काठमाडौं । कोशी प्रदेश सरकारले आर्थिक ऐन २०८३ मार्फत सामुदायिक वनमाथि लगाएको करको विवाद समाधान नभएपछि सामुदायिक वन उपभोक्ता महासंघ नेपालको कोशी प्रदेश महासंघले सचिवालय र जिल्ला महासंघ अध्यक्षहरूको संयुक्त बैठक आह्वान गरेको छ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कोशी प्रदेश महासंघ सुनसरीका अध्यक्ष तुलसी संग्रौलाले २०८३ मंसिर १३ गते जारी गरेको पत्रअनुसार आन्तरिक उपयोगतर्फ ५ प्रतिशत र बाह्य बिक्रीतर्फ १५ प्रतिशत कर लगाइएको विषयमा मुख्यमन्त्री तथा प्रदेश सरकारका प्रतिनिधिसँग पटकपटक वार्ता र छलफल भए पनि समाधान निस्कन नसकेपछि आगामी कार्ययोजना तय गर्न बैठक बोलाइएको हो. बैठक २०८३ मंसिर १६ गते बिहान ८ बजे कोशी प्रदेश वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र तरहरा, सुनसरीमा बस्ने तय गरिएको छ।
यसै सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष दीर्घबहादुर खत्रीले सरकारी निकाय र वन प्रशासनको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। “सरकार र डिभिजन वन कार्यालयकाे ज्यादतिले सिमा नाघेकाे छ । सरकारी कर्मचारीकाे स्वच्छाचारिता बढेका कारण सामुदायिक वन अभियान संकटमा छ ।”
पत्रमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरका जिल्ला महासंघ अध्यक्ष तथा कोशी प्रदेश महासंघ सचिवालयलाई उपस्थित हुन अनुरोध गरिएको छ. प्रदेश सरकारका प्रतिनिधिसँग वार्ता गर्दा सरकारी दलाल प्रवृत्ति हाबी भएको दाबी गर्दै कोशी प्रदेश महासंघले साझा रणनीति बनाउने जनाएको छ ।
वन तथा निजी वन व्यवस्थापनमा देखिएको समस्याबारे अध्यक्ष खत्रीले थप भनेका छन्, “निजि बन सरकारी दलालहरुका कारण दाेहन भई रहेकाे छ । सवालहरु धेरै छन । महासंघका तर्फबाट जनताको जनजिविकाकाे जिविकाका सवालमा केन्द्रीकृत हुन आवश्यक छ ।”
नेपालको संविधानको अनुसूची ६ मा प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन प्रदेशको अधिकार सूचीमा राखिएको छ भने अनुसूची ८ मा स्थानीय तहको अधिकार सूचीअन्तर्गत स्थानीय कर तथा जलाधार र वन्यजन्तु संरक्षणसम्बन्धी व्यवस्था छ. वन ऐन, २०७६ को दफा ३१ बमोजिम गठन भएको उपभोक्ता समूहले स्वीकृत कार्ययोजना र प्रमाणपत्रअनुसार सामुदायिक वनको संरक्षण, उपयोग, व्यवस्थापन तथा वन पैदावारको मूल्य निर्धारण र बिक्री वितरण गर्न पाउने व्यवस्था छ. कोशी प्रदेश आर्थिक ऐन, २०८३ को व्यवस्था र संवैधानिक तथा संघीय वन कानूनी व्यवस्थाबीचको क्षेत्राधिकार र करको वैधतामाथि उठाइएको प्रश्नको टुंगो वार्ता, प्रशासनिक पुनरावलोकन वा अदालतको न्यायिक निरूपणबाट मात्र लाग्न सक्ने देखिन्छ।
बैठकले तय गर्ने आगामी कदम र प्रदेश सरकारसँग हुने सम्भावित संवादले कोशी प्रदेशका १४ जिल्लाका सामुदायिक वन उपभोक्ता समूहको वन पैदावार उपयोग, कर दायित्व र दैनिक जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव पार्नेछ।


