हामी फेरि उठनेछौं

आज हाम्रा आँखा अगाडि देश जस्तो अवस्थामा छ, हाम्रो आजको अवस्था त्यही हो । यो अवस्थालाई शब्दले विश्लेषण गर्नु पदैन, आँखा अगाडि झल्झती छ । अवस्था एकदम दर्दनाक छ । सरकारका तीन वटै अंङ्गहरु शिथिल र शून्य छन् । कोभिडदेखि थिलथिलिएको अर्थतन्त्र उठ्न नसकेको अवस्थामा थप अर्को सङ्कट आइपरेको छ । ठुलो भौतिक क्षति भएको छ । अझ छ महिनापछि चुनावको मिति पनि तोकिएको छ । यही वास्तविकताको बिचबाट नयाँ नेपालको खाँका कोर्नुपर्ने छ । यो विपत्तिबाट भाग्ने छुट छैन, उठ्नुपर्ने बाध्यता छ । गिरिसकेको मनोबल उठाउनुपर्ने छ । अवस्थामाथि मध्यनजर लगाउँदा, जोकोहीको पनि हातखुट्टा लल्याकलुलुक हुन्छन् । तर यति हुदाँहुदै पनि यो विकराल अवस्थाबाट नउठी नहुने अवस्था छ ।

‘हामी फेरि उठ्ने छौ ।’ भन्ने नारा हामीले जताततै देखिरहेका छौ र अहिलेको लागि सान्दर्भिक पनि छ । यो शून्यताको अवस्थामा हामी नउठी नहुने अवस्था छ । देशमा कोभिड पछिको मन्दी अवस्थामा देश गुज्रिरहेको बेला थप मारमा परेको छ । अगाडि फेरि जाग्नुपर्ने वास्तविकता छ ।  देशमा व्यापार, व्यवसाय सबै क्षेत्रहरू ठप्प छन् । तर पनि फेरि उठ्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा हामी सबैले फेरि पनि उठ्नेछौ भन्ने नारा बोक्नुपर्ने दायित्व बनेको छ । मनोबल बढाउनको लागि पनि यो नारा जरुरी छ । कम्तीमा यो नाराले नागरिकहरूबिच आशाको  सञ्चार गर्छ ।

अहिलेको अवस्था भनेको शून्यको अवस्था हो । जति चुनौतीहरू हाम्रा अगाडि छन्, त्यति नै अवसरहरू पनि छन् । यो कठिन अवस्था विरुद्ध लडेर यसलाई अवसरमा परिणत गर्नुपर्ने छ । यो समय ऐतिहासिक हुनेछ जब हामी देशलाई शून्यबाट उचाल्ने छौ र यो सुनौलो सुरुवात हुनसक्छ ।  यदि राम्रो काम गर्न सके भविष्यको लागि अरूलाई नजिर बन्ने छ र बनाइनुपर्छ पनि । तर शून्यबाट हिँड्नुपर्ने बाध्यता भए पनि राम्रो कामको सुरुवात गर्ने मौका भने छ । जुन कामहरू नयाँ नेपालको लागि उदाहरण बन्न सक्छन् ।

अहिले जति राज्यका भौतिक संरचनाहरू नष्ट भएका छन्, पुनः स्थापना गर्नुपर्नेछ । ती संरचनाहरू नहुँदा नियमित कामहरू सञ्चालन गर्न अनेक बाधा र व्यवधान पक्कै आइपर्छन् । तर अहिलेको सबैभन्दा महत्त्वपूर्ण काम भनेको जनता र सरकारबिच भत्किएको विश्वासको घर पुनः निर्माण गर्नु छ । यो विश्वासको घर निर्माण गर्नको लागि इँटा र सिमेन्टले हुँदैन, सिंहदरबार र जनताबिचको सम्बन्ध निर्माण गर्नुपर्छ । जनताले विश्वास गर्न सक्ने हुनुपर्छ र जनतालाई सेवा दिन सक्नुपर्छ । अनि मात्र सिंहदरबारसँग पहिले आस्थाको घर बन्छ अनि भौतिक स्वरूप बन्न त केही बेर लाग्दैन ।

सर्वोच्च अदालत सरकारको अर्को एउटा अङ्ग हो । यसको शक्ति भनेको जनआस्था हो । हिजोको दिनदेखि राजनीति र अदालतबिचको सम्बन्धका कारण अदालत प्रतिको विश्वास र आस्था खच्कँदै गएको सत्य हो । राजनीतिले अदालतप्रतिको विश्वास र आस्थालाई घटाएको छ । अब फेरि त्यो गुमेको आस्थालाई निर्माण गर्नको लागि अदालतको भौतिक संरचना भन्दा पहिले जनआस्था निर्माण गर्नुपर्ने देखिन्छ र यसको लागि अदालतले न्याय दिन सक्नुपर्छ । अदालतको भौतिक संरचना मात्र निर्माण गरेर पुग्दैन, गुमेको साख निर्माण गर्नुपर्नेछ । न्याय र न्यायमा सबैको पहुँच निर्माण गरेर मात्र अदालतको पुनः निर्माण हुनेछ ।

सिंहदरबारमा भुइमान्छेको पहुँच कायम गर्न र अदालतमा न्यायको अनुभूति दिन सके मात्र फेरि आस्थाको निर्माण हुन सक्छ । यदि जनताको विश्वास कमाउन सके, भौतिक संरचना त जनताले चन्दा उठाएर पनि बनाउनेछ । जनताले राज्यका हरेक अङ्गहरू र निकायहरूमा अपनत्वको भावना पाउन सक्नुपर्छ । जब जनताले अपनत्व अनुभूति गर्न सक्छन् भने भोलीको दिनमा यी निकायप्रति फेरि भौतिक आक्रमण होला भन्ने डर हुँदैन तर यसको लागि विश्वास र आस्था कायम हुन सक्नुपर्ने छ ।

अहिलेको प्रधानमन्त्री यस मानेमा सबैभन्दा भाग्यमानी हुनुहुन्छ जब यो शून्य समयमा सरकार उहाँको नेतृत्वमा बनेको छ । यदि उहाँले देशमा सुशासन, न्यायको नजिर स्थापित गर्न सक्नुभयो भने नयाँ नेपालको लागि पहिलो सुनौलो पाइला हुनेछ र त्यो अवसर अहिलेको अवस्था हो । असली सुरुवात गर्ने मौका छ । यो अवसरमा सरकारले विधिको शासन स्थापित गर्नुपर्छ  र प्रत्याभूति पनि गराउनुपर्छ । सुशासनको जग हाल्नुपर्छ ।  मौका सबैले पाउदैनन, तर मौका पाउनेले गर्नुपर्छ । यो मौका प्रधानमन्त्री सुशीला कार्कीज्यूले पाउनु भएको छ र सबैको आँखा पनि उहाँमाथि छ । आशा छ । विश्वास पनि छ । समयले सधैँ पर्खँदैन । हिजो दलका नेताहरूले पटक पटक मौका पाए, गरेरन, अब गर्छु भने पनि फेरि ती मौकाहरू पाउन मुस्किल छ । समयको बल भनेको पनि यही हो । जे गर्नुहुन्छ, मौका छ तर जति जे गरे पनि प्रतिसोधले होइन, कानुनको आधारमा ।

यो नाराको सान्दर्भिकता हुन्छ जब हामी फेरि उठ्नेछौ । शून्य समयमा गलत नजिर स्थापित गर्नु हुँदैन । सत्य, न्याय र विधिको शासन नयाँ नेपालको आधार बनोस् । जनताको ठुलो साथ छ । जनआवाजले निर्माण भएको सरकार हो, जनआवाज अनुसार सरकारले काम गर्नुपर्ने छ ।

 

सम्बन्धित समाचार

ताजा न्यूज