काठमाडौं । आठ दल मिलेर नेकपा समाजवादी बनाउने प्रयास भइरहेको छ । एमालेलाई एक्ल्याउदै अरु वामपन्थी एकजुट हुन लागेका हुन । यसमा झलनाथ खनाल पक्ष भने एकता प्रक्रियामा असन्तुष्ट भएकोले एक्लो र सानो मोर्चा मात्रै बन्ने देखिएको छ ।
जेन–जी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको मुद्दा र आन्तरिक विवादले कमजोर बनेका राजनीतिक शक्तिहरूबिच आगामी निर्वाचनकेन्द्रित एकता र ध्रुवीकरणको प्रयास तीव्र बनेको छ । सोहीअनुसार आन्तरिक कलहबिच माओवादी र एकीकृत समाजवादीलगायत आठ दल–समूहले आगामी १८ कात्तिकमा एकता घोषणा गर्ने तयारी गरेका छन् । साथै, माओवादी र एकीकृत समाजवादीभित्रका असन्तुष्ट समूहहरू पनि छुट्टै मोर्चाबन्दीमा उत्रिएका छन् ।
राष्ट्रिय सभागृह वा प्रज्ञा भवनमा औपचारिक कार्यक्रममार्फत ‘नेकपा समाजवादी’ नामक नयाँ पार्टी घोषणा गर्ने र चुनाव चिह्न तारा राख्ने तयारी छ । नयाँ पार्टीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक रहने तय भएको छ ।
एकतामा प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०, एमालेबाट अलग भएका प्रेमबहादुर सिंह र राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी, गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा विप्लवबाट अलग भएका चिरण सी समूह सहभागी हुनेछन् ।
एकीकृत पार्टीको विधान, राजनीतिक दस्ताबेज र घोषणापत्र तयार गर्ने जिम्मा माओवादीबाट देव गुरुङ, वर्षमान पुन र रेखा शर्मा तथा एकीकृत समाजवादीबाट डा। बेदुराम भुसाल, प्रमेश हमाल र प्रकाश ज्वालालाई दिइएको छ । ज्वालाका अनुसार एकता प्रक्रियाका सबै काम अन्तिम चरणमा पुगेका छन् र घोषणा सभापछि पार्टी दर्ता गरी २१ फागुनको निर्वाचनका लागि तयारी सुरु गरिनेछ ।
एकीकृत समाजवादीका वरिष्ठ नेता एवं वार्ता टोली संयोजक डा। बेदुराम भुसालले एकताको अन्तिम तयारीमा रहेको बताए । उनका अनुसार नयाँ पार्टीको नाम नेकपा समाजवादी र चुनाव चिह्न तारा हुनेछ ।
पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवाद, दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहनेछ । तर, बहुपद भने नरहने नेताहरूले बताएका छन् । नेपाली समाजको चरित्र पुँजीवादी, नेपाली समाजको मुख्य समस्या दलाल नोकरसाही पुँजीवाद रहेकाले समाजवादका लागि शान्तिपूर्ण क्रान्ति गर्ने निष्कर्ष छ ।
शनिबार बसेको माओवादी सचिवालयले एकता प्रक्रिया टुंग्याउने र अन्तिम अनुमोदनका लागि १७ कात्तिकमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय लिएको छ । प्रवक्ता अग्नि सापकोटाका अनुसार वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब–करिब टुंगिएका छन् । प्राविधिक र सांगठनिक कुरा केही मिलाउन बाँकी छ ।
एकीकृत समाजवादीले शुक्रबार केन्द्रीय समिति बैठकबाट एकताको निर्णय गरेको थियो भने माओवादीको शनिबार बसेको सचिवालय बैठकले एकताका लागि सैद्धान्तिक र नीतिगत विषय टुंगो लागेकाले छिट्टै एकता गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार एकताको निर्णय अनुमोदन गर्न १७ कात्तिकमा केन्द्रीय समिति बैठक बोलाइएको छ । सापकोटाले एकीकृत समाजवादी र विप्लवको पार्टी सिंगै एकता प्रक्रियामा सहभागी हुने विश्वास लिएको बताए ।

