नेपाल बारको कार्यसमितिले बिर्सेको बारको संवैधानिक स्थान र जेनजी आन्दोलन

सायद यो मेरो डायरी पछि केही समय डायरी लेख्न विश्राम लिन्छु जस्तो लाग्छ । यो डायरी कोही प्रति लक्षित भन्दा नि बारलाई स्वतन्त्र,  निर्भीक , व्यावसायिक र मर्यादित हुन अभिप्रेरित गर्नेछ भन्ने लाग्छ । किनकि मेरो उमेरकालाई त बार बार जस्तो भएन भन्ने लाग्छ भने बार सँग आफ्नो भविष्य देख्नेहरूलाई आशा जगाउनु छ । बार हाम्रो लागि हो, हाम्रो हो भन्ने पार्नु छ । तर आशा धेरै छैन किनकि आउने दिनहरूमा पनि फेरि नेपाल बार लगायत सबै आङ्गिक बारहरू भाग लगाइने छन् अनि नेतृत्व लिन पार्टीहरू धाउने छन् ।

नेपाल बारको प्रत्येक प्रेस विज्ञप्तिमा कानूनको शासन, मानव अधिकार, स्वतन्त्र न्याय पालिका र लोकतन्त्र भन्ने शब्दहरू पहिलो अनुच्छेदमा राखिएको हुन्छ । यी प्रतिबद्धताहरू नेपाल बारको विधानमा उल्लेख गरिएका छन् । नेपालका महत्त्वपूर्ण प्रजातान्त्रिक आन्दोलनमा नेपाल बार जहिले पनि अग्र पङ्क्तिमा रहेको कुरामा दुई मत हुनै सक्दैन । नेपाल बारको युगान्तकारी भूमिकाका बारेमा मैले पनि धेरै कानुन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनहरूमा बोलेको छु र बोल्ने पनि छु । किनकि म यो संस्थाको सदस्य हुँ । नेपाल बारको गौरवान्वित इतिहासलाई अन्तर्राष्ट्रिय स्तरमा बहस गर्ने यस बारका केही सदस्यहरू मध्ये म पनि एक हुँ जस्तो लाग्छ । सायद यसलाई पहिचान गरेर नै काठमाडौँ बारले गरेको अघिल्लो हप्ताको वार्षिक साधारण सभामा मलाई सम्मान गरेको पनि छ । विगत केही वर्ष देखि नेपाल बारको अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यमा थोरै भने पनि योगदान गरेको कुरामा म आफैलाई गर्व लाग्दछ । यो कार्य निरन्तर गर्ने पनि छु । सायद यसकै फल मैले ल एसियाको अघिल्लो वर्ष मलेसियामा भएको कार्यसमितिको सम्मेलनमा गर्विलो मतले निर्वाचित भए । मैले विगत १५ वर्ष देखि बारका विभिन्न समितिमा बसेर काम पनि गरेको छु । राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनका लागि ठुलो सहयोगको रकम जोडिदिन सहयोग गरेको कुरा त्यति बेलाका कार्यसमितिलाई जानकारी छ । हामी कानून व्यवसायीले गर्ने सहयोग भनेको यस्तै हो र यो सहयोग कुनै बारका व्यक्ति विशेषलाई होइन । नेपाल बारलाई हो । हामीले प्रत्येक ३ वर्षमा हाम्रो बारलाई सही ढङ्गले चलाउन भनेर निर्वाचित गरेर पठाउँछौ । चाहे जो जसरी जुन पार्टीका सिफारिसमा उम्मेदवार भएका हुन् । मत आखिर हाम्रो नै हो । तर हामीलाई राम्रो हेक्का छ धेरै समय अघि देखि हाम्रो नेतृत्व पार्टीको टिके प्रथाबाट चलेको छ अनि हामी विवश छौँ जसलाई मत दिए पनि त्यही प्रथाबाट आउनेले नै पाउँछौ । एक्लै स्वतन्त्र  लड्नेहरू  मुस्किलले ३ अङ्कको मत पाउँछन् जति नै काबिल भए पनि । किनकि हामी कानून व्यवसायी मतदातामा बारको मतपत्र भित्र रुख, सूर्य र हँसिया हतौडा मात्र देख्छौ ।

हामीले सधैँ बार सरकारको बौद्धिक विपक्षी हो भन्दै मान्दै आएका छौँ । यो बारको साख यति विशाल छ कि यसलाई संविधानले चिनेको छ । त्यसले पनि बारले खेल्ने भूमिकाको चर्चा हुने गर्छ र गर्नु पनि पर्छ । मैले पहिले नै भनी सके नेपाल बारका अघिल्ला नेतृत्वहरुले पारेको प्रजातान्त्रिक आन्दोलनको छाप ले अहिले पनि धेरै कानून व्यवसायीको छाती फुल्छ । तर केही समय देखि यता बारमा राजनैतिक पार्टीहरूको प्रभाव यसरी परेको छ कि बारको नेतृत्वहरू बारको विशाल महत्त्व र प्रभावलाई कायम गर्नु भन्दा दल विशेष भएको महसुस हुन्छ । त्यसैले पनि धेरै कानून व्यवसायीलाई बारमा जाँदा पार्टी कार्यालय पुगेको महसुस  हुन्छ । अर्को दल विशेषकाले नेतृत्व लिए भने ३ वर्षसम्म बार उक्लने कति छन् छन् ।

यसको आभास पछिल्लो समय जेन जीको आन्दोलन ताका भएको महसुस भयो। जेन जीले गरेको आन्दोलनले नेपालको राजनीतिमा यत्रो भूचाल आउला भन्ने कसैले सोचेको थिएन । २ दिन मैँ जेन जीले नेपालको राजनीतिमा काया पलट गरिदिएको छ । जति बेला काठमाडौँमा गोली चलिरहेको थियो म पोखराबाट बन्दीपुर हाकिदै थिए पोखरामा मुद्दाको काम छिटो सकाएर । बन्दीपुर पुग्दा सम्म ११ जना अबोध युवाहरूमा निर्दयी पाराले गोली चलेको समाचारमा आइसकेको थियो । काठमाडौँको वातावरणलाई छलेर पोखरा हुँदै बन्दीपुरमा बसाई गर्न हिँडेको म जब म सर्वोच्च अदालतका संस्थापक स्व. वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ को घरको आँगनमा पुगे र स्थानीयसँग कुरा गर्दा गर्दै काठमाडौँमा युवाहरू माथि गोली चलेको सुनियो । सँगै रहेका अधिवक्ताहरू मुरारी सापकोटा र राम कुमार माझी अनि बन्दीपुर बाख्रा पालन अनुसन्धान केन्द्रका प्रमुख मेरो स्कुलका सहपाठी राजु कँडेल, स्कुलका सहपाठी डुम्रेका व्यवसायी राजेश पिया सँगै थियौँ । म आफूलाई काठमाडौँको समाचार सुनेर नर्भस भएको महसुस भयो अनि साथीहरूलाई हेरे । उनीहरू पनि बोल्न नसक्ने अवस्थामा थिएनन्। एक्कासि छोराको याद आयो । कलेज गएको छोरो अघिल्लो दिन नै आन्दोलनमा जाने कुरा गरेको थियो । फोन गरे छोरो कलेज सकेर घर फर्कने क्रममा बानेश्वर एरियामा नै रैछ । अनि आन्दोलनको भाग दौड पछि कलेज कै गाडीमा घर पुगेको थाहा भयो। तर हाम्रै धेरै छोरा छोरीले सहादत पाइसकेका रहेछन् । चरम भ्रष्टाचारको विरोधमा गरेको आन्दोलनमा भ्रष्टाचारमा लिप्त राजनीतिको सरकारले ती अबोधहरूलाई ढाली सकेको रहेछ । आजसम्म समाचार सुन्दा ५० अबोधहरू मारिसकेका रहेछन् आन्दोलनमा मर्नेको सङ्ख्या ७२ नाघिसकेको छ ।

यस्तो डरलाग्दो समाचार साँझसम्म सुनिरहँदा मैले नभेटेको श्रद्धेय कुसुम श्रेष्ठको ऐतिहासिक घरको आँगन छोड्न सकिएन । कुसुमलाई सम्झे साँझसम्म त्यही आसपास बसियो दुखित अनि पीडित महसुस हुँदै । साँझमा नेपाल बार एसोसिएसनको प्रेस विज्ञप्ति आयो पढियो अनि दिक्दार लाग्यो । भ्रष्टाचारको विरुद्धमा बारले गरेको आन्दोलन पनि काम युगान्तकारी छैन । बारका विभिन्न प्रतिवेदनहरूले अदालतमा गम्भीर भ्रष्टाचार भएको देखाएको अनि देखिएको छ । लाग्यो हिजो बारको भ्रष्टाचारको  आन्दोलनमा सर्वोच्च अदालतमा कानून व्यवसायीले कुटाई खाँदा होस या हतियारधारी सर्वोच्च अदालतमा छिर्दा हामी नै हौँ त्यसको घोर विरोध गर्ने। हाम्रो आन्दोलन न्यायपालिका भित्रको भ्रष्टाचार विरुद्धको थियो । तर जेन जीको आन्दोलन देश भरीको भ्रष्टाचारको थियो अनि कुटाई मात्र खाएका होइनन् तातो गोली छातीमा खाइरहेका थिए । बारको प्रेस रिलिज आउँदा सम्म १५/१६ जनाले सहादत पाएको समाचार आएको थियो । बारको वक्तव्य दया लाग्दो गरी आयो । झारा टार्ने गरी आयो । सरकारी हिसाबले आयो । बारको वक्तव्यले मलाई मात्र होइन धेरै कानून व्यवसायीलाई दुखित गराएको देखेँ सामाजिक सञ्जालमा । सायद भोलिपल्ट नेपाल बारसम्म आक्रमण गर्ने दुस्साहस गर्दा बार प्रतिको कहीँ न कहीँ असन्तुष्टिको केही प्रभाव परेको पनि हुन सक्छ हाम्रै व्यवसायी भित्रबाट अथवा कहीँ कतैको सुनियोजित योजनाको परिणाम । किनकि मानव अधिकारको लागि जीवन प्रवाह नगरी  लडेका कानून व्यवसायीको मातृ संस्थामा हमला गर्न कत्रो दुस्साहस आयो । त्यो विचारणीय छ । त्यसको खोजबिन हुनै पर्छ । नेपाल बार जलाउनेलाई खोज्नै पर्छ फौजदारी मुद्दा लगाउनै पर्छ । त्यो काम जेन जीको पुस्ता गर्छ भन्ने सोच्न सकिन्न  । जेन जी भित्र घुसपैठ गर्ने अदालत बार जलाउनेलाई बिर्सिन सकिन्न । किनकि जेन जी उमेरका कानुन व्यवसायी, कानुनका विद्यार्थी बिच हाम्रो स्कुले छोरो दिनभर बार र सर्वोच्च अदालतमा जलेका फाइल र पुस्तकको संरक्षण गर्दै थिए । मलाई लाग्यो बारको पहिलो वक्तव्यले जेन जीको आत्म बुझेन ।  किन किनकि जेन जी कुनै पार्टी थिएन । जेन जीको आन्दोलन चरम भ्रष्टाचार र बेतिथि पूर्ण अवस्थाको विरुद्धमा थियो । सार्वजनिक संस्थाहरूमा भएको दलियकरण विरुद्धको थियो अनि दण्ड हीनताको विरुद्धको थियो भन्ने सुनियो, देखियो अनि पढियो ।

अब भाद्र २६ गतेको कुरा गरौँ । चरम भ्रष्टाचारका विरुद्ध को आन्दोलनले सरकार ढल्यो । आन्दोलनको दोस्रो दिन नेपालभर विभिन्न सरकारी र ऐतिहासिक भवनहरूमा आगो लाग्यो । त्यो आगोले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद् अनि ३ पार्टीका शीर्षस्थ नेताका घरहरूलाई खरानी बनायो । सरकार विहीन देशलाई सेनाले सब जली सकेपछि मात्र  नियन्त्रणमा लियो आफ्नै आँगनमा जल्नु अघि हेरी रह्यो । आवश्यक त नयाँ सरकारको थियो । अवस्था यस्तो आयो नयाँ सरकार संविधानको लिखित शब्दहरूबाट सम्भव थिएन । किनकि आन्दोलनलाई जसले ऐतिहासिक परिवर्तन गर्न सफल भयो उ तयार थिएन त्यही सांसदबाट नयाँ नेतृत्व दिनलाई । हिजो देशले नयाँ नेतृत्व पायो पहिलो महिला प्रधानमन्त्री जो संविधान भित्रका लिखित शब्दले चिन्दैन । मङ्गलवार बिहान जेन जीको नजिक रहेका मित्रले पोखराबाट फर्किँदै गर्दा फो मा कानूनी राय लिए । के सुशीला कार्की संविधान भित्रबाट प्रधानमन्त्री हुन सक्षम छिन् ? मैले भने संविधानको सामान्य परिभाषा भित्र सम्भव छैन । म अहिले पनि संविधान भित्रबाट भन्ने हो भने सामान्य पढाइमा सुशीला कार्की प्रधानमन्त्री हुने व्यवस्था देख्दिन । अब के यत्रो आन्दोलनको उपलब्धि भित्र जसको नेतृत्वमा आन्दोलन भयो उसको माग नै असंवैधानिक मानेर व्याख्या गर्ने त ? के हाम्रो संविधान भित्र चुनाव नै नलडी संसद् भित्र पहिले कहिले कसैलाई स्थान दिएको छैन त ?

संविधानले जनतालाई सार्वभौम मान्छ । देश भरीको आन्दोलनले देशका सम्पूर्ण राजनीतिक दलको अस्तित्व करिब नभएको अनुभव गराइसकेको थियो । जसको कारण एउटा अकल्पनीय परिवर्तन सम्भव भयो । त्यसलाई सम्बोधन गर्न देशले नयाँ नेतृत्व पायो । मैले हिजोको डायरीमा लेखेको शब्द यहाँ पनि राख्न मन लाग्यो ‘संविधान हामीले बनाएका हौँ। संविधान परिवर्तनशील दस्ताबेज हो। अबको नयाँ सरकारको वैधानिकता कि यही संविधान भित्र खोज्ने हो कि यही भित्र बाटै वैधानिकता दिने हो । दुवै असम्भव छैन ।’

यो आन्दोलनको जगमा बनेको नयाँ सरकारको संवैधानिकता भनेकै मेरो विचारमा जनतामा रहेको सार्वभौमिकताको परिणाम हो । जसलाई राष्ट्रपतिले प्रयोग गरेका छन्। । समय आउला यसको संवैधानिकता जाँचिएला । तर हामीले सोच्न पर्ने कुरा के हो भने यो सरकारलाई हामीले वैधानिक नमान्दा र संसद् भित्रबाटै सरकार बनाउँदाको क्षति कुन बढी हुन सक्छ ? बारको तराजुले त्यो देखेन जस्तो लाग्यो । पक्का पनि अहिलेको सरकार बन्दा क्षति कम भयो जस्तो लाग्छ किनकि सेना फर्केको छ । संविधान बचेको छ अनि हिजो देखि सहज महसुस भएको छ । नेताहरू माथि आक्रमण रोकिएको छ । घरहरू जल्नबाट बाँचेका छन् । तर बारको कार्यसमितिले यो बुझेन जस्तो लाग्छ । बार फेरि राजनीति तिर लाग्यो जस्तो देखियो । यो सरकार नबनेको भए संविधान नै नरहने अवस्थाको आभास थियो। संविधान नै नरहेको भए बारको संवैधानिक अस्तित्व नै रहने थिएन । नयाँ संविधान आउँदा त झन् बार संविधानमा अट्छ जस्तो त लाग्दै लाग्दैन । किनकि अर्को संविधान लेखिदा बार पनि सङ्घीयतामा जानेछ । सङ्घीयतामा जाँदा बार संविधानमा पक्का अट्ने छैन । किनकि बार संविधानमा भएकोले नै बार भित्र यत्रो राजनीति भएको हो । यो राजनीति हुनु को कारण धेरै छ। बारको संवैधानिक महत्त्व सकिने थ्यो ।

बारको कार्य समितिको  हतारिएको प्रेस विज्ञप्ति त्यसैले त्रुटि पूर्ण छ भन्ने लाग्छ राजनीतिक रूपले प्रेरित छ भन्ने लाग्छ । राजनैतिक दलले दुःखले बनाएको संसद्को विघटनलाई नमान्नु स्वाभाविक हो तर बारले गर्ने भनेको स्वतन्त्र र कम क्षति पूर्ण विश्लेषण हो  जसलाई संविधान भित्र खोज्ने हो । अमेरिकाले संविधान लेख्दा लामो लेख्नु हुँदैन । लामो संविधानले धेरै विवाद ल्याउँछ भन्ने कुरालाई ह्यामिल्टन ढुक्क थिए । हामीले लामो संविधान लेख्यों। अहिले यो लेख्दै गर्दा २०७२ असोज ३ गते याद आयो। संविधान सभामा संविधान जारी गर्दै गर्दा  म, वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य , वरिष्ठ पत्रकार युवराज घिमिरे र सौरभ हामी ४ जना तीनकुनेको अन्नपूर्ण पोस्टको माथिल्लो तलामा बसी संविधानको मस्यौदामा छलफल गर्दै थियो र हाम्रो निष्कर्ष के थ्यो भने कि यो संविधानमा धेरै समस्याहरू छन् अनि धेरै वकिलहरूलाई राम्रै कामहरू मिल्ने छ । अब फेरि नयाँ सरकारको संवैधानिकता जाँच गर्न धेरै कानून व्यवसायीलाई अवसर आउने छ । तर माधव बस्नेत दाइले आजको पोस्टमा उद्धरण गर्नु भएको ज्याग ग्रिफिथको लाइनलाई नेपालीमा साभार गर्न मन लाग्यो जे हुन्छ संवैधानिक हुन्छ, भएन भने नि संवैधानिक हुन्छ ।

अन्तमा, बारको घुम्टो उघार्ने हो भने राजनीतिक प्रभावले गाजेको देखिन्छ । यो राजनीति भित्रको खेलले जसको राजनीतिक पहुँच छैन त्यसलाई धेरै पाखा लगाइएको इतिहास लामो छ । हामी जसलाई बारका अग्रज मान्छौ उहाँहरूको भाषण जति सुन्दा रमाइलो लाग्छ वास्तविकतामा ती खोक्रो देखिन्छन् । उहाँहरू बारलाई स्वतन्त्र र सक्षम नेतृत्व खोज्न चुक्नु भएको देखिन्छ किनकि उहाँहरू पनि कि राजनैतिक दबाब झेल्न सक्नु हुन्न कि आफ्नै नजिरकालाई बनाउन तल्लीन हुनुहुन्छ । त्यसैले बारमा अवसर दिने कुरामा पनि गम्भीर नेपोटिजम छ । धेरै युवा कानून व्यवसायीहरूले यो नेपोटिजाम बुझेको देखिँदैन । आशा गरूँ कानुन नबुझेका युवाहरूले त देशमा राजनीति परिवर्तन गर्न सके कानून परिवर्तन गर्न सके, कानून बुझेका व्यवसायीहरूले पक्कै बुझ्नेछन् अनि हाम्रो बारलाई स्वतन्त्र, उत्तरदायी र जीवन्त बनाउने छन् ।

  • प्राविधिक कारणले यस लेखको शिर्षकलाई केही मिलाइएको छ ।- सम्पादक

सम्बन्धित समाचार

ताजा न्यूज