मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक छः उपाध्यक्ष घिमिरे

ललितपुर । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकी अपराधसंहिताको मस्यौदा माथि व्यापक छलफलको आवश्यकता औँल्याउनुभएको छ ।

महिला, कानुन र विकास मञ्चले आज यहाँको गोदावारीमा आयोजना गरेको “नीति तथा कानुनमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा उहाँले मुलुकी अपराध संहितामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषय परिस्कृत बनाउन व्यापक छलपलको आवश्यकता औँल्याउनुभएको हो ।

“नेपालको संविधानले नै सबै नागरिकलाई समानताको हक सुनिश्चित गरेको छ । तर व्यवहारमा लैङ्गिक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदाय अझै विभेद, असमानता र पहुँच अभावको समस्याबाट गुज्रिरहेका छन्”, उहाँले भन्नुभयो, “राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा समान पहुँच दिलाउने नीति तथा कानुनी ढाँचा सुदृढ बनाउन यसमाथि अझै व्यापक छलफल अत्यावश्यक छ ।”

उपाध्यक्ष घिमिरे सामाजिक समावेशीकरण केवल विकासको माध्यम मात्रै नभई न्याय, समानता र मानव अधिकारको आधार भएको चर्चा गर्दै सबैको साझा प्रयासबाट समावेशी, न्यायपूर्ण र समतामूलक समाजको निर्माण सम्भव भएको बताउनुभयो ।
उहाँले उपयुक्त नीति निर्माण र कानुनी संशोधनमा राष्ट्रिय सभाको योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने महिला सदस्यको सहभागिता थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज