नेपालको कानूनी, राजनीतिक, र सामाजिक क्षेत्रका एक अग्रणी व्यक्तित्व तथा आदर्श नेता, पूर्वसभामुख र वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको आज निधन भएको छ।
दमननाथ ढुंगानाको जन्म १९८६ सालमा काभ्रेमा भएको थियो। कानूनमा स्नातक ढुंगानाले अधिवक्ताका रूपमा धेरै चर्चित मुद्दाहरूमा वकालत गर्नुभएको थियो। उहाँको कानूनी क्षमताले नेपालको न्यायिक इतिहासमा गहिरो प्रभाव पारेको छ। सामाजिक न्याय, महिला अधिकार, र मानवअधिकारका क्षेत्रमा उहाँको अग्रणी भूमिकाले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि प्रशंसा बटुलेको थियो। कानूनी क्षेत्रको लामो अनुभवका साथै उहाँले नेपालको राजनीतिक इतिहासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
दमननाथ ढुंगाना आफ्नो सिद्धान्तमा अडिग र निष्ठावान नेताका रूपमा परिचित हुनुहुन्थ्यो। राजनीतिक संघर्षका कठिन समयमा पनि उहाँले कहिल्यै आफ्नो आदर्शबाट सम्झौता गर्नुभएन। २०४६ को जनआन्दोलन र त्यसपछिका लोकतान्त्रिक आन्दोलनहरूमा उहाँको सक्रियताले नेपालको राजनीतिक परिर्वतनमा टेवा पुर्याएको थियो। उहाँ २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुनुका साथै, आम निर्वाचन २०४८ मा काठमाडौँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । ढुंगाना २०४८ असार ९ गते प्रतिनिधिसभाको सभामुखको रूपमा चयन हुनुभएको थियो। उहाँको सभामुखकालमा नेपालको संसदीय प्रणालीलाई संस्थागत गर्न र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न महत्वपूर्ण पहल गरिएको थियो।
ढुंगाना एम्नेस्टी इन्टरनेशनलका संस्थापक कार्यकारी सदस्य समेत हुनुहुन्थ्यो । २०४६ सालमा उहाँले नेपालको संविधान सिफारिस आयोगका सदस्यको रूपमा योगदान गर्नु भएको थियो। सन् १९८४ मा सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष, सन् १९७१ देखि ७३ र १९७६ देखि ७९ मा नेपाल बार एशोसिएसनका महासचिव, नेपाल कानुन समाजका संस्थापक कार्यकारी सदस्य, र सन् १९९७ देखि ९८ सम्म ट्रान्सपेरेन्सी इन्टरनेशनल (नेपाल च्याप्टर) का अध्यक्षको रूपमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।
ढुंगाना सांसद, राष्ट्रिय शान्ति वार्ताको परामर्शदाता तथा पर्यवेक्षक र सन् १९९० को दशकको मध्यदेखि नेपालमा नयाँ लोकतान्त्रिक संविधान मस्यौदा तयार गर्न संविधानसभा स्थापनाका प्रमुख वकालतकर्ता पनि हुनुहुन्थ्यो । नेपाल ट्रान्जिसन टु पिस (NTTP) पहलका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो ।
कानूनी क्षेत्रमा ढुंगानाले आफ्नो उत्कृष्ट व्यावसायिकता प्रस्तुत गर्दै थुप्रै ऐतिहासिक मुद्दाहरूमा नेतृत्व दिनुभएको थियो। उहाँले न्याय र समानताका पक्षमा उभिएर थुप्रै पीडित र उपेक्षित वर्गको न्याय प्राप्तिका लागि आवाज उठाउनुभएको थियो।
सामाजिक रूपमा पनि उहाँ अत्यन्तै सक्रिय रहनुभएको थियो। सामाजिक न्याय, मानव अधिकार, र दिगो विकासका क्षेत्रमा उहाँको योगदान उल्लेखनीय छ। उहाँको निधनले देशले एक असल व्यक्तित्व गुमाएको छ। दमननाथ ढुंगानाको नाम नेपालको कानूनी र राजनीतिक इतिहासमा सदैव अमर रहनेछ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौँ। साथै, शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।