काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा कारागार मुक्त भएका छन् । ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोके पनि तोकिएको अवधिभन्दा दोब्बर बढी समय कैद भुक्तान गरिसकेकाले उनलाई बुधबार रिहा गरिएको हो ।
अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार उनलाई रिहा गर्नका लागि मंगलबार नै कारागार प्रशासनलाई पत्र पठाइएको थियो ।
वि.सं. २०८१ असार १४ गते पक्राउ परेका झा विगत दुई वर्षदेखि सुन्धारास्थित कारागारमा थिए । अदालतको आदेशसँगै उनले अन्य निकायमा बाँकी रहेको कानुनी प्रक्रिया पूरा गरी रिहा हुने क्रममा छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा विचाराधीन रहेकाले सोहीअनुसारको प्रक्रिया पूरा गर्न उनलाई सम्बन्धित कार्यालयमा लगिएको हो ।

