ठगी आरोपमा पक्राउ परेका काङ्ग्रेस नेताले दिए राजीनामा

काठमाडौँ । काठमाडौँमा घर मिलाइदिने बहानामा साढे ७१ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका नेपाली काङ्ग्रेसका नेता एवं पूर्व राज्यमन्त्री तारामान गुरुङले पार्टीको अनुशासन समिति संयोजक पदबाट राजीनामा दिएका छन्। बैंकिङ कसुर र ठगी प्रकरणमा पक्राउ परी आठ दिन हिरासत बसेर छुटेपछि उत्पन्न चौतर्फी आलोचनाका बीच उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन्।

सिन्धुपाल्चोकको भोटेकोशीका रिन्जाङ्बु शेर्पा, दोर्जे शेर्पा र सोनुर्पु शेर्पासँग काठमाडौँमा घर मिलाइदिने आश्वासन दिई बैनाबापत कुल ७१ लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको जाहेरीका आधारमा ६२ वर्षीय गुरुङलाई भदौ १८ गते प्रहरीले पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतको अनुमतिमा जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित हिरासतमा राखी उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो। घर नबनाइदिएको र उनले दिएका चेकहरूसमेत बाउन्स भएपछि पीडितहरू कानूनी उपचारका लागि प्रहरीको शरणमा पुगेका थिए।

प्रहरी हिरासतमा परेको आठ दिनपछि पीडितहरूसँग जिल्ला सरकारी वकील कार्यालयमा रकम फिर्ता गर्ने सहमति र मिलापत्र गरी गुरुङ भदौ २६ गते रिहा भएका हुन्। काङ्ग्रेस अनुशासन समितिका संयोजक नै ठगी मुद्दामा पक्राउ परेको समाचार सार्वजनिक भएपछि पार्टीभित्र उनको कडा आलोचना भएको थियो।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापतिले गुरुङले अनुशासन समितिको संयोजक पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्। वि.सं. २०७३ सालमा स्वास्थ्य राज्यमन्त्री बनेका गुरुङले विवाद सार्वजनिक भएसँगै नैतिक दायित्व लिँदै पद छाडेका हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज