काठमाडौं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ। न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले सोमबार पत्रकार पाठकलाई नपक्राउ गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
विद्युतीय कारोबार ऐन अन्तर्गतको साइबर अपराधसम्बन्धी मुद्दामा नेपाल प्रहरीको साइबर ब्युरोले पत्रकार पाठकलाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिएको थियो। तर आफूलाई गैरकानूनी रूपमा पक्राउ गर्न खोजिएको भन्दै पाठक उच्च अदालत पाटन पुगेका थिए।
अदालतले प्रारम्भिक सुनुवाइपछि उनलाई तत्काल नपक्राउ गर्न आदेश दिएको हो। वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीका अनुसार अदालतले यही असार ५ गते पक्ष–विपक्षको बहसका लागि म्याद तोकेको छ।
“अहिलेसम्मको अवस्था हेर्दा पत्रकार पाठकलाई तत्कालका लागि पक्राउ गर्न पाइँदैन,” अधिवक्ता त्रिपाठीले बताए, “अब बहसपछि अदालतको अन्तिम निर्णय आउँछ।”