काठमाडौँ । कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीको धरपकडबाट घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार प्रहरीले बल प्रयोग गर्दा घाइते भएका अन्सारीलाई हिरासतमा स्वास्थ्य समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । बुधबार अस्पतालबाट डिस्चार्ज भएसँगै उनी राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा प्रहरी हिरासतबाट पनि मुक्त भएका छन् ।
अन्सारीका कानुन व्यवसायीले उनलाई दिइएको यातना र सो घटनाको कानुनी उपचारका लागि आयोगको प्रतिवेदनलाई आधार बनाएर थप प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् । परिवारका अनुसार उनको उपचारको सम्पूर्ण खर्च परिवारले नै व्यहोरेको छ । यसअघि अन्सारीमाथि भएको प्रहरी दमनको विरुद्धमा मानव अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी र जेनजी अभियन्ताहरूले सडकदेखि सदनसम्म चर्को दबाब सिर्जना गरेका थिए ।

