बार डे … बार साँझ

यसपालि जेन-जी (Gen Z) आन्दोलनपछि चितवन जिल्ला अदालत पुग्दा जलेको पुरानो चितवन जिल्ला अदालतको भवन अनि जिल्ला बार देखें। मनमा धेरै कुराहरू खेले। मन फेरि अतासियो अनि धेरै चिन्ताहरूले सतायो। भदौ २४ मा अन्यायीहरूले जलाएको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत परिसरमा भदौ २५ गते जलिरहेका फाइल तथा पुस्तकहरूको उद्धार गरिरहँदा जति मन पोलेको थियो र हात कामिरहेको थियो, त्यो पीडा फेरि उर्लेर आयो। आँखा वरिपरि न्याय र व्यवसायलाई जलाइएको महसुस भयो। लाग्यो, अदालत र बार मात्र जलाइएको होइन, मेरो पेसागत स्वाभिमानमाथि आगो लगाइयो। हामी कानुनकर्मीलाई विस्थापन गर्न आगो लगाइयो। यो आगोको राप कहिले सकिने हो, त्यो त थाहा छैन तर कानुनकर्मी हुन् या न्यायकर्मी, दिनदिनै जलिरहेका छन्। यो बार दिवसले त्यो जलनलाई मथर गर्दै पेसामा नयाँ ऊर्जा र आत्मविश्वास कायम गर्दै जाओस्। बस, आजको दिन यही शुभकामना छ मनैदेखि।

मैले मेरा अघिल्ला लेखहरूमा चितवन जिल्ला अदालत र बारको पुरानो सम्बन्धका बारेमा लेखिसकेको छु। मैले कानुन पढ्नुअघि नै यस जलेको भवनका कोठाहरूमा अनि इजलासको पछिल्लो कुनामा विशेष समय बिताएको छु, एउटा पर्यवेक्षकका रूपमा केही महत्त्वपूर्ण मुद्दाहरूको बहस-पैरवी हेर्दै। एकातिर बहस सुन्थेँ भने अर्कोतिर म आफैँ न्यायाधीश भएर फैसला गर्थेँ, दोषी कि निर्दोष भनेर। मेरो हचुवाको फैसलाले कहिलेकाहीँ न्याय पर्थ्यो।

मलाई अझै याद छ, ती दिनहरूमा न्यायमूर्तिहरू कति ध्यान दिएर बहस सुन्ने गर्थे अनि जहाँ कानुन व्यवसायीको बहसमा स्पष्टता हुँदैनथ्यो, त्यहाँ प्रश्न गरिहाल्थे अनि कानुन व्यवसायी त्यसको जवाफ दिन्थे। स्कुलको ठिटो मलाई अदालतभित्र शिक्षक कानुन व्यवसायी अनि विद्यार्थी न्यायाधीश जस्तो लाग्थ्यो। न्यायाधीश चलाख विद्यार्थीजस्ता, जहाँ कानुन व्यवसायीको गल्तीमाथि औँला उठाउँथे र स्पष्टीकरण मागिहाल्थे। हर कुरालाई गम्भीरताका साथ सुन्ने र जवाफ माग्ने। शिक्षक पनि कहाँ कम तयारी गरेर आएका हुन्थे र! आजकल त्यस्तो भेट्न गाह्रो हुन्छ। लाग्छ, केही विद्यार्थीहरू मज्जाले चिट चोरेर पास भएछन् भने कसैले बाहिर चिट किनेछन्। न प्रश्न छ न ध्यान, न जिज्ञासा न ज्ञान। सुन्यो, सुन्यो, ठोक्यो।

अर्कोतिर बार एसोसिएसन त्यस्तै ओजिलो। कानुन व्यवसायी भनेपछि व्यावसायिक र सामाजिक प्रतिष्ठा। बुबा कानुन व्यवसायी हुनाले मैले साथीभाइबीच पाएको माया र सम्मानको रवाफ त्यस्तै। बारका केही कानुनी साक्षरता सम्बन्धी प्रशिक्षणमा त म आफैँ पनि एसएलसीपछि बुबासँगै पछि लागेर कुनापट्टि चुपचाप सहभागी हुने गर्थेँ। सायद मलाई कानुन सम्बन्धी केही रुचि त्यहाँबाट नै आएको होला, भलै म कानुन व्यवसायी हुन नचाहे पनि। आजकल कहिलेकाहीँ कानुन र न्यायमा आएको विकृतिले मनमनै रिस उठेको बेला बुबासँग रिसाउँछु अनि सोध्छु किन मलाई कानुन व्यवसायी बनाउन यत्रो योजना तय गर्नुभयो? तर मेरो रिस व्यावसायिक सन्तुष्टिभन्दा नगन्य नै हो। किनकि म चुनौती, कठिनाइ, असहयोग र ईर्ष्याको नाकाबन्दीबीच उभिन प्रयास गरेको व्यवसायी हुँ। मलाई थाहा भए विकृति कानुन व्यवसायीभित्र मात्र नभई अन्यत्र पनि छ अनि यही विकृतिभित्र आफ्नो जीवन पद्धतिलाई अलग गर्दै लैजानुपर्ने छ।

कानुन व्यवसायीले न्यायका लागि गरेको योगदानलाई संसारभर उच्च मूल्याङ्कन गरिन्छ। त्यसैले एउटा कानुन व्यवसायीले कालो कोट लगाउँदा आफूलाई अदम्य साहस बोकेको अनुभूति गर्ने गर्दछन्। यसका पछाडि अनेक कारण छन्। त्यसैले बार डे (Bar Day) कानुन व्यवसायीका लागि ऊर्जा थप्ने दिनका रूपमा लिइन्छ। अमेरिकामा यो दिन मे १ तारिखमा मनाइन्छ। आज हामी ७०औँ दिवसका रूपमा मनाइरहेका छौँ अनि हाम्रो व्यवसायलाई संस्थागत गर्ने ती संस्थापकहरूमाथि मनैदेखि माल्यार्पण गरेका छौँ— जलेको बार एसोसिएसनको प्राङ्गणमा। त्यसको अद्भुत अर्थ छ बुझ्नेहरूका लागि, बाँकीलाई औपचारिकता। प्रश्न हाम्रै सामु छ, के हामीले बारको स्थापनाको मर्म बुझेका छौँ? के हामीले व्यवसायलाई निष्ठासँग सौदा गरेका छैनौँ? के हामी न्यायका सच्चा अभियन्ता हुन सकेका छौँ?

यो बार डे संसारभर कानुन व्यवसायीले कानुनको शासन, कानुनी अधिकारको संरक्षण, कानुन व्यवसायीका कानुनी अन्तर्क्रिया, संविधान र कानुनको व्याख्याका लागि कानुन व्यवसायीले खेलेका भूमिका, मानव अधिकारका लागि गरेका योगदान, न्यायको प्रवर्द्धन र अभिवृद्धिमा गरेको लगानी, स्वतन्त्र न्यायपालिका र भ्रष्टाचारविहीन न्यायका लागि खेलेको भूमिका, व्यावसायिक अभिवृद्धि, व्यावसायिक सञ्जाल र नैतिकताले कानुनी प्रणालीलाई दरिलो बनाउन खेलेको भूमिकाका लागि मनाउने दिवस हो। यो दिवसले कानुन र न्यायमा सुधारका उपायलाई निर्देशित गर्छ, कानुन र समाजलाई परिष्कृत गर्न सहयोग गर्दछ अनि व्यावसायिक आचरणलाई सुधार गर्न अभिप्रेरित गर्छ। त्यसैले बार डे कानुन व्यवसायीले मात्र मनाउनेभन्दा पनि यो सार्वजनिक रूपमा सबै नागरिकले मनाउने दिवस हो। यो न्यायको दिवस हो, यो लोकतन्त्रको दिवस हो अनि मानव अधिकारको दिवस हो, किनकि यो दिवसले कानुन व्यवसायीलाई एउटा ऊर्जा दिएर पठाउँछ। त्यही ऊर्जा लिन सयौँ कानुन व्यवसायीहरू अहिले उपत्यका बारले आयोजना गरेको बार दिवस मनाउँदै छन् ललितपुरमा। तर व्यावसायिक मर्यादाका यी सुनौला मसीहरू धेरैलाई पचाउन गाह्रो परेको छ। कानुन व्यवसायीले सामाजिक सञ्जालमा केही राम्रा कुराहरू लेखे पनि गालीका शब्दहरू धेरै भेटिन्छन्। हुन त हामी कानुन व्यवसायीले कालो कोट लगाउनुको अर्थ नै ती गालीका विकिरणहरूलाई सजिलै छेकोस् भन्ने हो, तर समय यस्तो आएको छ कि हामीले लगाउने कालो कोटभित्र भ्वाङहरू परेका छन् अनि ती भ्वाङबाट छिरेका विकिरणहरूले बिस्तारै-बिस्तारै क्यान्सरको रूप लिँदै छन् र हामीलाई खोक्रो बनाउँदै छन्। जसरी लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूका खलपात्रहरूले सानो आगोको झिल्काबाट संसार डढाए जस्तै।

मलाई अझै गर्व लाग्छ, त्यो दिन सम्झिँदा जुन दिन कानुन व्यवसायीका लागि नेपाल बारले बनाएको फुली नयाँ कालो कोटमा टाँसेको थिएँ। अहिले भर्खरै बार परीक्षा पास गरेका नवप्रवेशीको चम्किलो अनुहार देख्दा आफ्नो २३ वर्षअघिको दिन याद आउँछ। कस्तो उत्साह थियो, आजबाट म अधिवक्ता भएँ भन्ने। लाग्थ्यो, अब म न्यायका लागि लड्छु। कत्रो आस्था, सम्मान अनि घमण्ड थियो मेरो न्यायालयप्रति, बारप्रति अनि मेरो व्यवसायप्रति। तर अहिले अलि खस्केको छ; व्यवसायप्रति कसैले नराम्ररी खेलेको छ, व्यापार गरेको छ, सौदा गरेको छ।

कानुनी पेसामा अधिवक्ताका रूपमा दरिएको करिब २३ वर्ष हुन लाग्यो। यी वर्षहरूमा अनेक पढियो, बुझियो, भोगियो अनि देखियो। धेरै न्यायमूर्तिहरूका प्रेरणादायी मन्तव्य सुनियो, बार नेतृत्वका युगान्तकारी प्रवचन सुनियो। तर जति समयक्रमले गिजोलिँदै लग्यो, उति निष्ठा र इमान भासिँदै गएको भेटियो। अवस्था यस्तो आएको छ कि न कानुन व्यवसायी निडरका साथ कालो कोट लगाउन सकेको छ, न न्यायमूर्तिले सम्मान पाउन सकेका छन्। अझ झन् बार एसोसिएसनमा जाँदा वर्षौँदेखि व्यवसाय गरेका, व्यावसायिक सम्मानले पुजिएका अग्रजहरूले आशा छर्नेभन्दा पनि निराशा देखाउने कुराले हाम्रो त मन पोल्छ, ती नवप्रवेशीहरूलाई के होला? अझ पहिलो पुस्ताका कानुन व्यवसायीलाई के प्रभाव पार्ला? सोचनीय छ।

यस्तो विषम परिस्थितिमा अब पनि सुधारका पाइला चाल्न सकिएन भने निष्ठामा सौदा गर्नेहरूको बोलवाला बढ्नेछ। हजारौँ कानुन व्यवसायीहरू विस्थापित हुनेछन् अनि न न्यायको आशा हुनेछ न व्यवसायको अभिवृद्धि। आजकल कानुन व्यवसायी वृत्त होस्, या बार होस् या अदालतको परिसर, कानुन व्यवसायी र न्यायमूर्तिमाथि हाम्रै समाजका सदस्यहरूले औँला उठाएको देखिन्छ। धेरै त पूर्वाग्रहले होला, थोरै भने पक्कै यथार्थ। संसारका धेरै कानुन व्यवसायीहरू भेटियो, कुरा गरियो अनि उनीहरूका कुराहरू सुनियो। उनीहरू आफ्नो व्यवसाय र न्यायालयप्रति कति गर्व गरेर कुरा गर्छन्। अहिलेसम्म विदेशी अदालतका हजारौँ फैसलाहरू पढियो भने त्यतिकै मात्रामा इजलासका बहसहरू हेरियो, सुनियो अनि कानुन व्यवसायीका आचरण र निष्ठा देखियो। मनमनै तुलना गरियो अनि आफैँलाई गाली पनि गरियो। हामीले किन उनीहरूले जस्तो गर्न सकेनौँ? हामीमा के कम छ? हाम्रोमा के समस्या छ? यो हामीले नबुझेको हुँदै होइन।

त्यसैले अब हामीले हाम्रै समीक्षा गर्ने दिन आएको छ। हामीले आफूलाई सुधार्नुपर्ने दिन आएको छ। हाम्रो बारले यी समस्याहरूलाई फेरि एकपटक फर्केर हेर्नुपर्नेछ। बारले व्यवसायसँगै बारको नयाँ खम्बा ठड्याउनुपर्नेछ। बर्सेनि २००० अधिवक्ताहरूलाई व्यावसायिक भरोसा, सम्मान, निष्ठा र मर्यादाभित्र राखी पेसागत अभिवृद्धि गर्नुपर्नेछ। सो गर्न सकिएन भने अदालत र बार जलाउनेहरू फेरि सक्रिय हुन सक्छन्। मर्यादित पेसा र न्यायमाथिको विश्वासले अदालत र बार जलाउनेहरूलाई पश्चात्ताप गराउनुपर्नेछ।

त्यसैले बार डे ले बार साँझलाई पनि उज्यालो बनाउनुपर्नेछ। आजको बार डे ले साँझलाई ऊर्जा देओस् अनि निष्ठाको दृढ संकल्प दिएर पठाओस्। किनकि कानुन व्यवसायीमा दिनदिनै निष्ठाका प्रश्नहरू तेर्सिएका छन्। ती निष्ठाको अवहेलना गर्नेहरूलाई बार दिवसले थोरै भए पनि ज्ञानको प्रकाश छरोस्। बारले पनि आफू कानुन व्यवसायीहरूको संस्था हो, सरकारको बौद्धिक प्रतिपक्ष हो, कानुनको शासन, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको अविचलित पहरेदार हो अनि कानुन व्यवसायीको व्यावसायिक अभिवृद्धि र सुरक्षा गर्ने मन्दिर अनि नेतृत्व विकास गर्ने संस्था हो भन्ने कुराको अनुभूति र आफ्नो भूमिका तथा महत्त्वको पुनर्विचार गर्न सकोस्। आज विशेष कारणवश बार डे मा उपस्थित हुन सकिनँ। बार साँझ रमाइलो र हसिलो होस्।

सम्बन्धित समाचार

ताजा न्यूज