसर्थ, संसद चल्नुअघि सांसदलाई संसदीय मर्यादाका धेरै पाठहरू सिकाएर पठाउन पर्ने देखियो दलहरूले। अन्यथा, अहिलेका युवाहरूलाई संसद र सांसदप्रति वितृष्णा आउनेछ। जुन मैले मेरै घरको तेस्रो पुस्ताका युवाहरूमा देखेको छु। यस्तो वितृष्णा लोकतन्त्रको लागि हानिकारक हुन्छ।
तसर्थ, संसदलाई मर्यादित बनाउन सांसदहरूले बोलिने भाषा, उनीहरूको व्यवहार, उनीहरूको छलफलमा अग्रसरता, उनीहरूले राखेका कुराको सान्दर्भिकता, संसदमा उनीहरूको उपस्थिति र उनीहरूले राख्ने विचारले संसदीय मर्यादा र संसदीय प्रणालीलाई मजबुत बनाउने हो। संसदीय मर्यादालाई कायम राख्न सभामुखको भूमिका पनि उत्तिकै हुन्छ। सभामुखले सांसदलाई चेतावनी, नसीहत देखि अन्य कारबाही गर्न सक्छन्।
संसद जनताको आवाजलाई लैजाने हो, कानून निर्माणमा सहयोग गर्ने स्थान हो। संसदभित्रको विरोध पनि सभ्य तरिकाले गर्न सकिन्छ। प्रतिपक्षलाई यसै त कम मत दिएर पठाएका हुन्छन्, अनि प्रतिपक्षका सांसदले फेरि असभ्य व्यवहार संसदमा देखाएमा जनताको मतमा गिरावट आउँछ। सत्तापक्षले पनि बहुमतको दम्भ संसदमा देखाएमा जनताको वितृष्णा जाग्छ। व्यापार-व्यवसायका लागि खोलिने कम्पनीमा त अल्पसङ्ख्यक शेयरधनीको संरक्षणको व्यवस्था छ भने संसद त्यो भन्दा धेरै माथिको कुरा हो। तसर्थ, प्रतिपक्षीको कुरा सुन्न सक्नुपर्छ। बहुमत लागेको दल संसदमा भएपछि आफ्नो नीति, योजना, विधेयक बहुमतले ताली बजाएर, भोट हालेर, हात उठाएर भने नि पास भइहाल्छ। त्यसैले, संसदीय मर्यादालाई अक्षुण्ण राख्न हिजोको प्रयासलाई निस्तेज गर्नुपर्छ। यसमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू गम्भीर हुन आवश्यक छ, नत्र संसद गाईजात्रा प्रहसनको अडिटोरियम हल हुनेछ।

