काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको अध्यक्षतामा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।
बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डर, बैठकलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने सम्बन्धमा छलफल भएको थियो।
बैठकले प्रतिनिधि सभाको आगामी बैठकका लागि भदौ १५, १६, १७, २२, २३ र २४ गतेको कार्यसूची तथा बैठक सञ्चालनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको छ।
त्यसैगरी, संसद् बैठकलाई मर्यादित बनाउने, महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने र संसदीय कामकारबाहीलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो।
कार्यव्यवस्था परामर्श समितिको उक्त बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो।

