बेसीसहरको जनविकास मावि मा मैले ३ कक्षासम्म पढे। उस बेला राई सर (हेडमास्टर) को नामले लमजुङ हलिन्थ्यो । एउटा विद्यार्थीलाई लात हानेर पहिलो तलाबाट राई सरले खसालेपछि लमजुङ भरी राई सरको नाम सोलेको गाब्बर सिंह भन्दा कम थिएन। राई सर बेसीसहरको बाटोमा हिडेसी सहर नै सुनसान हुन्थ्यो । बेसीसहरको फूलबारीमा हप्ताको एक पटक हेलिकप्टर आउने गर्थ्यो । हेलिकप्टर भरी मनाङ जान आएका गोराहरूले भरिएको हुन्थ्यो। लमजुङ न्याङ्दी माथि बाहुन डाँडा हाम्रो गाउँ । डा. हर्क गुरुङ न्याङ्दीका । उनको नामको चर्चा व्यापक थियो उस बेला । बाहुन डाँडा जाँदा डुम्रे देखि विशाल ढुङ्गाहरूमा डा. हर्क गुरुङ फर्क लमजुङ भन्ने लेखिएका हुन्थे। मैले डा. हर्क गुरुङलाई हेलिकप्टरबाट झर्दै गरेको उहिले बेला २०३८/३९ तिर देखेको हुँ । यसपालि लमजुङ जाँदा न्याङ्दीमा रहेको गुरुङको समाधि स्थल हेर्ने मौका जुर्यो । हेलिकप्टर आउने दिन बिहान देखी फूलबारीमा मानिसहरूको भीड लाग्थ्यो भने हामी बाल बालिका चिया खाने ग्लास टिप्ने तयारीमा हुन्थ्यो । गिलास टिपेर मामाघर हजुरआमालाई दिँदा हजुर आमा खुब खुसी हुनुहुन्थ्यो । हेलिकप्टर झरेसी चौरको छेउमा गिलासहरू फाल्थे । हामी छाती फुटाएर कुदेर गिलास टिप्ने गर्थ्यौँ । धेरै पछि थाहा भयो त्यो डिस्पोजल ग्लास रहेछ। मैले हवाई उडान देखेको त्यो क्षणहरू अझै ताजै छ ।
यता मामाघरमा काम गर्ने हली थिए । नाम मूकुर्धुम। अलि अलि सन्काहा खाले । कसैले मूकुर्धुम भन्यो भने अति रिसाउने । गाली गर्ने नाम जो थ्यो । एक दिन बिहान उठेर बसेको बेला परेवाको जोडीले मुकुर मुकुर गरेछ । परेवाले समेत मुकुर्धुंम भनेर जिस्कायो भनेर रिसको झोकमा परेवा समातेर गालामा झापड दिएछन् । परेवा खुत्रुक्क । उनको यो हर्कत मामाघर भकुन्डे भरी सधैँ चर्चा भई रहन्छ ।
मूकुर्धुमको अर्को चर्चाको विषय पोखरा देखि नेपालगन्ज सम्मको हवाई यात्रा हो । मेरो मामाहरू सँग २०२१/२२ साल तिर हो क्यारे मुकुर्धुंम भरिया बनी पोखरा गएछन् । उस बेला पोखरा देखि नेपालगन्जसम्म हवाईजहाज जाने गर्दथ्यो रे। पोखरा पुगेको बेला हवाईजहाज हेर्न पुगेछन् विमानस्थलमा मूकुर्धुम । त्यति बेला अहिलेको जस्तो सुरक्षा जाँच नहुने हुँदा हवाईजहाज हेर्नेहरू भित्रैसम्म पुग्ने रैछन । मूकुर्धुम हवाईजहाज हेर्न भित्रै पुगे । जहाज उड्ने बेला भाकोले जहाजका कर्मचारीले यात्रुलाई बस्नु भने । मूकुर्धुमलाई लाग्यो बस्ने हो। खाली सिटमा बसे । जहाजको ढोका बन्द भयो, उड्यो नेपालगन्ज पुगे मूकुर्धुम। जहाजबाट उत्रेपछि सुरक्षा अधिकारीले टिकट चेक गरे । मुकुर्धुंमसँग कहाँ टिकेट हुनु । सुरक्षा अधिकारीले ३ दिन थुनेछन्। अनि मुकुर्धुंम १ महिना लगाएर हिँड्दै भकुन्डे आएको कुरा कम रमाइलो थिएन। उनको पीडा त छदै थियो ।
अन्तर्राष्ट्रिय बार एसोसिएसन (आइबिए) को सम्मेलन अमेरिका फ्लोरिडा राज्यको मायामीमा हुँदै थियो । म उक्त सम्मेलनमा वक्ताको रूपमा आमन्त्रित भएकोले म डल्लास हुँदै अमेरिका जाँदै थिए । मेरो यात्राको समय भाइटिकाको दिन १ बजेको थियो । भोलि पल्ट सानी बैनी रञ्जनाको हातबाट टीका लाएर अमेरिका जाने तयारीमा सुटकेस तयार गरी सुते। बिहान ८ बजे तिर ठुली बैनी गङ्गाले अमेरिकाबाट फोन गरी र भनी दाइ के गर्दै छस् कतारमा ? कति लामो ट्रान्जिट छ ? मैले भने के कुरा गरेकी अब टीका लाउने हिँड्ने हो एयरपोर्ट । उसले भनी टिकट हेर त। हतार हतार टिकेट हेरे। टिकट १ बजे को रैछ । बहिनी रिसाई अनि हाँसेर भनी १ बजे भनेको बिहान को हो (राति), दिउँसोको १ बजेलाई त १३ बजे भन्छन् । प्लेन छुट्यो । म हक्क न बक्क । मलाई त्यही दिन हिंड्नुथ्यो । अर्को टिकेट भोलि पल्ट मिलाउँदा ६५००० झ्वाम।
अस्ति मेरो साथी सञ्जयको पनि त्यस्तै भएछ । दिउँसोको ३ बजे भनेर ढुक्क भएको बिहानको ३ बजे रैछ । दिउँसोको ३ होइन १५ बजे हुन्छ। धेरैको प्लेन मिस भएको सुनेको छु । समयको यस्तै दोधारले ।
अब आजको कुरो । मेरो एक जना साथी विकल अधिकारीलाई आज बिहान भरतपुरबाट काठमाडौँ आउँदा भरतपुर एयरपोर्टमा भेटे। अति तनावमा थ्यो । के भो भनेर सोधेको । यार म त भद्रपुर जान बुद्ध एयर चढेको काठमाडौँबाट भरतपुर आइपुगे । कसरी यस्तो भो भनेर सोधे। ३ ठाउँमा सेक्युरिटी चेक गरेर आको मानिस भद्रपुरको सट्टा भरतपुरको प्लेन चढेछ । फेरि भरतपुरबाट काठमाडौंको टिकट काटेर मसँगै आयो । मैले अमेरिकाको किस्सा सुनाए अलि हल्का महसुस गरियो । म एकातिर नहाँसी बस्न सकिन अर्को तिर जहाजको प्रशासन देखेर दिक्दार लाग्यो । काठमाडौँ आयसी फेरि उ भद्रपुरको टिकेट लिएर प्रस्थान तिर लाग्यो म घर आए । उसको १६००० झ्वाम थप ३ टिकेट काट्नु पर्यो । बाटो भरि उसको माया लाग्यो, लास्टै हाँसो लाग्यो अनि जहाजको लापरबाही देखेर अचम्म पनि लाग्यो ।
अन्तमा मेरो मामाको छोरा सोमराज दाइ नेपाल आर्मीमा विराटनगरमा थिए । विराटनगरबाट हाम्रो घर भरतपुर आउन रात्रि कालिन बस चढेछन् । यति मस्त निदाएछ न कि बिउँझँदा गोङ्गबु बसपार्क आइसकेका रहेछन् । फेरि गोङ्गबुबाट बस चढेर भरतपुर को सम्झिदा अहिले पनि अति हाँसो लाग्छ । उनलाई सम्झिँदा माया लाग्छ ।
आजकल यात्रा सहज भए पनि कोही न कोहीले यस्तो अनुभव गरेकै हुनु पर्दछ । तसर्थ यात्रा गर्दा एक पटक टिकेट राम्रोसँग हेर्ने, समय यकिन गर्ने अनि बस जहाज पत्ता लागेर हिँड्ने नत्र जनकपुरको यात्रा गर्ने यात्रु टनकपुर नपुग्लान् भन्न सकिन्न ।
दुष्कीर्ति (Tort) को कानुनले हेलचेक्र्याइँ लापरबाहीका कारण कसैलाई हानि नोक्सानी भएमा क्षतिपूर्ति तिर्नु पर्छ भन्दछ । तर अपवादमा यदि मर्का पर्नेले आफै लापरबाहीको कारण मर्कामा परेको हो भने क्षतिपूर्ति पाउँदैन भन्ने छ । तसर्थ आफनै लापरबाहीले की नेपालगन्ज पुगिन्छ, की अमेरिकाको जहाज छुट्छ, कि भरतपुर होइन गोङ्गबु पुगिन्छ भने दुःख आफैँले पाउने हो । जहाजको हकमा यात्रुलाई अर्कै प्लेनमा हाल्ने कामको क्षतिपूर्ति चाहिँ तिमीले पाउँछौ है विकल भनेर सल्लाह दिए । अब पाउने नपाउने कुरो त त्यस्तै हो हाम्रो नेपालमा !!

