काठमाडौं । नेपाल राजपत्रमा प्रकाशित दलित समुदायको थर सूचीकरणसम्बन्धी सूचनाले समाजमा आत्मसम्मान, पहिचान र समानताको गहिरो बहस सतहमा ल्याएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले २०८३ असोज ८ गते नेपाल राजपत्र भाग ५ को खण्ड ७६, सङ्ख्या ३६ मा दलित समुदायको परिभाषा र थर सूचीकरणसम्बन्धी सूचना प्रकाशन गरेपछि विभिन्न समुदायमा थर जोडिएको विषयलाई लिएर तीव्र प्रतिक्रिया देखिएको छ। तर, थरको सूचीमा को पर्यो वा परेन भन्नेभन्दा महत्त्वपूर्ण प्रश्न यो हो कि हामीले मानिसको मूल्य र मर्यादा कुन आधारमा नापिरहेका छौँ?
राजपत्रको सूचनाअनुसार मन्त्रिपरिषद्ले दलित आयोगको सिफारिसमा दलित समुदायको परिभाषा तथा थर सूचीकरणसम्बन्धी विवरण स्वीकृत गरेको छ। पहाडी र मधेशी दलित समुदायका थरसँगै पहाडी दलित समुदायले प्रयोग गर्ने गैरदलितका थरसँग मिल्ने थरहरूको सूचीमा खडगी, शाही, श्रेष्ठ, शाक्य, ताम्रकार, देउला, नेपाल र नेपालीसहितका थर राखिएका छन्। सूचनामा आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुने व्यवस्था छ। नेपाल प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले सामाजिक सञ्जालमा राखेको टिप्पणीले यस विवादको संवेदनशील मर्म समातेको छ कि आफ्नै थर दलितसँग जोडिँदा आत्मसम्मानमा ठेस पुग्छ भने पुस्तौँदेखि अपमान र छुवाछूत भोगिरहेका नागरिकको मनमा कति गहिरो चोट परेको होला?
इतिहास र समाजशास्त्रीय अध्ययनहरूले थर र जातको विभेदले नागरिकलाई आफ्नै पहिचान लुकाउन बाध्य पारेका तीता यथार्थ देखाउँछन्। सन् १९९९ मा नर्वेको बर्गेन विश्वविद्यालयकी बेनेडिक्ट लीले काठमाडौं उपत्यकाको जातीय विभेदबारे तयार पारेको शोधपत्र ‘Born to be a Butcher?’ मा विभेद र हेपाइबाट बच्न एउटै परिवारका सदस्यले फरक थर लेखेका, नागरिकता र सेवा लिँदा पहिचान लुकाउनुपर्ने डर राखेका तथा सार्वजनिक र कार्यस्थलमा विभेद भोगेका प्रसङ्ग अभिलेख गरिएका छन्। कुनै समय आफ्नो थर लेख्न डराउनुपर्ने अवस्था रहेको समाजमा आज थर सूचीकरणलाई लिएर संवेदनशीलता देखिनु अस्वाभाविक होइन, तर आफ्नो थरको रक्षा गर्दा अरू समुदायको आत्मसम्मानमा चोट पुर्याउने वा छुवाछूतको सोचलाई बल पुर्याउने प्रवृत्ति भने स्वीकार्य हुन सक्दैन।
नेपालको संविधानको धारा २४ ले छुवाछूत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरेको छ र जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव कसूर र सजाय ऐन, २०६८ ले सार्वजनिक तथा निजी क्षेत्रमा हुने छुवाछूतलाई कानूनबमोजिम दण्डनीय कसूर मानेको छ। कानूनी रूपमा समानताको प्रत्याभूति भए पनि व्यवहारमा पुरातन सोच र विभेदकारी संस्कार अझै जीवित रहनु चिन्ताको विषय हो। थर सूचीकरणमा कुनै प्राविधिक वा तथ्यगत त्रुटि भए सम्बन्धित निकाय र कानूनबमोजिम सच्याउने बाटो खुला रहन्छ, तर त्यसैको आडमा कुनै थर वा समुदायलाई होच्याउने वा हीन ठान्ने मानसिकता त्याग्नुपर्छ।
थरको सूचीमा नाम जोडिएकै आधारमा कसैको प्रतिष्ठा घट्दैन, बरु विभेदकारी सोच र व्यवहारले समाजको प्रतिष्ठा घटाउँछ। नागरिकको पहिचान र सम्मान थरबाट होइन, समानता, न्याय र मानवताबाट स्थापित हुनुपर्छ। त्यसैले आज बदल्नुपर्ने थर होइन, विभेदकारी सोच हो।

