श्रीमान् आई वाज रंग यस्टरडे !!

कानून व्यवसायीका फरक फरक बहस कलाले गर्दा कानून व्यवसायीको बेग्लै पहिचान कानून व्यवसायी वृत्तमा बनाएका हुन्छन् । कोही आँखा चिम्लेर बहस गर्ने, कोही कुर्लेर, कोही नरम आवाजमा त कोही इजलास नै उचाल्ने गरी, कोही सुरिलो आवाजमा त कोही हात बजारी बजारी, कोही राजकीय शैलीमा त कोही आफै पीडित सरी, कोही ठट्यौली त कोही भड्क्यौली । थरी थरी । कुनै पनि मुद्दालाई आफ्नो पक्षमा निर्णय गराउन सक्ने महत्त्वपूर्ण आधार भनेको कानून व्यवसायी सम्बन्धित मुद्दामा गर्ने तयारी र इजलासमा गर्ने बहस कला  प्रस्तुति हुन । कानून व्यवसायीले आफूले प्रतिनिधित्व गर्ने मुद्दामा कतिको खोज अनुसन्धान गरेका छन्, मुद्दासँग सम्बन्धित विधि शस्त्र, नजिर, लेख, पुस्तक, अन्तर्राष्ट्रिय अभ्यास र विकास सहितका सन्दर्भ सामग्री अनि त्यसको आफ्नै शैलीका  प्रभावकारी बहस गरेका छन् । त्यस्तो व्याख्या र विश्लेषण गरेर अदालतलाई चित्त बुझाएका छन् भन्ने कुरामा एउटा मुद्दाको भविष्य अडेको हुन्छ ।
कानून व्यवसायीले आफ्नो पक्षको प्रतिरक्षा गर्दा हरेक सम्भव तर्कका उपायका साथै आफ्नो इजलास भित्रको बहसकलालाई बेखुबी तरिका ले प्रदर्शन गरी न्यायमूर्तिलाई बुझाउन सके पक्षलाई न्याय पर्छ । तर यसको पूर्व सर्त भनेको न्यायमूर्ति स्वतन्त्र भएर इजलासमा उपस्थित हुनु पर्दछ । न्याय मूर्तिले न्यायको लागि लिएको शपथको सारभूत रूपमा अवलम्बन गरे न्यायपालिका स्वतन्त्र हुन सक्दछ । अन्यथा कानून व्यवसायीले व्यावसायिक औपचारिकता मात्र निर्वाह गर्ने हो । व्यवसाय गर्ने होइन । न्यायका लागि लड्ने होइन ।
स्वतन्त्र न्यायपालिकामा कानुन व्यवसायीका बहस र तर्कले ठुलो भूमिका खेलेको हुन्छ । कानुन व्यवसायीले आफ्नो बहस कला मार्फत  विधि शस्त्रको विकास गर्न न्यायालयलाई सहयोग गर्छन् । आजको यो शनिवार मैले अघिल्लो शनिवार लेखेको कानून व्यवसायीका ठट्यौलीहरू जोड्दै जाने प्रयास गरे ।
हिजो  एउटा हलिउडको सिनेमा फेरि  हेरे “डेभिल्स अडभोकेट”। सिनेमाका नायकले एउटा मुद्दाको सन्दर्भमा आफूले राखेको तर्कलाई कसरी अदालतले लियो भन्ने सन्दर्भमा आफ्नो पक्षलाई भनेका छन् । कुनै अर्को मुद्दामा उनको पक्षलाई ज्यान मारेको अभियोग लागेको हुन्छ । तर लाश भेटिएको हुन्न । न जुरी न न्यायमूर्ति के मान्न तयार छैनन् भने की अभियोगीले हत्या गरेको होइन चाहे लास नभेटिएको किन नहोस् । बहसको अन्तिममा जुरीलाई र न्याय मूर्तिलाई विश्वास दिलाउन नसकेपछि उनले इजलास के अनुरोध गर्छन् भने की श्रीमान् जो व्यक्तिलाई मारिएको भनिएको छ तिनै मृतक भनिएका व्यक्ति त्यो ढोकाबाट इजलास आउँदै छन् । न्याय मूर्ति लगायत सबै जुरीहरू ढोका तिर हेर्छन् एक छिनसम्म । तर कोही आउँदैन । अनि उनी श्रीमान् र जुरी तिर हेर्दै श्रीमान् हामी जसलाई मारिएको छ भन्छौ श्रीमान् लगायत न जुरी न अदालतमा मानिस मर्‍यो भन्ने विश्वास गरेका छन् । सब ढोका तिर हेरेका छन् । त्यसैले लास नै नभेटिएको अपराधको आरोपमा मेरो पक्षमा निर्दोष छ । न्याय होस । एक छिनसम्म इजलास सुनसान । केही बेर इजलास ब्रेक हुन्छ । अनि न्यायमूर्ति फर्केर आएर निर्णय सुनाउँछन् । अभियोग दोषी साबित। यी कानून व्यवसायी फैसला सुनिसकेपछि न्याय मूर्तिलाई भेट्छन् र भन्छन् की श्रीमान् सहित सबै जुरी ढोकामा हेरे, मान्छे मरेको कसैलाई विश्वास छैन तर श्रीमान् कसरी मेरो पक्षमालाई दोषी साबित गरियो । श्रीमानको उत्तर थियो सबैले ढोका तिर हेरियो त्यही विश्वासमा । एउटा जुरीले आरोपी तिर हेर्‍यो तर आरोपीले ढोका तिर हेरेन।
यो घटनामा कानून व्यवसायी को तर्कले उल्टो दोषी साबित हुने बलियो प्रमाण मिल्यो अदालतलाई तर धेरै मुद्दामा कानून व्यवसायीका ठट्यौलीले एकातिर इजलासको माहौल रमाइलो बनाउँछ भने अर्को तिर ती रसिला हासिल बहस प्रस्तुतिले न्याय पाउन पनि सहयोग गर्दछ ।
ईलाहाबाद उच्च अदालतका न्यायाधीश मोहम्मदले १८९४ मा न्यायाधीशबाट राजीनामा दिई कानून व्यवसाय तिर लागेछन् । अधिक मद्यपान सेवन गर्ने उनी एक दिन मदिराको नशामा इजलासमा उपस्थित भै बहस सुरु गरे। बहस गर्दै गर्दा कुन पक्षको प्रतिनिधित्व गरेको हो नै बिर्सेछन् र विपक्षमा बहस गरिरहेकै अवस्थामा उनका सहयोगीले एक छिन रोकेर सर तपाई त विपक्षीको तर्फबाट पो बहस गर्दै हुनुहुन्छ । बर्बाद भो सर । विपक्षी रिसाएर चुर चुर छ । न्याय मूर्ति पनि अलमलमा । एक छिन रोकेर मोहम्मदले श्रीमान् मैले अहिलेसम्म राखेको तर्क भनेको विपक्षीको यस्ता यस्ता तर्कहरू छन् भनेर राखेको हो । अब म यसको खण्डन गर्न चाहन्छु । त्यसपछि धुँवाधार बहस गरे खण्डन गरे र आफ्नो पक्षलाई मुद्दा जिताएको घटना रमाइलो छ । हाम्रोमा पनि कहिले काही इजलासमा कुन पक्षमाको प्रतिनिधित्व गरेको हो भन्ने कुरा बिर्सेका किस्साहरू सुन्न पाइन्छ । मैले देखेको एउटा घटनामा कानून व्यवसायीले चर्को चर्को बहस गरेको सुनेर न्याय मूर्तिले विद्वान ज्यू अलि सानो आवाजमा बहस गर्नु होला भन्नु भयो । ती कानून व्यवसायीले न्याय मूर्तिको कुरामा ध्यान दिएको नदेखेपछि फेरि सम्झाउन खोजेँ । कानून व्यवसायीका सहकर्मीले उठेर श्रीमान् उहाँले कान कम सुन्नु हुन्छ भनेसि श्रीमानले शान्त पूर्वक चर्को बहस सुन्नु भयो ।
भारतका महान्यायाधिवक्ता राम स्वामी न्यायमूर्ति कुल दीपको बेन्चमा बहस गर्दै थिए । रम स्वामीको तर्कमा कत्ति पनि सहमत नराखेका न्यायमूर्ति रम स्वामिलाई भनेछन्, के तपाईँ मलाई मूर्ख ठान्नु हुन्छ ? तात्तातै  जवाफ दिन सक्ने रम स्वमीले भनेछन् ।  श्रीमान् ठान्छु भनूँ भने अवहेलना होला । ठान्दिनँ भनूँ भने आफैसँग झुट बोल्छु भनेछन् ।
आफ्नो गम्भीर तर्क राखी रहेका एक जना वरिष्ठ अधिवक्ता ज्यूलाई न्याय मूर्तिले तपाईँको बहस टुङ्ग्याउनु कुरो बुझियो भनेपछि वरिष्ठ ज्यूले श्रीमान् हामी नेपाली सबैको कद उस्तै उस्तै हो, कोही अलि अग्लो, कोही अलि होचो, कोही अलि मोटो, कोही अलि दुब्लो हुन्छ भन्ने उत्तर दिएपछि वरिष्ठ ज्यूले बहसका लागि पूर्ण समय दिएको किस्सा बारमा सुनिन्छ । अर्का एक गम्भीर प्रकृति  मुद्दामा श्रीमानले वरिष्ठ ज्यूलाई मुद्दा बुझियो छोटो बहस गर्नु होला भनेसि वरिष्ठ ज्यूले श्रीमान् मैले यो मुद्दा  बुझ्न एक हप्ता लाग्यो श्रीमानले फाइल पल्टाउन साथ कसरी बुझ्नु भयो ? वरिष्ठ ज्यूलाई त्यसपछि बहसका लागि रोकेको देखिएन ।
एक जना कानून व्यवसायी हाम्रो मुद्दाको पालो पछाडि उहाँको मुद्दा रहेछ । इजलासमा मस्त एकोहोरो फाइल अध्ययन तयारी गर्दै हुनुहुन्थ्यो । हाम्रो बहसको क्रम चल्दै गर्दा हाम्मलाई रोकेर श्रीमानले ती कानून व्यवसायीलाई विद्वान ज्यू तपाईँको पालो चिया समय पछि आउँछ, फर्ममा गएर राम्रो तयार गरेर आउनु होला भन्नु भएको कुरा हामी लगायत बेन्चमा उपस्थित कानून व्यवसायीलाई राम्रै सन्देश दिएको थियो ।
डिभिजन बेन्चमा बहस गरिरहेका एक जना कानून व्यवसायीले एक जना मात्र न्यायमूर्ति हेरी एकोहोरो बहस गरेको देखि अर्का न्याय मूर्तिले विद्वान ज्यू यो एकल इजलास होइन संयुक्त इजलास हो है भनेको कुराले बहस गर्दा दुवै न्यायाधीशको चित्त बुझाउनु पर्ने कुरा कानून व्यवसायीले बुझ्नु पर्ने कुरा हो।
अन्तरिम आदेश जारी गर्नुपर्ने नपर्ने विषयमा धेरै नै कानून व्यवसायीको बिचमा दोहोरो बहस भइरहेको थियो । एकातिर कानून प्राध्यापन समेत गर्ने कानून व्यवसायी थिए । उनको तर्क अन्तरिम जारी गर्नु पर्ने भन्ने थियो तर तथ्यमा केही गलत प्रस्तुत भये सी न्याय मूर्तिले कानून व्यवसायीलाई सो को बारेमा प्रस्ट पारेछन् र भनेछन् विद्वान ज्यू अब तथ्यको बारेमा हामीले नै पढाउन पर्ने भयो त ? कानून व्यवसायीले तुरुन्त जवाफ दिए श्रीमान् हामीले तपाईँलाई कानूनको बारेमा पढाउँदा श्रीमानले तथ्यको बारेमा पढाउन किन नमिल्ने भयो र ? ज्ञान त यसरी नै बाँडिने हो श्रीमान् । इजलास भरी एक छिन हाँसो भयो । दुवै कानून व्यवसायी र न्यायमूर्ति मस्त ले हाँस्नु भयो ।
अर्का  एक जना वरिष्ठ अधिवक्ता ज्यू अघिल्लो दिनको एउटा मुद्दामा धुवाँदार बहस गरी अन्तरिम आदेश ल्याउन सफल हुनु भएछ । भोलि पल्ट उस्तै प्रकृतिको मुद्दामा विपक्षीको तर्फबाट आन्तरिक आदेश जारी गर्नु नपर्ने भनी बहस गर्न पुग्नु भएको अघिल्लो दिनको न्यायमूर्ति कै इजलास परेछ । बहसका क्रममा श्रीमानले वरिष्ठ ज्यू हिजो त उस्तै प्रकृतिको मुद्दामा जारी हुनु पर्ने भनेर बहस गर्नु भो । मैले अन्तरिम पनि दिए । आज फेरि अर्कै धारमा बहस गर्दै हुनुहुन्छ ? वरिष्ठ ज्यूको बेन्चलाई जवाफ थ्यो, श्रीमान् आई वाज रङ्ग यस्टरडे श्रीमान् मैले हिजो गरेको बहस गलत परेछ ।
इजलास भित्र कानून व्यवसायी र न्याय मूर्तिकाबिच अनि पक्ष विपक्ष कानून व्यवसायीका बिच अनि कहिले काही न्याय मूर्तिका बिच पनि नोक झोक, व्यङ्ग्य र ठट्टा चलिरहन्छ । ती सामान्य, स्वाभाविक अनि रमाइला हुन्छन् । इजलास भित्र केबल मुद्दाका विषय मात्र सामेल हुन्छन् कुनै दुरसाय, वैरभाव वा कुनै पूर्वाग्रह बिना । यो न्याय को एउटा महत्त्वपूर्ण पाटो हो । यसले इजलासलाई खुला र स्वतन्त्र रहेको आभास दिलाउँछ । इजलास भित्र विरलै देखिने न्यायिक ठट्टाहरूले वातावरण नै अर्को हुन्छ । खुल्ला मनले गरिने ठट्टाहरू कहिले अलि नमिठो लागे पनि ती व्यावहारिक हुन्छन् । एक जना युवा कानून व्यवसायी जसलाई कानून व्यवसायी बारे प्रशिक्षण नै दिइयो एउटा मुद्दामा खाली हात इजलासमा बहस गर्न उभिए पछि एउटा अग्रजका हिसाबले बैनी इजलासमा खाली हात बहस गर्दै हुनुहुन्छ । फाइल नली बहस गरेको अलि मिलेन । अदालतलाई सम्मान गर्नु पर्छ, व्यावसायिक मर्यादा हुँदैन भनेर सम्झाउन मात्र के खोजेको आजसम्म रिसाएर बसेकी छिन् । मैले त ठट्टा गरेर भनेको इजलासले देखेको भए गम्भीर रूपले नै लिन्थ्यो होला ।
ठट्टा भित्र कानूनका व्याख्या लुकेका हुन्छन्, तथ्य उजागर गर्ने आधार लुकेका हुन्छन्, प्रमाणलाई प्रकाश गर्न सार लुकेका हुन्छन्, न्यायिक र व्यावसायिक मर्यादा लुकेका हुन्छन् अनि ती हामी सबैका लागि दीर्घकालीन रमाइला घटना र सन्देश लुकेका हुन्छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज