काठमाडौँ । मुलुकका पूर्वप्रधानमन्त्रीहरूसँग निकट रहेर काम गरेका पूर्वस्वकीय सचिवहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन अघि बढाएको छ। अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वस्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल तथा उनका पति जीवन आचार्य र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि छानबिन तीव्र पारेको हो।
अख्तियारसम्बद्ध उच्च स्रोतका अनुसार अनुसन्धानका क्रममा उनीहरू र उनीहरूका परिवारका नाममा रहेका बैंक खाता, घरजग्गा तथा सेयर लगानीको वैधानिक स्रोत खुलाउन ताकेता गरिएको छ। पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवालाई अख्तियारले सम्पत्तिको विस्तृत विवरण पेस गर्ने १३ पाने फारम भराइसकेको छ। आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर उनको पारिवारिक सम्पत्तिको लगत विवरण मगाउने काम चलिरहेको छ।
त्यसैगरी, पूर्वप्रधानमन्त्री दाहालको पछिल्लो कार्यकालमा स्वकीय सचिव रहेकी गङ्गा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिमाथि पनि एकसाथ अनुसन्धान अघि बढेको छ। कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका आचार्य र दाहालको सम्पत्ति छानबिन प्रक्रिया भानु देउवाको तुलनामा केही अगाडि बढेको र सम्पत्तिको स्रोत खुलाउन थप ताकेता भइरहेको अख्तियार स्रोतले जनाएको छ। आयोगले यसअघि नै पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई टङ्गालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरण फारम भराई अनुसन्धानको दायरामा ल्याइसकेको छ।

