मुद्दा विचाराधीन रहेकै अवस्थामा परिषद्को कार्यक्रममा पुगे प्रधानन्यायाधीश शर्मा

काठमाडौँ। सर्वोच्च अदालतमा योग्यता सम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाल कानून व्यवसायी परिषद्का अध्यक्ष डा. नारायण दत्त कडेलले आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सहभागी हुनुभएको छ।

परिषद्को ३३ औँ स्थापना तथा आत्ममूल्याङ्कन दिवसका अवसरमा बुधबार काठमाडौँको बबरमहलस्थित कार्की ब्यान्क्वेटमा आयोजना गरिएको कार्यक्रममा प्रधानन्यायाधीश शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको हो। कानून व्यवसायीहरूले न्यायाधीश आचारसंहिता र न्यायिक निष्पक्षताको प्रश्न उठाउँदा-उठाउँदै पनि प्रधानन्यायाधीश कार्यक्रममा उपस्थित हुनुभएको सार्वजनिक तस्बिरहरूले पुष्टि गरेका छन्।

महान्यायाधिवक्ता समेत रहनुभएका परिषद् अध्यक्ष डा. कडेलको नियुक्ति कानूनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा दायर रिट मुद्दा हाल विचाराधीन छ। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही मुद्दाका प्रतिवादी/झगडियाले आयोजना गरेको सार्वजनिक कार्यक्रममा प्रधानन्यायाधीश नै प्रमुख अतिथि बनेर पुगेपछि कानूनी वृत्तमा आचारसंहिता उल्लङ्घनको बहस थप चर्किएको छ।

अध्यक्ष कडेलको योग्यताविरुद्ध परेको पहिलो रिटमा सर्वोच्च अदालत प्रशासनले गरेको दरपीठ सदर गर्ने आदेश स्वयं तत्कालीन न्यायाधीश (हालका सम्माननीय प्रधानन्यायाधीश) शर्माले नै गर्नुभएको थियो। सोपछि दायर भएको अर्को मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ।

सम्बन्धित समाचार

ताजा न्यूज