उजुरीकर्तासँग छलफल सकियो, दिउँसो साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको सुनुवाइ हुँदै

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा परेका उजुरीहरूका सम्बन्धमा उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज जेठ ५ गते जारी संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत डा. शर्माविरुद्ध दर्ता भएका कुल १६ वटा उजुरीमाथि उजुरीकर्ताहरूलाई प्रत्यक्ष राखेर छलफल गरिएको हो। सो छलफलका क्रममा उजुरीकर्ताहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्माको शैक्षिक योग्यता तथा कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएका छन्।

समितिमा भएको छलफलका क्रममा मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको शैक्षिक प्रमाणपत्र नै समितिमा मगाएर त्यसको विस्तृत अध्ययन गरिनुपर्ने जोडदार माग राख्नुभएको छ।

उजुरीकर्ताहरूसँगको आवश्यक बुझ्ने र छलफल गर्ने यो पहिलो चरणको कार्यसूची सकिएसँगै अब आजै दिउँसो साढे १ बजेदेखि प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मामाथिको मुख्य सुनुवाइ प्रक्रिया सुरु हुनेछ, जहाँ उनी आफैँ उपस्थित भएर सांसदहरूका प्रश्नको सामना गर्नेछन्।

सम्बन्धित समाचार

ताजा न्यूज