विगत केही समय देखि नेपाली आन्दोलनहरूमा लुटपाट गर्ने कार्यहरू बढ्दो छ । आन्दोलन भित्र घुसपैठ गर्नेहरू वा आन्दोलन कै सदस्यहरू समेत लुटपाटमा संलग्न देखियो त्यो पनि अनियन्त्रित रूपमा । जजसले जे भेटे त्यही लगे, कोहीले आवश्यकता अनुसारको लगे कोहीले जे भेट्यो त्यही । केटाहरूले रक्सी बोकेको केटीहरूले ब्याग जुत्ता, टेढी, क्रिम बोकेको पनि देखियो । जे चाहिने देखेँ त्यो उनीहरूले मजाले बटुले कोहीले अनुहार छोपेर कोहीले छाती फुलाएर । स्टोर भित्र मानिसको भिडले आफ्नो हिसाबको समान बोकेको मैले पहिलो पल्ट लन्डनमा देखेको हुँ । तर त्यो बेंक होलिडे ( Bank Holiday) मा थियो लुटपाट थिएन । हेर्दा लुटपाट जस्तो देखिए पनि त्यो खरिद बिक्री थियो । विशाल स्टोरहरूमा आधा मूल्यमा सामान पाइने हुँदा म पनि एक दुई पटक बिहानै देखि लाइनमा लागेर आफूलाई चाहिने समान बटुल्न कुदेको थिएँ। खास गरी यस्तो बिक्री क्रिसमस को बेला हुने गर्दछ । यो अहिले अनि जहिले पनि देख्न पाइन्छ बेलायत अमेरिका तिर । तर त्यहाँ बटुलेको सामानको मूल्य तिर्नु पर्छ । किनकि त्यो दिन सस्तो व्यापार हुन्छ ।
गत चैत्र १५ को प्रदर्शन होस् या भदौ २३ को जेन जी को भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध को प्रदर्शन र सो प्रदर्शन गर्ने युवाहरूको गोली हामी भएको हत्या को भोलिपल्ट भदौ २४ का दिन धेरै ठाउँ मा विध्वंसकारी आगजनी र लुटपाट भएको देखियो त्यो पनि निकै अनियन्त्रित रूपमा । जब जब विरोध प्रदर्शनले उग्र रूप लिन्छ त्यस्तो समयमा लुटपाटका घटना संसारका धेरै देशमा हुने गर्दछन् । कोभिड १९ ले ल्याएको लक डाउनको बेला हामीले अमेरिकामा काला जातिका एक युवा जोर्ज फ्लोयेड माथि ट्राफिक दमनले भएको मृत्युले लिएको विरोधको उग्र रूपले अमेरिकामा ठुलै लुटपाट मच्चायो ।
बेलायतीहरू आफूलाई सभ्य समाज निर्माण गर्ने अभियन्ताको रूपमा लिन्छन् । हामीले धेरै सभ्यता, असल व्यवहार, आधुनिकता, शिष्टाचार पनि धेरै हदसम्म उनीहरूबाट देखेका छौ अनि सिकेका पनि छौँ । आदर, सम्मान, माया र सद्भावमा हामी संसारभर परिचित छौ । जति दुख भए पनि नेपालीको हाँस्ने बानिले संसारका पर्यटकलाई अचम्मित पार्छ । हाम्रो संस्कृति, मूल्य मान्यता बशुदैब कुटुम्बकममा अडेको छ । तर परिवर्तनशील समाजले राम्रा कुरा सँगै नराम्रो कुरालाई पनि सँगै ल्याएको छ । मानव समाजलाई बाँध्ने कानुनले कहिले काहीँ विरोध प्रदर्शनका बेला नियन्त्रित गर्न सकेन भने अराजक अवस्था ल्याउँछ । आजकल देखिन थालेको नराम्रो पक्ष भनेको त्यसको फाइदा उठाएर गरिने लुटपाट हो ।
बेलायतमा सन् २०११ मा प्रदर्शन को क्रममा ठुलो लुटपाट भयो । बेलायती मात्र होइन संसार नै दङ्ग पर्यो । उनीहरूको मनमा उठेको प्रश्न के थियो भने बेलायतीहरू कसरी लुटपाट गर्न सक्छन् ? तर गज्जबको कुरा के देखियो भने लुटेराहरूले लाइनमा बसेर लुटे । आफ्नो पालो आएपछि झोला भरेर हिँडे । काम खराब थियो लुट्ने कुरा तर लुटपाट नि सभ्य तरिकाले लाइनमा बसेर गरे । यसपालि नेपालमा भएको लुटपाट डरलाग्दो थियो वा भनुम लाजमर्दो रह्यो । बिस्कुट, साबुन देखि मोबाइल, घडी, सोफा, कुर्सी, तन्ना, रक्सी के के हो के के । तर लुटपाट पछिको घटना कम रोचक रहेन । धेरै जसो लुट्नेहरूले अहिले लुटेको सामानहरू फर्काउँदै छन् । यसले के सन्देश दिन्छ भने आगामी दिनहरूमा लुटपाट हुने छैन । नेपालीले लुट्ने छैनन्। नेपालीले संसार भरि दिएको गज्जबको सन्देशलाई मान्नु पर्छ । यसको निरन्तरता कायम रहोस् । लुटिएका समानहरू फिर्ता होस् ।
लुटपाट अनि इथिकल डिलेमा (नैतिकताको दोधार)
मैले लुटपाटलाई चोरी भन्दा फरक हिसाबले हेरेको छु । लुटपाटको समय त्यस्तो हुन्छ जुन बेला लुट्ने मनसाय बाहेकका मान्छे इथिकल डिलेमा (नैतिकताको दोधार) मा पर्छ । लुटपाट भइरहेको ठाउँमा बस्ने तर लुट्ने हिम्मत नभएका या लुट्नु हुन्न भन्ने मनसाय भएका व्यक्ति पनि सही समयमा गलत निर्णय गरी लुट्न पुग्छन् र जीवन भर पछुताउँछन् । अहिले त्यस्तै भएको छ । लुट्ने काम मा बालबालिका, युवा युवती , वृद्ध, शिक्षक, कर्मचारी, नेता, अभियन्ता , प्रदर्शनकारी सक्रिय भए ।कति व्यक्तिहरू एक छिनको गलत निर्णयले पछुताउनु परेको छ । लुटपाट चलिरहेको छ । लुट्नु खराब कार्य हो भन्ने मानिस दोधारमा पर्दा पर्दै कुदी हाल्छ अनि समान लिई हाल्छ । यो किन हुन्छ त भनेर मलाई हेर्न बुझ्न मन लाग्यो । मेरो बुझाई र पढाइ ले केही कारण हरू यस्तो रहेछ भन्ने लाग्यो ।
१. पैसा को महत्त्व: अहिलेको समाजमा सब भन्दा महत्त्वपूर्ण कुरा पैसा भएको छ । लुटपाट गर्नेहरूले एक छिनको गलत निर्णयमा पैसा वा पैसाको महत्त्व ज्यादा देख्छन् । जुन बिना लगानी, परिश्रम सजिलै प्राप्त हुन्छन् लुट्न गएको थाहै पाउदैनन ।
२. मैले मात्र लुटेको हो र ? लुटपाट भइरहेको ठाउँमा उभिनेले प्रत्येकले स्टोरमा गएर समान ल्याएको देख्छ अनि उसलाई लाग्छ सब का सब लुटी रहेका छन् अब मैले मात्र लुट्ने हो र ? नैतिक दोधार अब एक छिनलाई बन्धकमा पार्यो अनि लुट्न कुदी हाल्यो ।
३. प्रतिस्पर्धा: लुटपाटको बेला कसले कति बहुमूल्य समान ल्यायो भन्ने कुरा लुटपाट बाहिर बस्नेले हेरिरहेको हुन्छ । सबले लिएर आएको र त्यसको नियन्त्रण नभएको देखेपछि नैतिक दोधारमा बसेको व्यक्तिलाई दिमाग भित्र एक्कासि लुट्ने सोचले पेली हाल्छ । अनि उ लुट्न कुदी हाल्छ । यो प्रतिस्पर्धा मा कोही ठूलै समान नि बोकेको देखियो सोफा, कुर्ची, टेबल अनि धेरै ।
४. मैले नगरेर लुटपाट नहुने हो र ? थुप्रै लुटपाटको बेला नैतिक दोधारमा भएको व्यक्तिको मनमा के आउँछ भने म यहाँ उभिएर के लुटपाट भएको छैन र ? म जाँदैमा के हुन्छ ? के यो मैले रोक्न सक्छु र ? आखिर सबले समान ल्याएकै छन् भन्ने सोचले नैतिक दोधारलाई एक छिन बिर्सिन्छ लुट्ने सोच ले दोधार लाई छेउ ल्याइदिन्छ अनि लुट्न कुदी हाल्छ ।
५. मैले कसैलाई हानि गरेको छैन यो ठुलो कम्पनी हो: प्रदर्शन का बेला लुटपाट गर्नेहरू खासै अरूलाई हानि गर्दैनन् अनि उनीहरूलाई लाग्छ मैले लुटेको कुराले यो धनी कम्पनी वा व्यक्ति कहाँ कङ्गाल भई हाल्छ भन्ने सोचले उसको नैतिक दोधारलाई बन्धक बनाई हाल्छ । लुट्न उद्वेलित भई हाल्छ ।
६. डुक विश्व विद्यालयका प्रोफेसरको एउटा भनाइ याद आयो उनको खोजले के देखायो भने प्रत्येक व्यक्ति भित्र ठग्ने लुट्ने प्रवृत्ति भएकै हुन्छ । हामी आफूलाई निष्ठावान् भन्ठान्छौ तर हामीलाई त्यही निष्ठा देखाएर लुट्ने चाहना पनि हुन्छ । यसको मतलब निष्ठावान् भन्नेले समाजले उसलाई लुट्छ भन्ने पत्याउँदैन त्यसैले लुटेको कसैलाई थाहा हुन्न भन्ने सोचले उसको नैतिक दोधारलाई बन्धक बनाई हाल्छ । लुट्न उद्वेलित भई हाल्छ ।
७. मैले मेरो लागि लुटेको होइन: लुट्नेले कहिले काहीँ अर्कोको लागि लुटेको हो भनी आफ्नै नैतिकतालाई बन्धक बनाउँछ । छोरा छोरीको लागि, श्रीमतीको लागि, बाबु आमा खुसी होलान् साथी भाइ दङ्ग पर्लान् भनेर लुट्न त मन हुन्न तर अर्कोको लागि लुट्नु खासै ठुलो कुरा हुन्न भन्ने सोचले लुटी हाल्छ ।
सामान्य अवस्था लुट्ने कार्य भन्दा प्रदर्शन का बेला लुट्ने प्रवृत्ति एक सेकेन्ड को मानसिक निर्णय हो जस्तो लाग्छ । नैतिकता ले सही गलत छुट्टाउने पाठ सिकाउँछ तर कहिले कही त्यस्तो अवस्था आउँछ मानिस त्यो दोधार बाट बाहिर निस्की लुट्न पुगी हाल्छ । लुट्न जाने या लुट्न रोक्ने अवस्था मा मानिस यस्तै अवस्था मा पर्ने गर्दछ ।यो अवस्था लाई नैतिकता को दोधार भनिन्छ । भ्रष्टाचार को घोर विरोध गर्ने छोरा छोरी ले एक दिन बाबु ले अथाह सम्पत्ति जोडेको भ्रष्टाचार गरेर हो भन्ने थाहा पाएपछि यस्तो दोधार मा पर्दछ । उजुर गरूँ बाबु वा आमा वा आफन्त जेल जान्छन् नगरूँ आफू नै भ्रष्टाचार को अभियन्ता । धेरै भ्रष्टाचार गर्ने बाबु आमा का छोरा छोरी, कार्यकर्ता आफन्त यस्ता दोधार मा परेका हुन्छन् ।
त्यो लुटपाट म, तपाई, हामी जो सुकै भए नि लुट्न सक्ने सम्भावना पक्का छ यदि त्यो लुटपाट को ठाउँ मा कोही हुन्छ भने । किनकि हामीले नसोचेको व्यक्ति लुट्न कुदेको हुन्छ | किनकि लुट्ने प्रवृत्ति प्रत्येक व्यक्ति मा हुन्छ चाहे त्यो प्रदर्शनका बेला होस्, न्याय दिनका लागि होस् , वकिल ले पेसा गर्दा होस्, कर्मचारी ले सेवा गर्दा होस्, व्यापारी ले व्यापार गर्दा होस् या जुनसुकै बेला होस् | तर त्यस्तो बेला लुट्ने वा नलुट्ने भन्ने दोधार मा प्रत्येक व्यक्ति हुन्छ । लुट्छ एक छिन को गलत निर्णय ले ।
तर राम्रो कुरा के हो भने नैतिकता भएको व्यक्ति ले घर मा गई पक्का पनि पश्चात्ताप गर्छ अनि समान फर्काउँछ लुटेपछि । हामीले देखेका छौ अदालत ले दोषी नगर्दा समेत अपराधीले आफ्नै घरलाई जेल बनाई आफै कैदीको जीवन बिताई सजाय काटेको पनि छ जब नैतिकताले सताउँछ । त्यसैले चोरी र लुटपाटमा फरक के देखिन्छ भने चोर्ने ले फिर्ता गरेर उन्मुक्ति पाउँदैन । लुट्नेले फिर्ता गरे समाजले प्रशंसा गर्छ, चोरी को दाग लाग्दैन । अहिले सरकार वा अन्य निकायले लुट्नेहरूसँग समान फिर्ता त्यसै कारणले मागेको हो । त्यसैले जो जसले लुटपाट गरे धेरैले फिर्ता गर्दैछन । यो नेपालीले देखाएको अर्को सराहनीय काम हो किनकि नेपालीहरू कानूनसँगै आफैलाई पनि नैतिकता बाँधेर राख्न सक्छन् भन्ने देखाएका छन् । आफैले गरेको फोहोर आफै सफा गर्छन् भन्ने देखाएका छन् त्यसैले त भारतका प्रधानमन्त्रीले नेपालीको यो व्यवहारलाई खुलेरै प्रशंसा गरेका छन् ।
यो लेख मार्फत म नेपाली दाजु भाइलाई के आग्रह गर्छु भने आफूले अज्ञानता, भूल बस वा सार्वजनिक सम्पत्ति सुरक्षित गर्न लुट्नु भएको वा संरक्षित गर्नु भएको छ भने फिर्ता गर्नुहोस् आफूलाई जीवन भर लाग्ने दागबाट मुक्त गर्नुहोस् ।

