काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेको गिरफ्तारीविरुद्ध सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले पाण्डेलाई किन थुनामुक्त नगर्ने भनी लिखित जवाफ पेस गर्न सरकारलाई निर्देशन दिएको हो।
आफ्नो श्रीमान्लाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै पाण्डेकी पत्नी निरु दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई गत बुधबार स्मार्ट सेल कम्पनीको सम्पत्ति लिलामीका क्रममा आपराधिक विश्वासघात गरेको अभियोगमा पक्राउ गरेको थियो। ऋण असुलीका लागि गरिएको लिलामी प्रक्रियामा गम्भीर कानूनी त्रुटी र नियतवश क्षति पुर्याएको दाबी प्रहरीको छ। यद्यपि, निवेदक पक्षले प्रचलित कानून र बैंकिङ कार्यविधिको पालना गर्दागर्दै पनि नियोजित रूपमा थुनामा राखिएको जिकिर गर्दै आएको छ। सर्वोच्चको यो आदेशसँगै अब सरकारले पाण्डेलाई हिरासतमा राख्नुपर्ने ठोस आधार र कारण अदालतसमक्ष स्पष्ट पार्नुपर्नेछ।

