काठमाडौँ । विपद्को समयमा कानूनले निषेध गरेका गैरकानूनी कार्य गरेमा रु १ लाखसम्म जरिबाना, ६ महिनासम्म कैद वा दुवै सजाय हुने भएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४’ को दफा २४ को कानूनी व्यवस्थाबारे स्मरण गराउँदै निषेधित कार्य नगर्न सार्वजनिक अपिल गरेको छ।
मन्त्रालयका अनुसार संकटका बेला अफवाह फैलाएर सार्वजनिक रूपमा त्रास सिर्जना गर्ने, विपद्को नाममा चन्दा, राहत वा सहयोग सङ्कलन गरी दुरुपयोग गर्ने तथा सङ्कलित राहत आफूखुसी वितरण वा व्यक्तिगत लाभमा प्रयोग गर्ने कार्य कानूनविपरीत हुन्।
त्यस्तै बजारमा अप्राकृतिक रूपमा मूल्य वृद्धि गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गर्ने र राहत सामग्री वितरणमा अवरोध पुर्याउनेसमेत कानूनले निषेध गरेको छ। मन्त्रालयले संकटको मौका छोपेर कानूनले रोक लगाएका गतिविधि गरेमा कडा कानूनी कारबाही हुने भन्दै सबैलाई कानूनको पूर्ण पालना गर्न आग्रह गरेको छ।


