ललितपुर, ३ असोज । संविधान दिवसका अवसरमा बाढीपहिरो प्रभावितहरूको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्याली सम्पन्न गरेको छ ।
“Ride for Flood Victims, Rise for Humanity” (बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता) भन्ने नाराका साथ आयोजित र्यालीको उद्घाटन महालक्ष्मी नगरपालिका, ललितपुरका प्रमुख हरिगोविन्द श्रेष्ठले गर्नुभएको थियो । र्यालीमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीका साथै विभिन्न क्षेत्रका साइकलप्रेमी तथा स्थानीय जनसमुदाय गरी ३०० भन्दा बढी साइक्लिस्टको सहभागिता थियो । र्याली व्यवस्थापनमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहयोग गरेका थिए भने मार्ग (रुट) मा १५० भन्दा बढी स्वयंसेवक खटिएका थिए ।

कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय र समुदायको सहभागिता प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यस्ता अभियानले युवापुस्तामा शारीरिक तथा मानसिक सक्रियतासँगै सामाजिक उत्तरदायित्व र वातावरणप्रतिको संवेदनशीलता बढाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो । साथै, संविधानले नै देशलाई सही दिशा र गति दिने भएकाले विद्यार्थी र अभिभावकलाई यस्ता कार्यक्रममार्फत संविधानको महत्त्व बुझाउन आवश्यक रहेको र महालक्ष्मी नगरपालिकामा पहिलोपटक आयोजित यस कार्यक्रमले आगामी वर्षहरूका लागि उत्साह थपेको धारणा व्यक्त गर्नुभयो ।

विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाशराज पाण्डेले बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनुका साथै साइक्लिङलाई सामाजिक उत्तरदायित्व, व्यवहारिक शिक्षा र वातावरण संरक्षणसँग जोडेर अभियानका रूपमा अघि बढाउन र्याली आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले र्यालीको दर्ता शुल्कबाट सङ्कलित रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने र विद्यालयले यसअघि नै ललितपुर प्याब्सनमार्फत भोटेकोशी बाढीप्रभावितहरूलाई ५१ हजार रुपैयाँ सहयोग गरिसकेको बताउनुभयो ।
इमाडोलस्थित काठमाडौँ शिक्षालय परिसरबाट सुरु भएको र्याली कृष्ण मन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टिकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार, शङ्खदेवी मन्दिर, विष्णुडोल, स्कुलचोक र महालक्ष्मी नगरपालिका हुँदै पुनः विद्यालय परिसरमै पुगेर समापन भएको थियो । २० र २५ किलोमिटर दूरीका दुई विधामा आयोजित र्यालीले महालक्ष्मी क्षेत्रका विभिन्न स्थानलाई समेटेको थियो ।

आफ्ना आरोहण अभियानमा जलवायु परिवर्तनका विषयमा नियमित आवाज उठाउँदै आउनुभएका अध्यक्ष पाण्डेले विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) का कारण नेपालमा वातावरणीय जोखिम बढ्दै गएकाले विद्यालय तहबाटै वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणबारे चेतना जगाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार काठमाडौँ शिक्षालयले अब प्रत्येक वर्ष संविधान दिवसका दिन यस साइकल र्यालीलाई स्वास्थ्य, वातावरण र सामाजिक सेवासँग जोडेर वार्षिक अभियानका रूपमा निरन्तरता दिनेछ ।
शिक्षालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको समुद्घाटन समारोहमा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, वडा नं १ का अध्यक्ष छिरिङ लामा, वडा नं ४ का अध्यक्ष अमृत केसी, नगर शिक्षा शाखा निर्देशक चिरञ्जीवी पौडेललगायत वडा सदस्यहरू र व्यावसायिक साइक्लिङ खेलाडीहरूको उपस्थिति थियो । सहभागीहरूलाई विद्यालयका तर्फबाट टी-सर्ट, पदक तथा सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

