काठमाडौं । उच्च अदालत वीरगञ्ज इजलासमा कार्यरत न्यायाधीश डा. खुसीप्रसाद थारु र न्यायाधीश अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले कडा आपत्ति जनाएको छ।
शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा समाजले न्याय सम्पादनको संवेदनशील प्रक्रियामा संलग्न न्यायाधीशहरूमाथि भएको आक्रमणलाई गम्भीर निन्दा गर्दै यसले सम्पूर्ण न्यायपालिकाको गरिमा र स्वतन्त्रतामाथि हमला पुगेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “न्यायाधीशमाथिको यस्तो आक्रमणलाई व्यक्तिगत नभई न्यायपालिकामाथिकै संस्थागत हमला मानिनुपर्छ। यस्ता कार्य कानूनी राज्य र स्वतन्त्र न्याय प्रणालीका लागि गम्भीर चुनौती हुन्।”
उक्त घटनामा संलग्न दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन समाजले राज्यका सम्बन्धित निकायलाई आग्रह गरेको छ।
घटनाबारे बुझ्दा, नेकपा (बहुमत) का कार्यकर्ताहरूले ज्यानसम्बन्धी मुद्दामा कांग्रेसका पूर्वसांसद मोहमद आफ्ताव आलम लगायतलाई सफाइ दिएको विषयमा असन्तुष्टि जनाउँदै बिहीबार इजलासमै प्रवेश गरी न्यायाधीश थारु र महर्जनमाथि मोसो छ्यापेका थिए। घटनापछि प्रहरीले संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
न्यायालयभित्रै भएको यस्तो हिंसात्मक व्यवहारले न्यायपालिकामा काम गरिरहेका न्यायाधीशहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको भन्दै घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरिएको छ।