काठमाडौँ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रमका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै छ । दिवसका अवसरमा देशका शीर्ष नेता तथा विभिन्न राजनीतिक दलका प्रमुखहरूले शुभकामना सन्देश दिँदै संविधानको मर्म अनुसार सुशासन, विकास र संविधानको रक्षाका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनको राज्य कुनै सर्त नभई नेपाली राष्ट्रिय जीवनको आधार भएको बताएका छन् । संविधान दिवसका अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनाप्रति वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । सम्बोधनका क्रममा ऐतिहासिक आन्दोलनका सहिद, जेनजी सुशासन योद्धा तथा हालैको रसुवा–भोटेकोशी बाढीका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भ्रष्टाचार र दण्डहीनताको अन्त्य नै सुशासनको पहिलो शर्त भएको उल्लेख गरे । सरकारले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र डिजिटल सुशासन ब्लुप्रिन्टमार्फत जनता र युवाले मागेको सुशासन सुनिश्चित गर्ने दाबीसमेत उनले गरे ।
यसैबिच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी प्रहार भइरहेको आरोप लगाएका छन् । शुभकामना सन्देश जारी गर्दै नेता आङ्देम्बेले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गरी बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ कार्यदल गठन गर्न माग गरे । संवैधानिक अंगहरूको गरिमा घटाउने र व्यवस्थापिका एवं न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कदम स्वीकार्य नहुने भन्दै उनले संविधानको मर्ममाथि खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गर्दै राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । शुभकामना सन्देशमार्फत अध्यक्ष ओलीले संविधान निर्माणलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिमा राष्ट्रिय एकताको महत्त्व झनै बढेको स्मरण गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै कानून निर्माण र संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको जग बसालेको दाबी गरे ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानका उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्नु आजको मुख्य दायित्व भएको बताएका छन् । संविधान केवल कानुनी दस्तावेज मात्र नभई जनताको त्याग र बलिदानको प्रतिफल भएको उल्लेख गर्दै प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी र समान अवसरमा नागरिकको पहुँच पुर्याउन राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्नुपर्ने बताए । उनले जनअधिकार र संविधानलाई पछाडि फर्काउने प्रयासविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी १५ औँ महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताको जगेर्ना गर्ने सङ्कल्पका साथ अघि बढ्ने बताएका छन् । शुभकामना भिडियो सन्देश जारी गर्दै सभापति थापाले संविधानका मूल्य र मान्यतालाई नखुम्च्याई थप विस्तार गर्ने गरी आवश्यक संशोधन गर्ने स्पष्टता र साहस कांग्रेसले बोकेर आउने बताए । साथै, उनले पार्टीको आन्तरिक महाधिवेशनका क्रममा आपसी फाटो र तिक्तता नबढाई एकता कायम गर्न नेता तथा कार्यकर्ताहरूलाई आह्वानसमेत गरेका छन् ।

