काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा संलग्न उनीहरूलाई कसुरका आधारमा फरक-फरक सजाय निर्धारण गरेको हो।
नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ । ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा एकवर्ष ६ महिना कदै र १५ हजार जरिबाना र यही कसुरमा थप ६ महिना थप कैद गरिएको छ । यो सबै गर्दा उनले एकीकृत रुपमा ४ वर्ष कैद र ४० हजार जरिबाना हुने फैसला छ ।
त्यसैगरी नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो । उनलाई फरक-फरक मुद्दामा फरक फरक सजाय निर्धारण गरिएको छ । ठगीमा १ वर्ष कैद र १० हजार जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना निर्धारण गरिएको छ । राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ। त्यस्तै थप तीन महिना कैद तोकिएको छ। अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिबाना निर्धारण गरेको छ ।
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिबाना सजाय तोकिएको छ । उनलाई ठगी तर्फ २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार जरिबाना तोकिएको छ । त्यस्तै एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ ।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र सानु भण्डारीलाई समान ४ वर्ष कैद र ४० हजार जरिबानाको सजाय तोकेको छ । मुख्य योजनाकार मानिएका दुलाल र भण्डारीलाई सरकारी लिखत किर्ते कसुरमा २ वर्ष कैद र २० हजार जरिबाना, ठगीमा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना, राज्यविरुद्धको कसुरमा १ वर्ष कैद र १५ हजार जरिबाना सुनाएको छ ।
जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई समेत दोषी ठहर गरेको छ । अदालतले रिजाललाई दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो ।
अदालतले ५ जनालाई १ वर्ष कैद सजाय निर्धारण गरेको छ भने उनीहरूलाई १० हजार रुपैयाँ जरिबाना समेत तोकेको छ ।१ वर्ष कैद सजाय निर्धारण हुनेमा शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झा रहेका छन् ।
गत असार २३ गते अदालतले ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनाले सफाइ पाएका छन् र ८ जनाको मुद्दा मुल्तवीमा राखिएको छ।

