काठमाडौं । भारतले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको विरोधमा ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ ले सोमबार लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले भारतीय कदमलाई नेपाली भूमि माथिको हस्तक्षेप भन्दै रोक्न दबाब दिएका छन्। उनीहरूले दूतावासमार्फत भारत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन्, जसमा नेपाली भूमि फिर्ता गर्न माग गरिएको छ। ज्ञापनपत्रमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल र ग्रेटर नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि विकल्पले हस्ताक्षर गरेका छन्।
ज्ञापनपत्रमा भारतीय गतिविधिलाई आक्रामक, अस्वीकार्य र दक्षिण एसियाको शान्ति तथा स्थायित्वका लागि खतरनाक भन्दै आपत्ति जनाइएको छ। कश्मीरको पहलगाममा एक नेपाली नागरिकको मृत्युप्रति दुःख व्यक्त गर्दै त्यसको पूर्ण जिम्मेवारी भारतले लिनुपर्ने उल्लेख गरिएको छ।
बिज्ञप्तिमा कश्मीरमा भारतले घर भत्काउने, नागरिकहरूलाई पक्राउ गर्ने, र अभिव्यक्ति तथा आवागमन स्वतन्त्रता कुण्ठित गर्नेजस्ता कार्यले मानव अधिकार उल्लंघन भएको भनिएको छ। साथै, पाकिस्तानमाथि हमला तयारी, जलस्रोतको अवज्ञा, र नेपाली नदीहरूमा जल आतंक सिर्जना गरिएको आरोप लगाइएको छ।
भारतले लिम्पियाधुरा क्षेत्रमा अर्धसैनिक बल तैनाथ गर्नु, नेपाली भूमि अतिक्रमण गर्नु र नेपाली मूलका नागरिकहरूलाई नेपाली सेनामा ‘मानव ढाल’को रूपमा प्रयोग गर्नु अमानवीय र अक्षम्य रहेको मोर्चाको भनाइ छ।
ज्ञापनपत्रमा भनिएको छ, “भारतले नेपाली मूलका सैनिकहरूलाई अग्रपंक्तिमा पठाएर नेपाल र उसका मैत्रीपूर्ण सम्बन्ध भएका मुलुकहरूबीचको सम्बन्ध बिगार्ने प्रयास गरिरहेको छ। यस्ता कार्यका दोषीहरूलाई कारबाही हुनुपर्छ।”