राहदानी छपाइ भ्रष्टाचार प्रकरण: महानिर्देशकसहित ५ जनालाई धरौटीमा रिहा गर्ने आदेश

काठमाडौं । विशेष अदालतले राहदानी छपाइमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबार उक्त आदेश दिएको हो।

अदालतको आदेशअनुसार महानिर्देशक तीर्थराज अर्याल र मणिन्द्रराज मल्लले जनही ५ लाख रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। त्यसैगरी, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीसँग ४ लाख, तथा सोमेश थापा र विपिन प्रसाईंसँग जनही ३ लाख रुपैयाँका दरले धरौटी माग गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा सात जनालाई नियन्त्रणमा लिई मुद्दा दायर गरेको थियो। जसमध्ये तुलसीप्रसाद आचार्य र राजाराम दाहालको हकमा भने अदालतले धरौटी नमागी साधारण तारेखमा छाड्ने आदेश दिएको छ। आचार्य गत असोज २७ गते नै विभागबाट सरुवा भइसकेको र दाहाल वैशाख ८ गते मात्रै विभागमा हाजिर भएकाले उनीहरूलाई अदालतले बोलाएको समयमा उपस्थित हुने गरी छाड्न आदेश दिएको हो। राहदानी छपाइ ठेक्कामा भएको अनियमितताका सम्बन्धमा अख्तियारले यसअघि नै १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज