काठमाडौं। आगामी फागुन २१ मा हुने मतदानको लागि ९३ हजार जेनजी मतदाता सूचीमा थपिएका छन् । कानुन संशोधन गरेर सूचीकृत हुन समय तोकिएपछिको करिब एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् ।
१२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु भएको थियो । १५ कात्तिकसम्म थपिएका नयाँ मतदातामा ५६ हजार ७ सय १८ पुरुष, ३६ हजार ६ सय २६ महिला र अन्य ९ जना छन् । मतदाताका लागि नाम दर्ता गर्न निर्वाचन आयोगले ३० कात्तिकसम्मको समयसीमा तोकेकाले अब दुई साताको अवधि मात्र बाँकी छ ।
आयोगले अनलाइनबाटै व्यक्तिगत विवरण भर्ने र त्यसअनुसार नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने तथा बायोमेट्रिक दिने व्यवस्था मिलाएको छ । आयोगको वेबसाइट वा नागरिक एपमा रहेको आयोगको ‘लिंक’ मार्फत व्यक्तिगत विवरण भरिसकेपछि निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने र बायोमेट्रिक गराउनुपर्नेछ । अनलाइनमार्फत नै आफूलाई सुविधा हुने निर्वाचन कार्यालयमा फोटो खिचाउने समय लिनुपर्नेछ ।
जेन–जी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभा विघटन भएर २१ फागुनका लागि निर्वाचनको मिति तोकिएको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलनमा कानुनले रोक लगाएकामा सरकारले मतदाता नामावली ऐन नै संशोधन गरेको थियो ।
जेन–जीकै मागअनुसार सरकारले ९ असोजमा अध्यादेशमार्फत मतदाता नामावली ऐनमा संशोधन गरेर निर्वाचन घोषणापछि पनि मतदाता नामावली संकलनको व्यवस्था मिलाएको हो । कानुन संशोधन भएपछि आयोगले १८ वर्ष उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ताका लागि ३० कात्तिकसम्मको समय दिएको हो । त्यसपछि १२ असोजदेखि आयोगले नामावली संकलन थालेको हो ।
आयोगका अनुसार गत असारसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाको संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० छ । त्यसमा महिला मतदाता ८९ लाख १६ हजार ५ सय २, पुरुष मतदाता ९२ लाख ५१ हजार ५ सय ४१ र अन्य मतदाता १ सय ८७ छन् । अहिले नाम दर्ता गराएकाहरूले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे शनिबार र बिदाबाहेकका दिनमा कात्तिकभर नयाँ मतदाताका लागि नाम सूचीकृत गर्न पाइने बताउँछन् । हालसम्म औसतमा दैनिक ६–७ हजार व्यक्ति सूचीकृत हुने गरेकामा अवधि सकिन लागेकाले महिनाको अन्त्यतिरसम्म त्यो संख्या बढेर दैनिक १० हजारसम्म पुग्न सक्ने उनको अनुमान छ ।

