काठमाडौँ । मधेश प्रदेशमा आज नयाँ सभामुख चयनका लागि निर्वाचन हुँदैछ । सभामुख पदका लागि सत्ता पक्ष र प्रतिपक्षबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएका छन् ।
सातदलीय गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादवलाई सभामुखको उम्मेदवार बनाएको छ । यता प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्रिलोकी प्रसादलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।
यसअघि पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै सातदलीय गठबन्धनले तत्कालीन सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते दुई तिहाइ बहुमतका आधारमा पदबाट हटाएको थियो । सोही निर्णयपछि रिक्त सभामुख पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचनको प्रक्रिया सम्पन्न गरिनेछ । निर्वाचनको नतिजाले मधेश प्रदेशको आगामी राजनीतिक समीकरण र सदन सञ्चालनको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

