धरान । जेन–जी आन्दोलनकै बीच अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा चार जनाको शव भेटिएको छ।
शुक्रबार दिउँसो प्रहरीले दोस्रो तल्लामा एक र तेस्रो तल्लामा तीन जनाको शव फेला पारेको हो। इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार शव पूर्णरूपमा जलेका कारण पहिचान खुलेको छैन।
“मृतकहरु भाटभटेनीमा आगलागी र लुटपाटको क्रममा भित्र छिरेका व्यक्तिहरु हुन सक्ने आशंका छ,” उनले भने।
मंगलबार राति भाटभटेनीमा तोडफोड, लुटपाट र आगजनी भएपछि केही व्यक्तिहरु पसलभित्रै फसेको हल्ला चलेको थियो। सोही घटनापछि प्रहरीले निरन्तर खोजी कार्य जारी राखेको थियो।
हालसम्म भेटिएका शवको पहिचान र पहिचान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। आगलागी भने अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन।