उमागौरी सहकारी प्रकरणमा उच्च अदालत विराटनगरले अन्जलासहित चार जनासँग माग्यो एक–एक करोड धरौटी

मोरङ । मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी कृषि सहकारीको करोडौँ रुपैयाँ हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालतको आदेशलाई उल्टाउँदै अञ्जना कोइरालासहित चार जना प्रतिवादीसँग १–१ करोड रुपैयाँ धरौटी माग गरेको छ । उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।

यसरी धरौटी माग गरिएकामा एमाले सांसद तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला, रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बाँस्कोटा रहेका छन्। जिल्ला अदालत मोरङले १० लाख धरौटीमा छाड्न दिएको आदेशलाई बदर गर्दै उच्च अदालतले कोइरालासँग १ करोड धरौटी माग गरेको हो । अन्य प्रतिवादीहरू रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बास्कोटाको हकमा पनि १–१ करोड रुपैयाँ धरौटी माग गरेको छ । २२ करोड ४८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा २६ जनाविरुद्ध मुद्दा दायर गरिएको यस प्रकरणमा सहकारीका तत्कालीन अध्यक्ष शम्भु प्रसाद रौनियार भने पहिले नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

यसअघि जिल्ला अदालत मोरङले अन्जलालाई १० लाख रुपैयाँ, ज्योति बाँस्कोटालाई ५ लाख रुपैयाँ धरौटीमा छुट दिएको थियो। उच्च अदालतको आदेशसँगै अन्जलाले थप ९० लाख रुपैयाँ र बाँस्कोटाले ९५ लाख रुपैयाँ थप गर्नुपर्ने भएको छ।

उच्च अदालतका रजिस्ट्रार जगदिशप्रसाद भट्टका अनुसार धरौटी रकम बुझाउन शुक्रबार आदेश जारी हुनेछ। “धरौटी थप नगरे थुनामा जानुपर्ने हुन्छ,” उनले बताए।

उक्त प्रकरणमा सुमन लोहनी, मनोजकुमार सोनी र लक्ष्मी कार्कीलाई जिल्ला अदालतले क्रमशः २ लाख, १ लाख र ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो। तिनको धरौटी रकम भने यथावत राखिएको छ।

अन्जला कोइराला लामो समय फरार रहेकी थिइन् र पुस २४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेकी थिइन्। त्यतिबेला १० लाख रुपैयाँ धरौटी बुझाएर उनी बाहिरिएकी थिइन्। सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्दै धरौटी बढाउन र मुद्दा थुनामै राखेर अगाडि बढाउन माग गरेको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज