कानुन व्यवसायी पनि व्यङ्ग्य र ठट्यौली गर्ने कुरामा पछाडि हुन्नन्

दुनियाँले कानून व्यवसायीलाई हेर्ने नजरिया फरक छ । घमन्डी, इगो भएको, कालोलाई सेतो बनाउने पेसा, दलाली, बिचौलिया, अपराधी हत्याराका मतियार, कालो कोटे कति कति आदरार्थीको भारी बोकाइन्छ हामी कानून व्यवसायीलाई । हामी कानुन व्यवसायीका कारण न्याय पाएको, संविधान व्याख्या भएको, मानव अधिकार सुरक्षित भएको मौलिक हक संरक्षण भएको अनि सरकारको स्थायी प्रतिपक्ष भएको केहीलाई मात्र बोध छ, समाजमा धेरै अबोधहरूको भण्डार छ । अझ आजकल त एउटा कानुन व्यवसायीले अर्कोलाई यस्ता शब्दले सम्मान गरेको अदालत बार वारी परि मज्जाले सुन्न पाइन्छ । त्यसैले कानुन व्यवसाय जतिको लोकतान्त्रिक, स्वतन्त्र र निर्भीक अरू व्यवसाय नभएको होला । यही भएर होला कालो कोट लाउन साथ आउने ऊर्जा र फुर्ती बेग्लै हुन्छ ।

हामी आफूले बुझ्नु  भन्दा नि अरूले तयार गरेको भाष्यमा रमाउने समाज यसरी नै निर्माण गर्दै छौ । धेरै मानिसहरू  कुनै विषयको अन्तर वस्तुमा पुग्दै पुग्दैनन् ।  आजकल त झन् मिसिल नै नपढी अभिव्यक्ति दिने, प्रमाण नै नहेरी बहस गर्ने अनि आफ्नो धारणा गज्जबले तयार गर्नेहरूको कमी कानून व्यवसायको बजारमा कमी छैन । फौजदारी न्यायमा दखल राख्नेहरू त प्रमाणको विश्लेषण नै नगरी असम्बन्धित मुद्दामा ठोकी हाल्ने बानिले हामीलाई कम चर्चित बनाएको छैन । आफ्ना वरिपरिले तयार गरेको भाष्यमा सहमति दिन हामी कम आतुर गर्दैनौ । अहिले त झन् एउटा कानून व्यवसायीले अर्कोको आलोचना गर्ने प्रवृत्ति यति बढेको छ कि हिजो आफूले गरेको सही अनि आज अर्कोले गरेको गलत देख्ने आँखाहरू धेरै भेटिन्छ । एक हप्ता अगाडीको र अहिलेको सामाजिक सञ्जाल हेरे पुग्छ, आफ्नो पोजिसनमा समय, पार्टी अनि सरकार अनुसार विचलित भएका हाम्रै व्यवसायीहरू कति भेटिन्छन् ।  धेरै कानून व्यवसायीले अर्कोले गरेको राम्रो काम देख्न नसक्ने कहाँ नेर खोट छ खोज्ने अभ्यासले हाम्रो कानून व्यवसाय ग्रसित भए जस्तो लाग्छ। व्यवसायीक उचाइ तयार गर्न एउटा कानून  व्यवसायीलाई दशकौँ लाग्छ ।   आफ्नो क्षमता, अनुभव र विशेष योग्यताले एउटा कानून  व्यवसायीले व्यवसायीक उचाइ लिएको हुन्छ । त्यो उचाइसम्म आइपुग्दा कानून  व्यवसायीले व्यवसायीक जीवनमा धेरै उतार चढाव झेलेको हुन्छ। अर्को कानून व्यवसायीको पनि कुरा त्यही हो । सबैको व्यवसायीक निरन्तरतामा आफ्नो आफ्नो समय आउँछ अनि त्यो समयलाई सही सदुपयोग गरे सफलताले बेवास्ता गर्न सक्दैन भन्ने लाग्छ । हुन त अहिले हाम्रो व्यवसायमा सफल हुन वा उचाइ पुग्न वा आर्थिक हिसाबले सम्पन्न हुन धेरै अवयवहरूले भूमिका खेलेको देखिन्छ । ती अवयवहरूको बारेमा पछि चर्चा गर्ने छु । अनुभव, विशेषज्ञता र निरन्तरताले मात्र कोही व्यवसायीक उचाइमा पुग्न सक्दैन अरू कुराले नि सहयोग र कृपा गर्नु पर्छ भन्नेहरू पनि धेरै छन् र त्यसमा सत्यता पनि उतिकै छ ।

तर जे हुँदा हुँदै पनि कानून व्यवसाय एउटा गज्जबको व्यवसाय हो । यो व्यवसाय भित्र हरेक खालका व्यवसायीका आफ्नै स्थान सुरक्षित छ । संविधान कानूनको व्याख्याका लागि अदालतलाई सहयोग गर्दै, न्यायको लागि लड्दै, परिवर्तनको संवाहक हुँदै, कानूनको शासन, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको लागि वकालत गर्दा गर्दै कानून व्यवसायी यति कठोर र स्वाभिमानी देखिन्छ कि समाजले कानून व्यवसायी प्रति हेर्ने नजरिया नै अर्कै भैसकेको हुन्छ । तर एउटा कानून व्यवसायी आफैमा कति रोमान्टिक हुन्छ भन्ने कुरा बाहिरी समाजले थाहा पाएको नै हुँदैन  । कानून व्यवसायीको सामान्य भन्दा फरक स्वभाव र निडरता भित्र उसमा लुकेका ठट्यौली शैली फरक हुन्छ । हुन त हरेक प्रकारका जोक भन्ने क्षमता कानून व्यवसायीमा अरू भन्दा कम हुन्न भन्ने कुरा मेरो एक जना अनन्य व्यवसायीक मित्र खेमजी सँग देखेको छु । खेमजी सँग साँझमा जोक सुन्न बसेपछि बिहान भएको पत्तै हुँदैन । ५७ नम्बरको जोक भनेपछि फुरी हाल्ने हाम्रा साथीहरू नि टन्नै छन् । कुनै बेला त जोक भन्ने कुरामामा समेत अब्बल थिए । तर आजको शनिवार मलाई कानून व्यवसायीले अदालत भित्र गर्ने ठट्यौली, व्यङ्ग्य र दोहोरी को बारेमा केही चर्चा गर्न मन लाग्यो । किनकि हामीसँग नि  त्यो सब गर्ने बानी छ, तरिका छ बस सन्दर्भ आउनु पर्‍यो ।

भनिन्छ कानून, गम्भीर कुरा हो । अनि कानून व्यवसाय गम्भीर र संवेदनशील व्यवसाय हो । गम्भीर र संवेदनशील कुरामा ठट्यौलीको स्थान हुन्न भन्ने धेरैको बुझाई हुन्छ । अझ कानून व्यवसायीले त गम्भीर मुद्दामा गम्भीर भएर बहस गरेन भने मुद्दा हार्नुको जिम्मेवारी समेत पक्षले बोकाएका हुन्छन् । सायद त्यसैले होला केही कानून व्यवसायी गम्भीर मुद्दामा पीडित भन्दा बढी मर्का परेको अनुभूति पर्ने गरी बहस गरेका समेत देखिन्छन् । बहस कस्तो मुद्दामा कसरी गर्ने भन्दा नि बहसलाई कसरी सार्थक बनाउने अनि मुद्दाको गम्भीर विषयलाई कसरी सहज तरिकाले प्रस्तुति दिएर न्यायमूर्तिको ध्यानलाई बहसमा खिची रहने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । त्यसैले कानून व्यवसायीमा व्यङ्ग र ठट्यौली पाराले प्रस्तुति गर्ने कलाले मुद्दालाई एउटा रूपबाट अर्कोमा लैजान सक्ने दिग्गज कानून व्यवसायी  हाम्रोमा पनि धेरै हुनुहुन्छ । आजको मेरो डायरीमा मैले हाम्रो दुई प्रसङ्ग र भारतीय सन्दर्भलाई स्थान दिएको छु । हुन त मैले व्यक्त गरेका कुराहरू जस्ता को तस्तै नहुन सक्छन् । किनकि यी सुनी जानेका र स्मरणमा रहेसम्मका कुरा हुन् । मेरो प्रस्तुतिमा गल्ती भएमा कुनै पनि बखत यसलाई सच्याउन तत्पर छु ।

अब ठट्यौलीका केही प्रसङ्ग जोडौँ, पुनामा एल एल एम गर्दा पलांदे म्याडमले बस्तुको खरिद सम्बन्धी करारको कानून पढ़ाउदा भन्नु भएको एउटा टुक्काले अहिले पनि हाँसो उठ्छ । दुई जना मराठी वडा पाउ लिएर रेस्टुरेन्ट  गएछन् चिया खान । चिया अर्डर गरेपछि आफूले लगेको वडा पाउ खादै गर्दा पसलेले आएर तपाइहरू यहाँ आफूले ल्याएको खाने कुरा खान मिल्दैन भनेछ । सो सुनी सकेपछि उनीहरूले आफूले ल्याएको वडा पाउ त्यहाँ चिया खाना आएको अर्को सँग साटफेर गरेर खाएछन् ।  पसले हेरेको हेरेई…

केही हप्ता अघि बलराम के सी श्रीमानलाई आफिसमा निम्ता गरेको थिए । श्रीमानले पहिले सरकारी वकिल हुँदा इजलास मा …. त्यसो भए श्रीमान् मुलुकी ऐन अनुसार बहस गर्छु भनेको किस्सा बारमा सुनी रहन्थे, सोध्न मन लग्यो श्रीमानलाई । बलराम श्रीमानलाई मैले पेसाको सुरुवाती दिनदेखि एउटा विज्ञ सरकारी वकिल र न्यायमूर्तिको रूपमा चिनेको हुँ । श्रीमानका फैसलाहरू मा धेरै विदेशी फैसला र विधि शास्त्रको व्याख्या भेटिन्छ । श्रीमानले उस बेला बहस गर्दा समेत विदेशी कानून, बिधिशास्त्र र फैसलाको आडमा बहस गर्ने त सुनेको थिए । केही वर्ष अघि श्रीमान् संवैधानिक इजलासमा बहस गरेको सुने पछि श्रीमानको बहस उत्कृष्टताको बारेमा सर्वोच्च अदालतको प्राङ्गणमा राम्रो चर्चा भयो । श्रीमानले कुनै एउटा मुद्दामा बहस गर्दै गर्दा उल्लेख गरेका विदेशी कानून र नजिरको रेफेरेंस दिनुभएको रहेछ । बेन्चमा बस्ने न्यायमूर्तिलाई खासै जजेनछ, अनि बहस सुन्न प्रति खासै चासो नदिई बलराम जी हाम्रो सन्दर्भमा आउनुस् न भन्दा श्रीमानले विदेशी पुस्तक र नजिरलाई बन्द गरेर श्रीमान् अब म मुलुकी ऐनबाट बहस गर्छु भनेको किस्सा मज्जाको रहेछ ।

त्यस्तै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेज्यूले इजलासमा गरेको व्यङ्ग नि सुनिराखिन्छ ।  बालकृष्ण दाइले कुनै एउटा मुद्दामा आफ्नो बहसको पालो कुरी राख्दा एक जना तराईका व्यक्तिले आफै निवेदन लिएर इजलासमा बुझाएका र सो निवेदन प्राविधिक कारणले नमिलेको जानकारी दिई न्यायमूर्तिले तल कानून व्यवसायीहरू छन् कुनै एक जनालाई लेखाएर ल्याउनुस् भन्दा ती सेवाग्राहीले वकिलहरूलाई पैसा तिर्न सक्दिन महँगो हुन्छन् भनेर उत्तर दिएछन् । त्यो सुनेर न्यायमूर्तिले तल दुई चार सयमा वकिल पाइहाल्नु हुन्छ नि उतै लेखाएर ल्याउनुस् भन्दा बालकृष्ण दाइले श्रीमान् दुइ चार सयमा पाइने वकिल सबै न्यायाधीश भई सके भनेको व्यङ्गले ठट्यौली हुँदा हुँदै पनि गम्भीर कुराको सन्देश दिएको पाएँ ।

अघिल्लो वर्ष मलेसियामा भएको ल एसियाको वार्षिक सम्मेलनमा एउटा रमाइलो सेसन थियो जसमा न्यायमूर्ति र कानून व्यवसायीको रमाइलो किस्सा सुनियो ।  त्यही मध्ये एक दुई सम्झिन योग्य लग्यो । सर राष्बेरी घोष कुनै एउटा मुद्दाको बहसका लागि जिल्ला अदालतमा पुगेका रहेछन् । उस बेला जिल्ला अदालतका न्यायधिसले बेन्च मै चुरोट खाँदै बहस सुन्ने गरेको उनलाई पटक्कै मन परेनछ । त्यो दिन त चुप चाप बसेछन्, भोलि पल्ट बहस गर्न जाँदा आफूसँग ह्विस्कीको बोतल लगेछन् । बहस सुरु भएपछि न्यायमूर्तिले चुरोट तान्दै गरेपछि घोषले पनि झोलाबाट ग्लास निकाली ह्विस्की हलेछन । त्यो देखेर न्यायमूर्तिले घोसलाई तपाइले इजलासमा यो के गरेको भनेर सोधे, जवाफमा श्रीमानले के गर्नु भएको ? घोषको कुरा सुनेपछि न्यायमूर्तिले हातको चुरोट फालेर हेर्नुस् मैले फालिदिए भन्दा घोषले ग्लासमा हालेको ह्विस्कीको चुस्की लगाउँदै श्रीमान् मैले नि निली दिए भनेको घटनाले इजलास हाँसोले गुन्जिएछ ।

सर वाल्टर कोल्विन र सर चार्ल्स अलस्टन घनिष्ठ मित्र रहेछन् । कोल्विन धेरै अग्ला र रोस होचा न्यायमूर्ति । एक दिन कोल्विनले अलस्टनलाई तपाईँलाई मैले त मेरो कोटको खल्तीमा हाल्न मिल्छ नि भन्दा तुरुन्तै अलस्टनले तपाइले मलाई कोटको खल्तीमा हाल्नु भो भने तपाईँको जानेको कानून र विद्वता भन्दा बढी त तपाइको खल्तीमा पो हुने भो त भनेको व्यङ्ग्य अति रमाइलो लाग्यो ।

भारतका पूर्व महान्यायाधिवक्ता सी के दफ्तरीले न्यायमूर्ति सोमजीको इजलासमा बहस गर्दै गर्दा रिफरेन्सको एउटा पुस्तक न्यायमूर्तिलाई दिएछन् । न्यायमूर्तिले इजलासमा उक्त पुस्तक खोलेर हेर्दा पुस्तक भित्र ठुलो कमिला भेटिएछ । न्यायमूर्तिले दफ्तरीलाई कमिला तपाईँको सहयोगी कानून व्यवसायी हो भनेर सोधनी गर्दा दफ्तरीले श्रीमान् कमिला सारै महत्त्वाकाङ्क्षी रहेछ त्यसैले बार देखि बेन्चको यात्रा गरेछ भनी जवाफ दिँदा इजलासमा रमाइलो ठट्यौली भएको रहेछ । उनै वकिल मदिराको सौखिन रहेछन् । उनको भनाइमा एउटा गणतन्त्र बादी जो बार (सराब खाना) सँग आफूलाई अलग राख्छ भने केवल मानवको अवशेष मात्र हो भन्ने भनाइ उस बेला बम्बईको बारमा खुब चर्चा रहेछ । उनी दफ्तरीले बम्बईमा मद्यपानमा लगाएको प्रतिबन्ध विरुद्ध उच्च अदालतमा बहस गर्दै गर्दा न्यायमूर्ति चाग्लाले तपाईँले मद्यपानको प्रतिरक्षा गर्दै गर्दा मद्यपानमा के त्यस्तो तत्त्व छ जसका कारण प्रतिबन्ध गर्नु हुन्न बुँदा बुँदा मा बताउनुहोस् भन्दा दफ्तरीले श्रीमान् यो रक्सीमा सब तत्त्वहरू तरल स्वरूपमा हुन्छ यसमा केवल प्रतिबन्ध लगाउने अवैधानिक कानूनलाई खारेज गर्ने शक्ति क्षमताको मात्र अभाव छ, भनेछन् ।

त्यस्तै भारतका वरिष्ठतम अधिवक्ता राम जेठ्मलानीको किस्सा कम रमाइलो छैन । मैले राम जेठ्मलानी महान् वकिल हुन् भन्ने हेक्का नपाउँदै सँगै खाना खाएको किस्सा त पहिले नै लेखिसके । उनै राम जेठ्मलानी एउटा बलात्कारको मुद्दामा भारतको सर्वोच्च अदालतमा प्रतिरक्षाको बहस गर्न उपस्थित रहेछन् । उक्त मुद्दामा बहस गर्दै मुद्दाका अर्का वकिलले भनेछन्, श्रीमान् जति बेला घटना घटेको भनिएको छ हाम्रो पक्षको उमेर ६५ वर्षका थिए । ६५ वर्षको यी वृद्ध आरोपीले कसरी बलात्कार गर्न सक्छन् श्रीमान् त्यो असम्भव छ भनेर आफ्नो तर्क राखेछन् । त्यति बेला राम जेठ मलानीको उमेर ८५ वर्षको रहेछ जो पछि ९४ वर्षको उमेरमा स्वर्गवास भए । उक्त वकिलको बहस सुनी सकेपछि राम जेठ मलानीलाई न्यायमूर्तिले सोधेछन् भन्नुस् त वरिष्ठ ज्यू कुरो के हो ? न्यायमूर्तिको प्रश्न र सहयोगी अधिवक्ताको बहस सुनिसकेपछि जेठ्मलानी ले भनेनछ, “I plead guilty My Lord” मेरो पक्ष दोषी छ श्रीमान् ।

दफ्तरीको अर्को मुद्दामा भारतका प्रधान न्यायाधीश गजेन्द्र गडकरको इजलासमा बहस गर्न पुगेछन् । बहस गर्दा गर्दै बिजुली गएछ, ठट्यौली पारामा प्रधान न्यायधिसले दफ्तरीलाई के हो वकिल साब तपाईँले बहस गर्दा त अन्धकार पो भयो भनेछन् । एक छिनको अँध्यारो पछि प्रधान न्यायाधीशको टेबलको बत्ती बलिएछ । दफ्तरी जुरुक्क उठेर “श्रीमान् जुन ठाउँमा साँचै नै प्रकाश पार्नु थियो त्यहाँ बत्ती आयो” भनी गरेको व्यङ्ग्य सर्वोच्च अदालतका कानून व्यवसायीलाई अहिलेसम्म मिठो र सान्दर्भिक लागेको रहेछ ।

मित्र दीपक राज जोशीले अस्ति गरेका एउटा पोस्टमा एक जना कानून व्यवसायीको आफिस बोर्डमा “with guarantee case deal here” को वाक्यको अर्थ अहिलेसम्म मेरो दिमागले खुट्टाउन सकेको छैन । नेपाल बार एसोसिएसनको आतिथ्य तामा सञ्चालित कानून व्यवसायीको क्षमता अभिवृद्धि तालिमका बेला विदेशी कानून व्यवसायीहरू पनि आएका थिए । तालिम अवधिभर कक्षमा एकदम शान्त चुपचाप बस्ने र आफ्नो कुरा राख्ने बेलामा पनि मलिन स्वरमा धौ धौ गरी राख्ने साथीहरू ब्रेकको बेला बाहिर नियन्त्रण नै गर्न नसकिने गरी हल्ला गरेको देखेर विदेशी प्रशिक्षकहरू अचम्मित परेको कुरा कम उल्लेखनीय छैन । उनीहरूले के सोचे होलान् भनेर मैले सोचे कि हाम्रो कानून व्यवसायी आफ्नो ज्ञान र क्षमता विस्तार गर्ने व्यवहारिक कुरामा कम बोल्ने चुप चाप बस्छन् । जब फलदायी कुरा हुँदैन अनि बेकारका कुरा हुन्छन् उनीहरूको आवाज चर्को र अनियन्त्रित हुन्छ । बस मलाई लग्यो उनीहरूले त्यही सोचे । जवाफमा मैले भने हामी नेपाली रमाइलो र हल्ला गर्ने कुरामा सधैँ अगाडी हुन्छौ । उनीहरू हाँसे ।

अदालत भित्र गरिने ठट्टाहरू सामान्य हुँदैनन् । ती ठट्टा भित्र न्यायिक स्वतन्त्रता, न्यायमूर्तिको काबिलियत, कानून व्यवसायीको अदालत प्रतिको कर्तव्य अनि कानून व्यवसायीको आचरणलाई अप्रत्यक्ष हिसाबले सम्बोधन गरिएको हुन्छ । कानून व्यवसायीले हँसिलो पारामा गम्भीर कुरा राखेका हुन्छन् अनि केही न्यायमूर्तिले सोही हिसाबले व्यक्त गर्छन् । त्यो व्यङ्ग्यले व्यवसायलाई मर्यादित बनाउन प्रेरित पनि गर्छन् भने ठट्यौली गर्ने तरिकालाई व्यवसायीको अभिन्न अङ्ग पनि मानिन्छ । कानून व्यवसायी माथि गरिने व्यङ्ग्य कालोलाई सेतो बनाउने पेसा भित्र गम्भीर कुरो लुकेको छ। त्यसैसरि राम्रो कानून व्यवसायीले मुद्दालाई पक्षको जीवनभरको तारिख बनाउँछ । अनि वकिल र जुकामा फरक भनेको जुकाले मानिस मरे पछि रगत चुस्दैन भन्ने अभिव्यक्तिहरूले हाम्रो पेसाका लागि गम्भीर प्रश्न हुन् जो ठट्यौलीको हिसाबले हामी कानून व्यवसायी माथि राख्ने गरिन्छ । को मान्छे आयो भनेको त वकिल पो आएको रहेछ भनेर गरिने व्यङ्ग्यले हामीलाई मर्माहत गरी रहन्छ । उचित ठट्यौलीले बहसलाई सान्दर्भिक र रोचक बनाउँछ । यो कानून व्यवसायीमा हुने गज्जबको कला हो । व्यङ्ग्य ठट्यौलीले हाम्रो स्ट्रेसलाई कमी गराउँछ अनि कहिले काहीँ कानूनको व्याख्यामा सही रूपमा सहयोग गर्छ ।

अन्तिममा मेरो आफ्नै एउटा सन्दर्भ जोड्न मन लग्यो  । नेपाल एयर लाइसन्को तर्फबाट सर्वोच्च अदालतमा एउटा मुद्दामा बहस गर्दै थिएँ ।  माननीय न्यायधिस भारत राज उप्रेतीज्यूको बेन्चमा ।  अर्को न्यायमूर्तिको नाम याद भएन । मुद्दामा मैले बहस गर्नु पर्ने विषय कम्पनीको घुम्टो उघार्ने सम्बन्धमा थियो । भरत राज उप्रेती नेपालको कम्पनी कानूनको एउटा बिधिशात्र नै हुनुहुन्थ्यो । उहाँको कम्पनी कानूनको किताबको परिष्कृत अङ्क अघिल्लो साल अनुप (अनुप राज उप्रेती) ले मलाई उपहार स्वरूप दिएको थियो । त्यति बेला मैले उसलाई नि यो प्रसङ्ग सुनाएको थिए । मलाई सजिलो भयो कम्पनी कानूनको व्याख्या त्यो पनि भरत राज उप्रेती श्रीमानकोमा । मैले पहिले सालोमोन बि सालोमोंन (१८९७) को कम्पनीको फरक व्यक्तित्व देखि घुम्टो उघार्ने सिद्धान्तलाई ली v ली ऐर फर्मिंग, डेम्लर बि कन्टिनेन्टल टायर, दिल्ली विकाश निगमको मुद्दा, डीन सस् मनेजी पेटिटको मुद्दा, गिल फोर्ड मोटर बि होर्नको मुद्दाको सन्दर्भ जोड्दै श्रीमानको कम्पनी ल लाई रेफ्रेंसेमा लिएर भने श्रीमान् यो कम्पनी ल को किताब नेपालका एक प्रख्यात प्राज्ञिक र कानून व्यवसायी भारत राज उप्रेतीजीले लेख्नु भएको हो । यसमा उहाँले कम्पनीको घुम्टो उघार्ने मुद्दामा यसो लेख्नु हुन्छ भन्दै करिब १० लाइन पढेर सुनाए । अनि आफ्नो तर्क राखे  । अन्तिममा भने श्रीमान् यो पुस्तकका लेखक तपाई आफै हुनु हुन्छ त्यसैले मैले यहाँ भन्दा बढी व्याख्या गरी रहन परेन । अनि श्रीमान्, म ल क्याम्पसमा श्रीमानबाटै शिक्षित भएको हुँ । अनि श्रीमानले जहाँबाट कानूनमा स्नातकोत्तर गर्नु भएको हो (पुना युनिभर्सिटी) मैले नि त्यही  विश्वविद्यालयबाट दीक्षित भएकोले हाम्रो बुझाइमा फरक नपर्ला भनेर थोरै रसिक र व्यङ्ग्य गर्दै आफ्नो कुरा राखे । श्रीमानले म तिर हेरेर मुसुक्क हाँस्नु भयो अनि भन्नु भयो । सरोज, पढ्ने, पढाउने र किताब लेख्ने अनि न्याय दिने कुरा फरक फरक कुरा हुन् । मुद्दा जितियो …

 

सम्बन्धित समाचार

ताजा न्यूज