काठमाडौं । फौजदारी अपराधको अनुसन्धानका क्रममा सङ्कलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा चुहावट भइरहेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले कडा कारबाही गर्ने चेतावनी दिएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले २०८३ साल माघ १३ गते जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानका विषयसँग जोडिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानून तथा प्रहरी आचरणविपरीतको गम्भीर कसुर भएको उल्लेख छ।
विज्ञप्तिअनुसार विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानको दायरामा रहेका विषयसँग सम्बन्धित गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा चुहावट हुँदै आएको देखिएकाले प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको हो। यस्ता गतिविधिले शङ्कित व्यक्तिहरूको वैयक्तिक गोपनीयतामा असर पार्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता, संवेदनशीलता र नेपाल प्रहरीको साङ्गठनिक गरिमामा समेत आँच पुग्ने विज्ञप्तिमा जनाइएको छ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ७१ मा रहेको आचरणसम्बन्धी व्यवस्था उल्लङ्घनको कसुरमा नियम १०९ र नियम ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ को उपदफा (३), (४) र (५) मा गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र त्यस्ता कार्यमा दुरुत्साहन गर्नेसम्बन्धी कानूनी व्यवस्था रहेको स्मरण गराएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिमाथि आवश्यक विभागीय तथा कानूनी कारबाही हुन सक्नेछ।
प्रधान कार्यालयले नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन, सार्वजनिक नगर्न तथा त्यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन निर्देशन दिएको छ। साथै, प्रहरी कर्मचारीलाई आफ्नो पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन तथा साङ्गठनिक जिम्मेवारीप्रति सचेत र जिम्मेवार रहन अनुरोध गरिएको छ।
कुनै पूर्वप्रहरी कर्मचारी वा बहालवाला प्रहरी कर्मचारी यस्ता गैरकानूनी तथा अनुशासनविपरीतका गतिविधिमा संलग्न रहेको अथवा त्यस्तो कार्यलाई प्रोत्साहन, सहयोग वा सहजीकरण गरेको पाइएमा प्रचलित कानून तथा सङ्गठनको नीतिगत व्यवस्थाबमोजिम आवश्यक छानबिन गरी संलग्न व्यक्तिमाथि विभागीय तथा कानूनी कारबाही गरिने केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ।


