इजलासमा न्यायाधीशमाथि कालोमोसो दलेको घटनाप्रति नेपाल बारको आपत्ति, कारबाहीको माग

जनकपुर। उच्च अदालत जनकपुर बीरगंज इजलासमा फैसला सुनाउँदै गरेका दुई न्यायाधीशमाथि कालोमोसो प्रहार भएको घटनाप्रति नेपाल बार एशोसिएशनले कडा शब्दमा भर्त्सना गरेको छ। मङ्गलवार (जेठ २९) दिउँसो इजलासमै भएको उक्त आक्रमणलाई बारले लोकतान्त्रिक न्याय प्रणालीमाथिको सीधै आक्रमणको रूपमा लिएको छ।

मोहम्मद आफताब आलमविरुद्ध नेपाल सरकारले दायर गरेको कर्तव्य ज्यान मुद्दामा पुनरावेदन विचाराधीन रहेको अवस्थामा फैसला सुनाउने क्रममा न्यायाधीश डा. खुशीप्रसाद थारु र न्यायाधीश अर्जुन महर्जनमाथि कालोमोसो दलिएको थियो।

नेपाल बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “कानूनले दिएको अख्तियार प्रयोग गर्दै न्यायाधीशले स्वतन्त्र र निष्पक्ष फैसला गर्ने अधिकारप्रति बार स्पष्ट छ। अदालत बाहेक कसैले सहि–गलत छुट्याउने चलन समाजबाट समाप्त भइसकेको हो। त्यसको पुनरावृत्ति स्वीकार्य हुँदैन।”

विज्ञप्तिमा न्याय सम्पादन गर्ने न्यायाधीशमाथि भौतिक आक्रमण गर्नु गम्भीर आपराधिक कार्य भएको र त्यसलाई सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानहरूमा ‘उत्सव’ को रूपमा प्रस्तुत गरिनु झनै चिन्ताजनक भएको उल्लेख छ। कानुन हातमा लिने प्रवृत्तिबाट न्याय सम्भव नहुने उल्लेख गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ।

बारले सम्पूर्ण न्यायकर्ताहरूलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै अदालत परिसरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सरकार र सम्बन्धित निकायलाई ध्यान दिन पनि आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज