विपश्यना ध्यान शिविरमा किन जाने ?

यही आषाढ ३० गते देखि श्रावण ९ गते सम्मको १० दिने बिपस्याना ध्यान शिविरमा पुरानो साधकको रूपमा दोस्रो पटक सहभागी हुने सौभाग्य जु¥यो । बिहान ४ बजे देखि रातिको ९ बजे सम्म सिल, समाधि र प्रज्ञाको कडा नियम र व्यस्त समयको साथ सञ्चालन हुने शिविर सम्पन्न भयो । तर, विपश्यना ध्यान शिविरमा जाने व्यक्तिलाई समाजका अलग अलग व्यक्तिले अलग अलग तरिकाले बुझ्ने गरेको पाइन्छ । विपश्यना  ध्यान शिविरको बारेमा समाजको बुझाई र मेरो व्यक्तिगत बुझाइको बारेमा केही अनुभवहरू लेख्ने प्रयास गरेको छु ।
शिविरमा दिइने निर्देशन पछि मोबाइल अफ गरेको ११औँ दिनमा खोलेको केही घण्टपछि एक जना मुद्दाको पक्षको फोन आयो । उहाँको सहज प्रश्न थियो तपाईँको घरमा त्यस्तो ठुलो पारिवारिक समस्या छ जस्तो त लाग्दैन ? व्यावसायिक, पेसागत र आर्थिक अवस्था राम्रै समेत राम्रै छ । अनि किन जानु प¥यो ध्यानमा ? शिविर समाप्त भएर घर आउँदै गर्दाको अवस्था यो पहिलो प्रश्न थियो । अनि, अर्को एक जना आफन्तको प्रश्न थियो तपाईँलाई नपुग्दो के छ र ? यति लामो समय सम्म घरबार छोडेर जोगी बनेर ध्यानमा जानुपर्ने ? पारिवारिक समस्या भएको, शारीरिक र मानसिक समस्या भएको, जागिरमा प्रमोसन नभएको, ब्यपार व्यवसाय बिग्रिएको जस्ता अनेकन् समस्या भएका व्यक्ति विपश्यना ध्यान शिविरमा जानुपर्छ भन्ने धेरै व्यक्तिको मनोविज्ञान रहेछ ।
यी सबै प्रश्नको जवाफ दिन वा बिपस्यना ध्यान शिविरको बारेमा स्पष्ट पार्न उचित र आवश्यक लागेन । मेरो सामान्य बुझाइले स्पष्ट पार्न सक्ने अवस्था पनि रहेन । त्यसैले मन्द मुस्कानद्वारा हाँसेरै टारे । दुवै प्रश्नको जवाफ दिएन ।
विपश्यना धर्म होइन । सत्य धर्म हो । जुन धारण गर्न सकिन्छ । अनुभव गर्न सकिन्छ । प्राप्त ज्ञानको मापन गर्न सकिन्छ । सिकाउने विधिको स्पष्ट मापदण्ड छ । लाखौँ साधक साधिकाहरूको अनुभवसिद्ध प्रयोग रहेको छ । त्यसैले, यो कुनै धार्मिक सम्प्रदायको कर्मकाण्ड होइन । यो त केवल शान्त र सुद्ध मनले नाकबाट श्वास भित्र गएको र बाहिर आएको अवलोकन गर्ने अनि, शिर देखि पाउ सम्म आफ्नै अन्तर्मनको यात्रा गर्ने विद्या हो । जसले मानव जीवनलाई सुद्ध बनाउँछ । बुद्ध बनाउँछ । अज्ञानताले सृजना हुने दुखबाट मुक्त बनाउँछ । राग, द्वेष र मोहलाई साक्षी भावले हेर्न सक्ने बनाउँछ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरी २५ सय वर्ष पहिले पत्ता लगाएको यो विद्या मानव जीवनमा निकै कल्याणकारी रहेको छ ।
यो विद्या प्राप्तिको लागि अवलम्बन गरिने ध्यानको विधि र ध्यान शिविर सञ्चालनको व्यवस्थापन दुवै व्यवहारिक र वैज्ञानिक रहेको छ । यस ध्यान शिविरबाट लाभान्वित भएका पुराना साधकहरूले अरूहरू पनि साधनामा सम्मिलित भएर लाभ लिन सकुन् भन्ने पवित्र मनोभावनाले दिएको शुद्ध दानबाट मात्र शिविर सञ्चालनको खर्च बेहोरिने गरिन्छ । केवल पुन्यकर्मबाट मात्र आर्जित, आपराधिक कर्म बाहेकको दान रकमले शिविर सञ्चालन हुने व्यवस्था रहेकोले त्यहाँको भोजन सात्त्विक र सकारात्मक ऊर्जासहित रहने भएको हुदा बिहान ४ बजे देखि बेलुका ९ बजे सम्मको कठोर नियमहरू र व्यस्त समय तालिकाको बिचमा सम्पन्न गरिने १० दिने शिविरको कार्यहरू सहभागी साधक साधिकाहरूले अनुमान गरे भन्दा सहज तरिकाले सम्पन्न हुन्छन् ।
सिल, समाधि र प्रज्ञा सहितको ज्ञान र ध्यानलाई मात्र धार्मिक रूपमा धारण गर्न सकिन्छ । कुनै पनि विद्या सिक्नको लागि शील सदाचार, चित्तको एकाग्रता, प्रज्ञा, विवेक, बोधि, मनलाई निर्मल बनाउने अन्तर्दृष्टि निकै आवश्यक रहन्छ । पन्चशीलको पूर्ण परिपालना सहित समाधि समर्पण गराएर मात्र मानव जीवनको प्रज्ञा पुष्ट पार्नको लागि मार्गदर्शन प्रदान गर्ने यो ध्यान विधि व्यवहारिक मात्र होइन वैज्ञानिक समेत रहेको छ ।
हामी मानवको मन र मस्तिष्क दुवै राग, द्वेष र मोहले गहिरो लेप लगाएर बसेको छ । हामी भित्र रहेका यी तिन चिजलाई सही विद्या बिना समभावले, समता भावले साक्षी भावले हेर्न सक्दैनौ । केवल भुक्त भावले मात्र हेर्न सक्छौ । जसले गर्दा हामी मानवको जीवनमा सधैँ दुखी रहन बाध्य हुन्छौ । हाम्रो रोग र अज्ञानताले जीवनभर हामीलाई केवल दुखी बनाई रहन्छ । हामी दुखी भइरहन्छौँ । यस्तो दुखबाट मुक्ति पाउन सकिन्छ भनेर अनुमान लगाउन सक्दैनौँ । अनि हाम्रो दुखी आत्माले हाम्रो सम्पर्कमा आउने अरू सबैलाई दुखी बनाई रहन्छ । हामी भित्र गढेर रहेका यस्ता विकार तत्त्व हटाएर श्रद्धा, वीर्य, पराक्रम, सावधानता, सजगता, समाधि, एकाग्रता, प्रज्ञा, विवेक जगाउनको लागि विपश्यना ध्यान शिविरमा जानुको अर्को कुनै विकल्प रहेको छैन ।
त्यसैले, विपश्यना शारीरिक र मानसिक रोग वा असफलताले सृजना गरेको विक्षिप्तता हटाउनको लागि जाने ध्यान शिविर होइन । यद्यपि शिर देखि पाउ सम्म आफ्नो अन्तर्मनको यात्रा गर्ने यस ध्यान विधिले मानव शरीर भित्रको विकार बाहिर निकाली शारीरिक रोग वा मानसिक विक्षिप्ततालाई ठिक नबनाउने भन्ने होइन । तर, यसको प्रमुख उद्देश्य भने त्यो होइन । विभिन्न धार्मिक सम्प्रदायका कर्मकाण्डले हाम्रो मन मस्तिष्कमा गहिरो लेप लगाएको छ । हाम्रो अन्तर्मनले राग, द्वेष र मोह मार्फत भौतिक शरीरलाई नियन्त्रणमा लिएको छ । यही कारणले हामी लोभ, पाप र अपराध कर्मबाट टाढा रहन सक्दैनौँ । बचन कर्मले हामी जतिसुकै धार्मिक भएपनि भौतिक कर्ममा हामी आपराधिक बन्दै गएका छौँ । हाम्रो अन्तर मनले शरीरलाई होइन, हाम्रो शरीर र दिमागले अन्तर्मनलाई नियन्त्रण गर्नको लागि नाकबाट आउने जाने श्वासलाई समताभावले हेरी आना पान गरौँ र शिरदेखि पाउ सम्म आफ्नै अन्तर्मनको यत्रा गरौँ । आफनै अज्ञानताको कारणले आफै माथि दुखको बीजारोपण नगरौँ । आफ्नो दुखको कारणले आफूसङ जोडिएका अरूलाई समेत दुखी नबनाऊ । विपश्यना ध्यान शिविरमा गएर आफ्नै कारणले आफैलाई दुख सृजना गर्ने अज्ञानताबाट मुक्ति पाऔं । सबैको मंगलहोस ।

सम्बन्धित समाचार

ताजा न्यूज