काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज एक विशेष समारोहका बीच प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्मका लागि सदनको नेतृत्व गर्ने ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले नवनिर्वाचित जनप्रनिधिहरूलाई शपथ दिलाउनुभएको हो।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो, जसले गर्दा आजको बृहत् शपथ ग्रहण समारोहका लागि बाटो खुलेको थियो।
शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसदहरू आ–आफ्नो जातीय र क्षेत्रीय पहिचान झल्किने परम्परागत मौलिक पोशाकमा सजिएर पुगेका थिए। अधिकांशले नेपाली भाषामा शपथ लिए पनि केही सांसदहरूले भने आफ्नै मातृभाषामा शपथ लिएर मुलुकको भाषिक विविधतालाई सम्मान प्रकट गरेका छन्।


