काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ र अब समितिबाट केहीबेरमै अन्तिम निर्णय आउने भएको छ। सिंहदरबारमा भएको सुनुवाइका क्रममा संसदीय सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई विभिन्न समसामयिक र प्रक्रियागत विषयमा प्रश्नहरू सोधेका थिए।
उनले सांसदहरूले उठाएका सम्पूर्ण प्रश्नहरूको जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पुरक प्रश्नका लागिसमेत सदस्यहरूलाई थप समय उपलब्ध गराउनुभएको थियो। तर, सदस्यहरूबाट कुनै पनि पुरक प्रश्न नआएपछि सभापति श्रेष्ठले सुनुवाइ सकिएको औपचारिक जानकारी गराउनुभयो।
सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माले न्यायालयभित्र कुनै पनि प्रकारको राजनीतिक वा आन्तरिक गुटबन्दी नरहेको स्पष्ट दाबी गरे। “सर्वोच्चमा गुटबन्दी केही पनि छैन,” आफूमाथि उठेका सवालहरूको प्रष्टीकरण दिँदै उनले सुनुवाइका क्रममा भने। यसैगरी, पछिल्लो समय उनीविरुद्धको रिट दर्ताको सन्दर्भलाई लिएर समितिमा उठेको प्रश्नको पनि उनले दृढतापूर्वक खण्डन गरे। अदालतमा बार र बेन्चबीच कुनै पनि द्वन्द्व सिर्जना नभएको स्पष्ट पार्दै उनले भने, “बार र बेन्चको द्वन्द्व भएको छैन। बार र प्रशासनमा केही भएको हो कि जस्तो मात्र देखिन्छ।”
सुनुवाइका क्रममा शर्माले आफूमाथि लाग्दै आएको ‘नेपोबेबी’ को आरोपको समेत खुला खण्डन र प्रतिवाद गरे। आफू न्याय क्षेत्रमा कसैको निगाहमा नभई विशुद्ध आफ्नै व्यक्तिगत योग्यता र क्षमताकै आधारमा अगाडि बढ्दै आएको उनको जिकिर थियो। पारिवारिक नाता सम्बन्ध हुनु नै नियुक्तिका लागि बन्देज हुन नसक्ने तर्क गर्दै प्रस्तावित प्रधानन्यायाधीश शर्माले जवाफ दिए, “पारिवारिक नाता भएकाले मात्रै नियुक्ति पाउन हुँदैन भन्ने छैन।” सुनुवाइको सम्पूर्ण प्रक्रिया सकिएसँगै अब समिति उनलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय सार्वजनिक गर्ने तयारीमा जुटेको छ।

