काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले आचारसंहिता उल्लंघन गरेको भन्दै न्याय परिषद्मा उजुरी परेको छ। न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा आइतबारदेखि रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा बहस सुरु भएको थियो।
वरिष्ठ अधिवक्ताहरूले सुनुवाइको क्रममा न्यायाधीश पोखरेल विगतमा लामिछानेको कानुनी सल्लाहकार तथा वकिल रहिसकेको भन्दै यो मुद्दा हेर्न नमिल्ने तर्क गरेका थिए। सोही विषयलाई लिएर युवराज सफलले सोमबार न्याय परिषद्मा लिखित उजुरी दिएका हुन्।
उजुरीमा न्यायाधीश आचारसंहिता, २०७४ को व्यवस्था उल्लेख गर्दै पोखरेलले निष्पक्ष सुनुवाइ गर्न नसक्ने दाबी गरिएको छ। उजुरीकर्ता सफलले आचारसंहिता विपरीत न्यायाधीश सुनिलकुमार पोखरेल रवि लामिछानेको मुद्दामा सरिक भएकाले उहाँले निष्पक्ष सुनुवाइ गर्ने र न्याय दिने भन्ने कुरा सोच्न सकिन्न। त्यसैले परिषद्ले तत्काल हस्तक्षेप गरी चैत २ को सुनुवाइ एवं सम्पूर्ण काम, कारबाही रोकोस् भन्ने माग गरेका छन्”
तर, न्याय परिषद्ले भने उक्त उजुरी दर्ता गर्न अस्वीकार गरेको छ। परिषद्का सचिव जितेन्द्रबाबु थपलियाका अनुसार सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध पर्ने यस्तो उजुरी परिषद्को क्षेत्राधिकार भित्र पर्दैन। क्षेत्राधिकारको कारण देखाउँदै परिषद्ले निवेदन दर्ता गरेको छैन ।

