अनिरुद्ध प्रसाद सिंह स्मृति मूट कोर्ट प्रतियोगिता हुँदै

काठमाडौं । पूर्व प्रधानन्यायाधीश अनिरुद्ध प्रसाद सिंहको स्मृतिमा कक्षा ११ र १२ मा कानून अध्ययनरत विद्यार्थीहरूका लागि राष्ट्रियस्तरको मूट कोर्ट प्रतियोगिता आयोजना हुने भएको छ। जेभियर कलेज अफ इन्टरडिसिप्लिनरी स्टडिजले फायरफ्लाई फाउन्डेसनसँगको सहकार्यमा मंसिर २६ र २७ गते उक्त प्रतियोगिता सञ्चालन गर्ने भएको हो।

देशभरका विभिन्न शैक्षिक संस्थामा माध्यमिक तहमा कानून विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। कार्यक्रममा न्यायिक तथा कानूनी क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहनेछ।

मूट कोर्ट अभ्यासले कानूनका सैद्धान्तिक व्यवस्थालाई व्यावहारिक बहस र मुद्दाको विश्लेषणसँग जोड्ने अवसर प्रदान गर्छ। विद्यार्थीहरूले कानूनी अनुसन्धान, तथ्य तथा प्रमाणको मूल्याङ्कन, कानूनी तर्कको प्रस्तुति र वकालत सीप विकास गर्ने मौका पाउनेछन्। संविधान र कानूनले प्रत्याभूत गरेका हक, कर्तव्य र विधिको शासनलाई पाठ्यपुस्तकभन्दा बाहिर व्यावहारिक रूपमा बुझ्न यस्ता शैक्षिक गतिविधिले सघाउ पुर्‍याउँछन्।

यो प्रतियोगिता सर्वोच्च अदालतका संस्थापक प्रधान न्यायाधीश स्वर्गीय अनिरुद्ध प्रसाद सिंहको स्मरणमा आयोजना गर्न लागिएको हो। नेपालको न्यायिक इतिहासमा २०१३ सालमा सर्वोच्च अदालत स्थापना हुँदा सिंहले प्रधान न्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।

विद्यालय तहदेखि नै न्यायिक प्रक्रिया र कानूनी तर्कप्रति विद्यार्थीको बुझाइ बलियो बन्दा भविष्यमा कानूनी पेशा, न्याय प्रशासन र नागरिक सचेतनामा त्यसको सकारात्मक प्रभाव पर्नेछ। प्रतियोगिताको मिति तय भए पनि सहभागिताको दर्ता प्रक्रिया, छनोट विधि र बहसको विषयवस्तु सम्बन्धी थप विवरण आयोजकले सार्वजनिक गर्न बाँकी छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज